Technology Khabar १६ बैशाख २०७७, मंगलवार
काठमाडौं ।
चिनियाँ स्मार्टफोनहरुमा मात्र देखिने गरेको पपअप क्यामरा फीचर अब सामसङमा पनि देखिने भएकोछ । यसअघि बजारमा चिनियाँ स्मार्टफोनहरुले नै पप अप क्यामरा फीचरलाई हिट बनाएका थिए ।
त्यसैले होला सामसङ पनि पपअप क्यामरा फीचर भएको स्मार्टफोनमा काम गरिरहेको छ । कम्पनीको सो नयाँ फोनको जानकारीहरु हालै लीक भएको छ । तर सो फोनको नाम के हुनेछ र कहिले आउनेछ भन्ने जानकारी छैन् ।
कम्पनीले अन्य विभिन्न नयाँ टेक्नोलोजी ल्याएपनि हालसम्म कम्पनीले पपअप क्यामरा स्मार्टफोन भने लन्च गरेको छैन् । हालै लीक भएको नयाँ रेण्डर इमेजअनुसार कम्पनीले सिंगल पपअप क्यामरा स्मार्टफोन ल्याउन लागेको हो ।
यसअघि नोच डिजाइन डिस्प्ले भएका स्मार्टफोनहरु मात्र ल्याउने गरेको कम्पनीले अहिले भने पपअप क्यामरासहितको फूल डिस्प्ले डिजाइनको फोन ल्याउन लागेको हो ।
यसअघि कम्पनीले केबल मोटराइज पपअप क्यामरासहितको फोन ग्यालेक्सी ए८० लन्च गरेको थियो । जसमा एउटै क्यामरा रियर क्यामरा र फ्रन्ट क्यामराको रुपमा प्रयोग भएको थियो ।
यो नयाँ डिभाइजको बारेमा धेरै जानकारी नभएपनि यो मिडरेन्जको स्मार्टफोनको रुपमा आउने अनुमान गरिएको छ । किनकी यसको पछाडिको भागमा फिजिकल फिंगरप्रिन्ट स्क्यानर राखिएको छ।
त्यसैगरि यसमा ट्रिपल क्यामरा सेटअप छ भने यसमा यूएसबी टाइप सी पोर्ट राखिएपनि हेडफोन ज्याक भने छैन् । देब्रे भागमा स्पीकर ग्रीलका साथ दाइने भागमा भने न्वाइज क्यान्सलिङ्ग माइक देखिन्छ।
फोनमा ६.५ इन्चको डिस्प्ले राखिएको छ भने यो ग्यालेक्सी ए सिरिजमा आउन सक्नेछ । एजेन्सी
प्रकाशित: १६ बैशाख २०७७, मंगलवार