मोबाइल अपरेटरहरुले एक महिनामै ४ लाख ग्राहक गुमाए, लकडाउनले आम्दानीमा असर गर्नसक्ने

Technology Khabar १४ बैशाख २०७७, आईतवार

मोबाइल अपरेटरहरुले एक महिनामै ४ लाख ग्राहक गुमाए, लकडाउनले आम्दानीमा असर गर्नसक्ने
Classic Tech

अनुज राज

कोभिड-१९ को महामारीले गर्दा देशभर गरिएको लकडाउनले नेपाली टेलिकम अपरेटरहरुलाई निकै नोक्सानी हुने देखिएको छ । पछिल्लो दिनमा एक महिना भन्दा बढि समयदेखि मानिसहरु घरमा नै बसिरहेको बेला इन्टरनेटको प्रयोग तिब्र भएपनि टेलिकम अपरेटरहरुले त्यसको फाईदा लिन नसकेको देखिएको छ।

देशभर लकडाउन गरिएपछि टेलिकम अपरेटरहरुले एक महिनामा नै ४ लाख भन्दा बढि ग्राहकहरु गुमाएको देखिन्छ।

टेक्नोलोजीखबरलाई प्राप्त तथ्यांकअनुसार टेलिकम अपरेटरहरुको लकडाउन भन्दा अघिल्लो महिना र लकडाउनको अवधिको सक्रिय ग्राहकहरुको तथ्यांक हेर्दा कम्पनीहरुले एक महिनामा नै ४ लाख ग्राहक गुमाएका हुन् ।

यसरी ग्राहकहरु गुमाउनेमा ठूला दुई अपरेटरहरु रहेको देखिएको छ भने अर्को तेस्रो टेलिकम अपरेटरको ग्राहक संख्या निकै कम मात्राले घटेको देखिन्छ । जसमध्ये निजी टेलिकम अपरेटर एनसेल प्रालिले सबैभन्दा धेरै सवा २ लाख ग्राहक एक महिनामा गुमाएको छ । नेपाल टेलिकमले भने सो एक महिनाको बिचमा करिब २ लाख आफ्ना सक्रिय ग्राहक गुमाएको छ ।

स्रोतबाट प्राप्त तथ्यांकअनुसार गएको वर्ष फागुन महिनामा नेपाल टेलिकमको सक्रिय ग्राहकहरुको संख्या ९२ लाख ६ हजार रहेको छ भने चैत महिनामा सो संख्या घटेर ९० लाख २७ हजार ग्राहक भएका छन् । चैतको पहिलो सातादेखि लकडाउन शुरु भएको हुँदा सो फागुन र चैत महिनाको बिचमा सरकारी स्वामित्वको मोबाइल अपरेटरले १ लाख ७९ हजार ५४४ जना सक्रिय ग्राहकहरु गुमाएको छ ।

त्यस्तै निजी मोबाइल अपरेटर एनसेलको फागुन महिनाको तथ्यांकअनुसार १ करोड ३६ लाख ३ हजार ग्राहकहरु रहेकोमा चैतमा सो संख्या १ करोड ३३ लाख ७७ हजार ग्राहकमा झरेको छ । एनसेलले फागुन र चैतको बिचमा मात्रै २ लाख २५ हजार ९०५ ग्राहक गुमाएको छ ।

तेस्रो मोबाइल अपरेटरको रुपमा रहेको निजी कम्पनी स्मार्ट टेलिकमलाई भने लकडाउनले खासै असर पारेको देखिएको छैन् । स्मार्टले सो अवधिमा निकै थोरै मात्र ग्राहकहरु गुमाएको देखिन्छ ।

फागुन महिनाको तथ्यांकअनुसार स्मार्ट टेलिकमसँग ५ लाख ५१ हजार ९१४ ग्राहक थिए भने चैत महिनामा सो संख्या घटेर ५ लाख ५१ हजार ६२ मा झरेको छ । सो एक महिनामा स्मार्टले केबल ८५२ जना ग्राहक मात्र गुमाएको छ।

तिनवटै कम्पनीहरुको एकिकृत तथ्यांक हेर्दा भने कम्पनीहरुले सामुहिकरुपमा ४ लाख ६ हजार भन्दा बढि ग्राहकहरु गुमाएका छन् ।

मोबाइल अपरेटरहरुले फागुन र चैत महिनाको बिचमा ४ लाख भन्दा बढि ग्राहकहरु गुमाएको हुँदा उनीहरुको आम्दानी र नाफामा पनि त्यसको प्रभाव देखिने छ । त्यसैगरि लकडाउन चैत महिनादेखि बैशाख महिनासम्म लगातार भएको हुँदा यसको प्रभावले अझ ठूलो असर पार्ने अनुमान गर्न सकिन्छ ।

एकातर्फ भएका ग्राहकहरुको संख्या घट्नु र अर्कोतर्फ लकडाउनका कारणले नयाँ ग्राहकहरु थप गर्न नसक्दा टेलिकम कम्पनीहरुको वार्षिक आम्दानी र नाफामा पनि ठूलै प्रभाव पर्न सक्नेछ ।

नेपाल दूरसञ्चार प्राधिकरणको पुस महिनाको एमआईएस तथ्यांकअनुसार नेपाल टेलिकमसँग २ करोड १३ लाख ८४ हजार ४५५ जना मोबाइल सेवा ग्राहकहरु छन भने एनसेलसँग १ करोड ७१ लाख १८ हजार १६३ जना ग्राहकहरु रहेका छन् । त्यसैगरि स्मार्ट टेलिकमसँग भने २० लाख ९० हजार ३३७ ग्राहकहरु रहेका छन् ।

प्राधिकरणकाअनुसार सबै अपरेटरहरुको तथ्या‌ंक जाेड्दा मोबाइल सेवा ग्राहकहरुको कुल संख्या ४ करोड ५९ लाख २ हजार ९५५ रहेको छ ।

TK Viber

प्रकाशित: १४ बैशाख २०७७, आईतवार

Loading...