लकडाउनको समयमा ४१ प्रतिशत नेपाली पोर्न साइट हेर्दै, यूट्यूब हेर्ने सबैभन्दा धेरै- चाइल्डसेफनेट

Technology Khabar १३ बैशाख २०७७, शनिबार

लकडाउनको समयमा ४१ प्रतिशत नेपाली पोर्न साइट हेर्दै, यूट्यूब हेर्ने सबैभन्दा धेरै- चाइल्डसेफनेट

काठमाडौं ।

कोभिड-१९ महामारीबाट बच्न सरकारले जारी गरेको लकडाउनको समयमा इन्टरनेटको प्रयोग उच्च भईरहेको छ । यहि बेलामा गरिएको एक सर्वेक्षणले पनि मानिसहरु लकडाउनको समयमा अधिक समय इन्टरनेट प्रयोग गरिरहेको देखाएको छ ।

चाइल्डसेफनेटले गरेको एक सर्वेक्षणअनुसार लकडाउनको अवधिमा अधिक मानिसहरुले कम्तिमा ४ देखि ६ घण्टासम्म इन्टरनेट प्रयोग गर्ने देखिएको छ । सर्वेमा लकडाउन अगाडिको र लकडाउन पछाडिको अवस्थाको बारेमा पनि तुलनात्मक अध्ययन गरिएकोछ । जसमा १ घण्टा भन्दा कम र १ देखि ३ घण्टासम्म इन्टरनेट हेर्नेहरुको संख्या लकडाउनमा खासै वृद्धि नभएको भएपनि त्यसभन्दा बढि समय इन्टरनेट हेर्नेहरु भने उच्च संख्यामा बढेको देखिन्छ ।इन्टरनेटमा पहुँचका लागि लकडाउनको समयमा अधिकांश मानिसहरुले मोबाइल फोनको प्रयोग गर्ने गरेका छन् । जसमा ८७.१ प्रतिशत हिस्सा रहेको छ भने कम्प्यूटर प्रयोग गर्ने १०.६ प्रतिशत छन भने बाँकीले ट्याबलेटबाट इन्टरनेट प्रयोग गरिरहेका छन् ।

नेपालीहरुले लकडाउनको अवधिमा सबैभन्दा धेरै यूट्यूब हेर्ने गरेका छन् । त्यसपछि फेसबुक र इन्स्टाग्राम चलाउने गरेका छन भने टिकटक प्रयोगकर्ताहरुको संख्या पनि उल्लेख्य रहेको छ । नेपालीहरुमध्ये ७९.६ प्रतिशतले यूट्यूब र ७४.३ प्रतिशतले फेसबुक चलाउने गरेका छन भने इन्स्टाग्राम चलाउने ४०.२ प्रतिशत र टिकटक प्रयोग गर्ने १८ प्रतिशत नेपाली छन् ।

अर्कोतर्फ नेपाली समाचार मूलक साइट हेर्ने नेपालीहरु ४४.८ प्रतिशत छन भने विदेशी समाचार साइट हेर्नेहरु ३०.९ प्रतिशत छन् ।

इन्टरनेटमार्फत गेम खेल्नेहरुको संख्या भने न्यून रहेको देखिन्छ । जसमध्ये ९.९ प्रतिशत नेपालीहरुले पबजी खेल्ने गरेका छन भने ३.२ प्रतिशतले फ्रि फायर र ९.९ प्रतिशतले अन्य अनलाइन गेमहरु खेल्ने गरेको चाइल्डसेफनेटको सर्वेक्षणमा उल्लेख छ ।

लकडाउनको अवधिमा अधिकांश मानिसहरुले मनोरन्जनका लागि इन्टरनेट प्रयोग गर्ने बताएका छन् र त्यस्तो संख्या ७३.९ प्रतिशत छ । त्यसैगरि समाचार र सूचना हेर्नेहरु ७२.६ प्रतिशत छन भने साथीभाई र आफन्तसँग सम्पर्क गर्न इन्टरनेट प्रयोग गर्नेको संख्या ६३.२ प्रतिशत छ । शैक्षिक कार्यको लागि भने ५७.७ प्रतिशतले इन्टरनेट प्रयोग गरेको देखिन्छ ।

