इन्टरनेट सेवा प्रदायकले भने- २५ प्रतिशत छुट दिन सकिँदैन्, बरु हामीलाई राहत प्याकेज देऊ

Technology Khabar १९ चैत्र २०७६, बुधबार

इन्टरनेट सेवा प्रदायकले भने- २५ प्रतिशत छुट दिन सकिँदैन्, बरु हामीलाई राहत प्याकेज देऊ
Classic Tech

अनुज राज

इन्टरनेट सेवा प्रदायकहरुले ग्राहकहरुलाई सरकारको निर्देशनसहितको दिने भनेको २५ प्रतिशत छुट दिन नसकिने बताएका छन् ।

इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ, नेपाल (आइस्पान)ले सो बारेमा आफूहरुले अहिलको अवस्थामा ग्राहकहरुलाई २५ प्रतिशत छुट दिन नसकिने स्पष्ट पार्दै पत्र पठाएका हुन् । उनीहरुले उल्टै सरकारसँग राहत प्याकेज उपलब्ध गराईदिन अनुरोध समेत गरेका छन् ।

लकडाउनले गर्दा इन्टरनेटको माग उच्च भएको र त्यसले आर्थिक भार बढेपनि मुल्य वृद्धि नगरेको भन्दै यसभन्दा अतिरिक्त २५ प्रतिशत छुट दिन नसकिने उनीहरुले दाबी गरेका हुन् । सेवा प्रदायकहरुले प्राधिकरणले हिजो दिएको निर्देशन पत्रको जवाफ पठाउँदै सो छुट दिन नसिकने बताएका हुन् ।

नियमनकारी निकाय नेपाल दूरसंचार प्राधिकरणका अध्यक्षलाई सम्बोधन गरेर लेखिएको हामीलाई स्रोतमार्फत प्राप्त सो पत्रमा अधिकांश व्यवसायीक कारोबारहरु बन्द भएको र मानिसहरुले घरबाट नै काम गरिरहेको हुँदा इन्टरनेटको प्रयोग सामान्य अवस्थामा भन्दा ४० देखि ५० प्रतिशत उच्च भएको उल्लेख छ ।

इन्टरनेटको उच्च प्रयोग हुँदा सेवा प्रदायक कम्पनीहरुलाई थप आर्थिक भार परेको भएपनि मुल्य वृद्धि नगरि पुरानै मुल्यमा सेवा दिईरहेको उनीहरुको भनाई छ । त्यसैगरि उनीहरुले आफूहरुको ग्राहक रकम समेत नउठेको तर सेवा मर्मत संभार तथा ब्याण्डविथको रकम भने तिरिरहेको बताएका छन् ।

‘इन्टरनेटको प्रयोग पहिलाको दाँजोमा ४०-५० प्रतिशत उच्च हुन आएको छ । जसको कारण हामीलाई थप आर्थिक भार सिर्जना भएको छ,’ पत्रमा लेखिएको छ, ‘यस्तो बेलामा सरकारको आग्रहलाई स्वीकार गर्नु हामी सेवाप्रदायकहरुको नैतिक जिम्मेवारी पनि हो भन्ने हाम्रो मान्यता रहेपनि ग्राहकवर्गबाट नियमित उठ्ने रकमको १० प्रतिशत पनि उठ्न नसकेको, सेवा मर्मत संभारमा निकै नै सकस भएको हुँदा लागत बढ्न गएको स्थिति छ ।’

सेवा प्रदायकहरुको संस्थाले आगामी दिनमा कर्मचारीहरुलाई नियमित तलब भत्ता उपलब्ध गराउन, बैकको साँवा ब्याज तिर्न समेत कठिन हुनसक्ने समेत नियमनकारी निकायलाई जानकारी गराएको छ ।

यसअघि सरकारले मन्त्रिपरिषदबाट निर्णय गरेर सबै इन्टरनेट तथा डाटा सेवामा २५ प्रतिशत छुट दिने व्यवस्था गराउन निर्देशन दिएको थियो । सोही आधारमा प्राधिकरणले हिजो सबै सेवा प्रदायकहरुलाई साे छुट दिन भन्दै पत्र काटेको थियो ।

यो पनि पढ्नुस्-

इन्टरनेट र मोबाइल डाटा प्याकेज प्रयोगकर्तालाई २५ प्रतिशत छुट

प्रकाशित: १९ चैत्र २०७६, बुधबार

Comments are closed.

Loading...