दूरसंचार प्राधिकरणले भन्यो- विदेशी अपरिचित नम्बरबाट आउने फोन कलमा कल ब्याक नगर्नुस्

Technology Khabar २ बैशाख २०७७, मंगलवार

दूरसंचार प्राधिकरणले भन्यो- विदेशी अपरिचित नम्बरबाट आउने फोन कलमा कल ब्याक नगर्नुस्
Classic Tech

नेपाल दूरसंचार प्राधिकरणले विदेशी अपरिचित नम्बरबाट आउने फोनकलमा पुन फोन नगर्न सबैलाई सचेत गराएको छ ।

प्राधिकरणले विदेशी अपरिचित फोन नम्बरहरुबाट नेपालको मोबाइल नम्बरहरुमा मिस्डकल तथा मेसेजहरु आएको र यसबाट सेवाग्राहीहरुलाई असुबिधा पुगेकोमा ध्यानाकर्षण भएको जनाएको छ।

दूरसंचार क्षेत्रको नियमनकारी निकाय प्राधिकरणले वानगिरी स्क्याम (वन रिङ्ग स्क्याम)One Ring Scam भनेर चिनिने त्यस्तो मिस्ड कल स्क्याम बिगतमा पनि आउने गरेको भन्दै प्राधिकरणले सोको रोकथाम गर्न दूरसंचार सेवा प्रदायकहरुलाई निर्देशन दिईसकेको बताएको छ ।

तर हाल फोन नम्बर परिवर्तन गरि फरक परक विदेशी नम्बरहरुबाट यस्तो मिस्डकल तथा मेसेज आउने भएकोले यसको रोकथामको कार्य चुनौतीपूर्ण भएको प्राधिकरणको भनाई छ ।

‘प्राधिकरणले सेवाग्राहीहरुलाई आफैंले त्यस्तो अपरिचित विदेशी नम्बरमा फोन कल ब्याक नगरेसम्म वा अपरिचित म्यासेजमा क्लिक नगरेसम्म कुनै हानी नहुने भएकोले त्यस्ता अपरिचित नम्बहरुबाट आएको फोनमा कल ब्याक नगर्न र प्राप्त मेसेज लिंक आदिमा क्लिक नगर्न र त्यस्ता नम्बरहरुको बारेमा प्राधिकरणमा जानकारी गराउन होस्,’ प्राधिकरणद्धारा जारी सूचनामा उल्लेख छ ।

यदि तपाईँहरुलाई पनि त्यस्तो विदेशी नम्बरबाट फोन कल आउने वा मेसेज आउने गरेको छ भने तपाईँहरुले समेत प्राधिकरणको ईमेल ठेगाना [email protected] मा जानकारी दिन सकिनेछ ।

यसअघि पनि प्राधिकरणले विदेशी अपरिचित नम्बरहरुबाट फोन कल आएको भन्दै बेला बेलामा त्यस्ता फोन नम्बरहरुलाई ब्लक गर्न सेवा प्रदायकहरुलाई निर्देशन दिँदै आएको छ ।

पछिल्लो चरणमा भने हालै फुडमाण्डू र भायनेटबाट ह्याकरले लीक गरेका डाटाहरुको आधारमा वन रिङ्ग स्क्याम हुँदै आएको छ । लीक भएका फोन नम्बरहरुमा विदेशबाट फोन कल तथा भाइबर कल आउने गरेको छ भने विभिन्न लिंकसहितका मेसेज पनि आएको सेवाग्राहीहरुले गुनासो गरिरहेका छन् ।

TK Viber

प्रकाशित: २ बैशाख २०७७, मंगलवार

Loading...