सर्वेक्षणमा सहभागीहरुमध्ये करिब १४.५ प्रतिशत इन्टरनेट प्रयोगकर्ताहरुले अपरिचितबाट यौनिक संदेश, तस्विर तथा भिडियोहरु प्राप्त गरेको देखिएको छ । त्यस्तै केबल २.४ प्रतिशत नेपाली इन्टरनेट प्रयोगकर्ताले मात्रै त्यस्तो संदेश अरुलाई पठाउने गरेको देखिएको छ ।

सो सर्वेक्षको रिपोर्टअनुसार लकडाउनको समयमा पनि इन्टरनेट पहुँच हुने नेपालीहरुमध्ये उच्च संख्यामा व्यक्तिहरुले अश्लील साइट (पोर्न साइट) हेर्ने गरेको देखिन्छ । रिपोर्टअनुसार ४१.७ प्रतिशत इन्टरनेट प्रयोगकर्ताहरुले अझैपनि पोर्न साइट हेर्ने गरेका छन भने ५८.३ प्रतिशत नेपालीले पोर्न साइट नहेरेको उत्तर दिएका छन् । उनीहरुलाई तपाईँले कहिल्यै अश्लील साइट हेर्नुभएको छ ? भनेर सोधिएको थियो ।

सर्वेक्षण गर्ने संस्था चाइल्डसेफनेटले पनि आफ्नो निष्कर्षमा भनेको छ, ‘नेपालमा सरकारले अश्लील सामाग्री राखिने साइटहरुमाथि प्रतिबन्ध लगाएको भए पनि बालबालिका तथा युवा वर्गसहितका ४१ प्रतिशतभन्दा बढी उत्तरदाताहरुले त्यस्तो साइट आफूले हेरेको जनाएका छन् । यस्ता समस्यालाई पनि सम्बोधन गरिनु आवश्यक छ ।’

रिपोर्टअनुसार लकडाउनको समयमा बालबालिकाहरु अनलाइन दूव्र्यवहार वा शोषणको उच्च जोखिममा रहेको अधिकांशको ठहर छ । जसमा सहभागीहरुमध्ये ७१.४ प्रतिशतले सो कुरालाई स्वीकार गरेका छन भने केबल १२.८ प्रतिशतले त्यस्तो जोखिम नभएको बताएका छन् । बाँकीले भने थाहा नभएको उल्लेख गरेका छन् ।

रिपोर्टले सामाजिक संजाललगायतका अनलाइनमार्फत सबैका लागि साइबर सुरक्षा सम्बन्धी चेतानामूलक कार्यक्रमहरु संचालन गर्न सुझाब दिएको छ । त्यस्तै इन्टरनेटको सकारात्मक प्रयोग र उपयुक्त साइट तथा एपहरुसम्बन्धी जानकारी समेत गराउनुपर्ने उल्लेख गरिएको छ । जसमा उमेर तथा आवश्यकताका आधारमा उपयोगी तथा उपयुक्त साइटहरुबारे उनीहरुलाई जानकारी उपलब्ध गराउनुपर्ने बताईएको छ ।

यसको लागि नेपाली र स्थानिय भाषाहरुमा साइबर सुरक्षा सामाग्रीहरु तयार गरिनुपर्ने निष्कर्षसमेत निकालेको छ । त्यसैगरि सो सम्बन्धि कानून ससक्त बनाउनुपर्ने र इन्टरनेटलाई सुरक्षित बनाउन सरकारी, प्रविधिसम्बन्धि कम्पनीहरु लगायतले काम गर्नुपर्ने उल्लेख छ ।

Global Bank
easy care

प्रकाशित: १३ बैशाख २०७७, शनिबार

ताजा समाचार