Technology Khabar २६ चैत्र २०७६, बुधबार
काठमाडौं ।
इन्टरनेट सेवाप्रदायक कम्पनी भायनेटका ग्राहकहरुको जानकारी लीक भएको छ । नेपालको प्रमुख इन्टरनेट सेवा प्रदायक मध्येको एक भायनेटका करिब १ लाख ६० हजार भन्दा बढि यूजरको डाटा लीक भएको हो ।
डाटा लीक गर्ने ह्याकरले सो डाटालाई डार्कवेबमा राखेको छ ।
ह्याकरले ट्वीटरमा आफ्नो नाम नरपिचास राखेको छ जसको ट्विटरमा पनि सो ह्याक गरिएका डाटाहरुको जानकारी राखेको छ ।
ती डाटाहरु हेर्नका लागि भने डार्क वेबको लागि प्रयोग हुने विशेष ब्राउजर ‘टोर’ प्रयोग गर्नुपर्ने हुन्छ ।
लीक भएका डाटाहरुमा ईमेल, फोन नम्बर र ठेगानाहरु रहेका छन् ।
यसअघि फुड डेलिभरी प्लेटफर्म फुडमाण्डुको पनि यूजर्स डाटा लीक गरिएको थियो ।
डाटा लीक भएको घट्नाको बारेमा आन्तरिकरुपमा हेरिरहेको कम्पनीका प्रबन्ध निर्देशक बिनय बोहराले जानकारी दिए ।
‘हामीले पनि केहि अगाडि मात्र थाहा पाएका हौं । हिजो लीक डाटा राखिएको ट्वीटरमा ह्याकरले सार्वजनिक गरेको छ । आन्तरिक अनुसन्धान गर्दैछौं,’ उनले टेक्नोलोजीखबरसँग भने ।
कहिले डाटा चोरी भएको हो त्यसबारेमा अनुसन्धानपछि मात्र थाहा हुने उनले जानकारी दिए ।
ट्विटरमा डाटा ह्याकरले अहिले भने सो आइडीमा अस्थाई रोक लगाइएको भएपनि प्रोफाइल भने हेर्न सकिन्छ । ह्याकरले ट्विटरमा १ लाख ७० हजारको डाटा लीक गरेको दाबी गरेको छ ।
प्रकाशित: २६ चैत्र २०७६, बुधबार