Technology Khabar २४ बैशाख २०७७, बुधबार
काठमाडौं ।
कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले मुलुक लकडाउन गरिरहेको समयमा नेपाल टेलिकमले अनलाइन कक्षा सञ्चालन गर्न ल्याएको ई–शिक्षा प्याकेजबाट ७७ वटै जिल्लाका विद्यार्थीहरु लाभान्वित भइरहेको जानकारी दिएको छ ।
मुलुकको प्रतिष्ठित बुढानिलकण्ठ स्कुलले त्यहाँ अध्ययनरत ७७ वटै जिल्लामा छरिएर रहेका विद्यार्थीहरुलाई नेपाल टेलिकमको ई–शिक्षा प्याकेजमार्फत शिक्षा प्रदान गरिरहेको छ ।
७७ वटै जिल्लाका जेहेन्दार तर आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरी निःशुल्क शिक्षा पनि दिइरहेको सो विद्यालयमा अध्ययनरत सबै विद्यार्थी अहिले अ–आफ्नो घरमा छन् । ती विद्यार्थीहरुमध्ये मुलुकभर छरिएर रहेका दुर्गम जिल्ला र क्षेत्रका विद्यार्थीहरुलाई समेत टेलिकमको ई–शिक्षा प्याकेज दिएर विद्यालयले अनलाइन कक्षा सञ्चालन गरिरहेको हो ।
बुढानिलकण्ठ स्कुलका प्रधानाध्यापक होम आचार्यले भने, ‘नेपाल टेलिकमको ई–शिक्षा प्याकेजबाट ७७ वटै जिल्लामा रहनुहुने विद्यार्थीहरुलाई समेटी अनलाइन कक्षा सञ्चालन गरिरहेका छौं ।’
कम्पनीसँग विद्यालयले प्याकेज खरिद गरी दुर्गम जिल्ला र क्षेत्रमा रहेका आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई निःशुल्क डाटा सेवा उपलब्ध गराएको पनि उनले बताए । ‘सबै क्षेत्रमा पुगेको नेपाल टेलिकमको डाटा सेवाको स्पिड पनि राम्रो रहेकाले काठमाडौबाटै मुलुकभर कक्षा सञ्चालन गर्न सहयोग पुगेको हो ।’ उनले भने ।
स्कुलमा रहेको अभिभावक संघसँगको सहकार्यमा विद्यार्थीहरुलाई निःशुल्क डाटा सेवा उपलब्ध गराइएको छ । उक्त विद्यालयले अहिले दैनिक ८ सय विद्यार्थीलाई अनलाइन कक्षाबाट दीक्षित गरिरहेको छ ।
नेपाल टेलिकमले विशेष ई–शिक्षा प्याकेज अन्तर्गत रु. २६० मा ६ जिबी र रु. ५०० मा १५ जिबी डाटा २८ दिनभित्र उपयोग गर्न सकिने गरी उपलब्ध हुनेछ ।
हालको विषम परिस्थिति र कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व समेतलाई दृष्टिगत गरी बजार मूल्यभन्दा निकै सस्तो मूल्यमा उपलब्ध गराइएका उपरोक्त सेवाहरु विश्वविद्यालय र विद्यालयहरुको सिफारिशका आधारमा विद्यार्थी र शिक्षकहरुलाई कम्पनीले उपलब्ध गराउने छ ।
कम्पनीले उपलब्ध गराएको इमेल ठेगाना [email protected] मा विश्वविद्यालय तथा विद्यालयहरुले प्याकेज प्रदान गर्नुपर्ने नम्बरहरुको सूचीसहित सिफारिश पठाउनु पर्ने जानकारी दिएको छ ।
सिफारिश प्राप्त भएका नम्बरहरुलाई *१४४१# डायल गरी प्याकेज खरिद गर्नको लागि कम्पनीले एसएमएसमार्फत सूचित गर्नेछ । एसएमएस प्राप्त भएपछि तिनै नम्बरहरुबाट *१४४१# डायल गरी उपलब्ध दुईमध्ये कुनै एक प्याकेज खरिद गर्न सकिने छ ।
ई–शिक्षा प्याकेज नेपाल टेलिकमले प्रदान गर्ने सबै प्रकारका जीएसएम मोबाइल डाटा सेवा (टुजी, थ्रिजी र फोरजी) मार्फत प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।
प्रकाशित: २४ बैशाख २०७७, बुधबार