कोरोना नियन्त्रण र रोकथाममा इन्नोभेसन र प्रविधिको महत्वपुर्ण भुमिका हुने विज्ञहरुको भनाई

Technology Khabar ११ बैशाख २०७७, बिहीबार

कोरोना नियन्त्रण र रोकथाममा इन्नोभेसन र प्रविधिको महत्वपुर्ण भुमिका हुने विज्ञहरुको भनाई

नेपालमा कोरोना नियन्त्रण र रोकथामको लागि प्रविधिले खेलेको भूमिका र विकास भइरहेका प्रविधिहरूको विषयमा व्यापक अन्तरक्रिया कार्यक्रम आयोजना भएको छ । गत वैशाख ६ गते १ सय जनाभन्दा बढीको सहभागितामा विज्ञहरूसँगको छलफल र अन्तरक्रिया सम्पन्न भएको हो ।

पूर्वमन्त्री गणेश शाहको संयोजकत्वमा भएको कार्यक्रममा विभिन्न १२ जना विज्ञ तथा इन्नोभेटरहरूले आफूले विकास गरिरहेका प्रविधि र त्यसको प्रयोगको बारेमा जानकारी गराए । पूर्वमन्त्री शाहले संकटमा समाधानका उपायहरू खोज्ने हाम्रो प्रयासले नै उपलब्धि हुने बताउँदै नेपालमा पछिल्लो सयम भइरहेका इन्नोभेसन र प्रविधिका प्रयासहरूको प्रशंसा गरे । सरकार र सम्बन्धित निकायमा लबिङ गरी कलेक्टिभ एप्रोचमा काम गर्न आफूले प्रयास गर्ने उनले बताए ।

नाष्टका विज्ञ डा. रमेश मास्केले अहिले भइरहेका प्रयासहरूको सराहना गर्दै यसलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने बताए । नाष्टले पनि यस क्षेत्रमा रिसर्च र नयाँ प्रविधिहरूको प्रयोगतर्फ काम गरिरहेको हुँदा विभिन्न संस्था तथा कम्पनीहरूले गरिरहेका प्रयासलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको उनले औंल्याए ।

जुम मार्फत सञ्चालन भएको उक्त अन्तरक्रियामा यस क्षेत्रमा काम गरिरहेका व्यक्तिहरूले आफ्नो प्रस्तुति दिएका थिए ।

डा. विशेष खनालले आफ्नो प्रस्तुति राख्दै एआई र मेशिन लर्निङको प्रयोग गरी कोभिड १९ को रोकथाममा काम गर्न सकिने बताए । कुन कुन क्षेत्रमा संक्रमित छन् र त्यसको अवस्था कसरी नियन्त्रणमा लिने, कुन क्षेत्रमा लकडाउन आवश्यक छ र कुनमा छैन भन्नेकुरा विभिन्न प्रविधिको प्रयोग गरी अपडेट गराउन सकिने उनको भनाइ थियो । खनालले गोलु नामक च्याटबटको पनि विकास गरेका छन ।

यसैगरी एनरेनका भूषणराज श्रेष्ठले कोभिड सर्भिलेन्स एप्लिकेशनको काठमांडौं, ललितपुर महानगरपालिकाहरूले प्रयोग गरिरहेको र यसलाई प्रभावकारी बनाउन अझै काम गरिरहेको जानकारी दिए ।

भरतपुर, वीरगञ्ज महानगरमा प्रयोग भइरहेको क्वारेन्टाइन एप तथा स्मार्टपालिकाका मनोज भट्टराईले एकीकृत रूपमा काम गर्न सके प्रविधिको पहुँच विस्तार गर्न सहज हुने बताए । उनले आफूले विकास गरेको सिस्टम ७५३ वटै स्थानीय निकायमा निःशुल्क दिन तयार रहेको जानकारी दिए ।

रोबोटिक्स एशोसिएशनका अध्यक्ष विकास गुरुङले विभिन्न संस्था, कम्युनिटी र स्टार्टअपहरूसँग सहकार्य गरी विभिन्न नयाँ प्रविधिहरूको विकास गरेको जानकारी दिए । फुड डेलिभरी रोबोट, एयर भेन्टिलेटर, स्बाव कलेक्सन बुथ जस्ता कामहरू भइहरको उनले बताए ।

टेक्नोलोजी सेल्स प्रालिका रामलक्ष्मण रिमालले आफूहरूले ब्लुटुथमा आधारित ट्र्याकिङ सिस्टम विकास गरेर र दूरदराजमा पनि सेवा दिनेगरी सरकारसँग मिलेर काम गर्न सकिने बताए ।

फ्युज मेशिन्सका सगुन श्रेष्ठले ओपन प्लाटफर्ममा विकास गरिएको कोभिड डटओआरजीले कोरोनाको लाइभ अपडेट, स्थानीयस्तरका अस्पताल र सरकारी तयारीको बारेमा समेत जानकारी दिने गरेको बताए ।

कार्यक्रममा ड्रोन नेपालका तर्फबाट दर्पण पुडासैनीले आफ्नो समूहले गरिरहेका विभिन्न कामहरूको बारेमा बताए । उनले काठमाडौंमा ड्रोन म्यापिङको काम गरिरहेको जानकारी दिए ।

इन्जिनियर एशोसिएशनका सुरज गौतमले सेनिटाइजेसन टनेल लगायतको प्रविधि विकास गरिरहेको बताए ।

यसैगरी आउटलाइन रिसर्चका सगुन ढाकुवा, कोड फर कोरका प्रमोद पोख्रेलले आफूहरूले गरिरहेका कामहरूको बारेमा अवगत गराए ।

कार्यक्रममा सरकारले प्रयोग गरिरहेका विभिन्न एप्लिकेशन, सर्भे सिस्टमहरूको बारेमा छलफल भएको थियो । निजी क्षेत्रबाट महावीर पुनदेखि अनलाइन डाक्टर कन्सल्टेसन सेवा दिइरहेका प्रविधिहरूको बारेमा छलफल भएको थियो।

कार्यक्रममा आइटी विज्ञ मनोहर भट्टराईले यहिलेको अवस्थामा कस्तो प्रविधि आवश्यक छ र कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा कुरा राखेका थिए । स

सरकारबाट भइरहेका विभिन्न प्रयासहरूलाई एकीकृत रूपमा अघि बढाउन, विभिन्न एपहरूले लिइरहेका तथ्यांकहरूको मोनिटरिङ गर्न, डेटा प्राइभेसीमा ध्यान दिन सबैले जोड दिएका थिए । अहिले नेपालमा स्वास्थ्य मन्त्रालयले हाम्रो स्वास्थ्य र गृह मन्त्रालयले क्वारेन्टाइनमा बसेकाको निगरानीको लागि कोबडी एप सञ्चालनमा ल्याएको छ । निजी क्षेत्रबाट एक दर्जन बढी एप्लिकेशन, अनलाइन कन्सल्टेसनका कामहरू भइरहेका छन् ।

यि विभिन्न प्रविधिहरुको बारेमा छलफल गर्दै भइरहेका प्रयासलाई एकिकृत गरि प्रभावकारी बनाउन यहि शनिवार प्रदेश सरकारका आइटी प्रमुख, कोरोना रोकथाम नियन्त्रण समितिका प्रतिनिधी र अन्य विज्ञहरुसँग दोश्रो चरणको अनलाइन छलफल आयोजना हुने आयोजकले जनाएको छ ।

प्रकाशित: ११ बैशाख २०७७, बिहीबार

Comments are closed.

Loading...