लकडाउनमा नेपालीले सबैभन्दा धेरै यूट्यूब, फेसबुक र टिकटक चलाउँदै, इन्टरनेटको खपत बढ्दो

Technology Khabar १४ चैत्र २०७६, शुक्रबार

लकडाउनमा नेपालीले सबैभन्दा धेरै यूट्यूब, फेसबुक र टिकटक चलाउँदै, इन्टरनेटको खपत बढ्दो

काठमाडौं ।

अनुज राज

देशभर लकडाउनका कारण मानिसहरु घरमा नै बसिरहेका छन भने अत्यावश्यक काम बाहेक बाहिर जान प्रहरीले रोक लगाएको छ । यस्तो बेलामा अधिकांश मानिसहरु इन्टरनेटमा व्यस्त रहेका छन् । जसले गर्दा इन्टरनेट ब्याण्डविथ खपत र इन्टरनेट ट्राफिक निकै बढेको छ ।

मोबाइल सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुकाअनुसार पछिल्लो दिनमा इन्टरनेटको प्रयोग ५० देखि शतप्रतिशतसम्म वृद्धि भईरहेको छ ।

मोबाइल अपरेटरहरुको डाटा खपत पनि निकै वृद्धि भएको छ भने इन्टरनेटको ब्याण्डविथ करिब ३० देखि ५० प्रतिशतसम्म खपतमा वृद्धि भएको देखिएको छ ।

इन्टरनेट प्रयोग बढ्दो

नेपाल टेलिकमकाअनुसार अन्य समयमा बिहान बेलुका हुने डाटाको खपत लकडाउनको दोस्रो दिनदेखि मध्य दिनमा पनि निकै वृद्धि भईरहेको छ ।

त्यसैगरि एनसेलले पनि आफ्नो इन्टरनेटको प्रयोगमा ३० प्रतिशत भन्दा बढिको वृद्धि देखिएको जानकारी दिएको छ । कम्पनीले आफूले विभिन्न डाटा प्याकहरु ल्याएको हुँदा कम्पनीको आम्दानीमा वृद्धि नभएपनि दैनिक डाटा प्रयोगमा भने वृद्धि भईरहेको बताएको छ ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशन डिल्लीराम अधिकारीले भ्वाइसमा खासै फरक नदेखिएपनि डाटा प्रयोगको खपतमा वृद्धि भएको बताए ।

‘मानिसहरु घरमा नै बसिरहेको हुँदा इन्टरनेट डाटाको खपत निकै बढेको छ, आजभोली त मध्यदिनमा नै उच्च प्रयोग भएको देखिन्छ,’ उनले भने ।

त्यसैगरि इन्टरनेट सेवा प्रदायकहरुका अनुसार उनीहरुको क्षमताको शतप्रतिशत डाटा प्रयोग भईरहेको छ । नेपाली इन्टरनेट सेवा प्रदायकहरुले  ४०० देखि ५०० जीबी ब्याण्डविथ प्रयोग गरिरहेकोमा सबै प्रयोगमा रहेको छ।

इन्टरनेट सेवा प्रदायक संघका पूर्व अध्यक्ष तथा भायनेट कम्युनिकेशन्स प्रालिका संचालक तथा प्रबन्ध निर्देशक बिनय बोहराले पनि इन्टरनेटको माग ह्वात्तै बढेको जानकारी दिए ।

‘हाम्रोमा अहिले समग्रमा २५ प्रतिशतले इन्टरनेटको प्रयोग बढेको देखिएको छ तर अहिले त मध्य दिनमा नै इन्टरनेटको खपत अधिक देखिएको छ,’ भायोनेटका प्रबन्ध निर्देशक बोहराले भने ।

तर इन्टरनेट एक्सचेन्जका एक प्राविधिकले भने इन्टरनेट सेवा प्रदायकहरुको इन्टरनेट ब्याण्डविथ र ट्राफिक शतप्रतिशत बढेको जानकारी दिए ।

‘अधिकांशले वाईफाईमा आधारित इन्टरनेट प्रयोग गर्ने हुँदा हाम्रोमा अहिले ल्याएको सबै ब्याण्डविथ खपत भएको देखिन्छ,’ ती प्राविधिकले भने ।

लकडाउनले डाटाको खपत वृद्धि भएसँगै नेपालीहरुमाझ भिडियो कन्टेन्टहरुको प्रयोग पनि निकै बढेको छ । अधिकांश मोबाइल अपरेटर र इन्टरनेट अपरेटरहरुले भिडियोमा आधारित प्लेटफर्म र कन्टेन्टको प्रयोग उच्चगतिमा बढेको देखिएको जानकारी दिए ।

मोबाइल अपरेटरहरुले पछिल्लो दिनमा सेवाग्राहीहरुले इन्टरनेटमार्फत फेसबुक अधिक चलाउने गरेको जानकारी दिएका छन भने इन्टरनेट सेवा प्रदायकहरुले भने यूट्यूबको प्रयोग बढेको बताएका छन् ।

इन्टरनेट सेवा प्रदायक संस्था नेपालका अध्यक्ष भोजराज भट्टले पनि भिडियोमा आधारित कन्टेन्टहरुको प्रयोग र माग शतप्रतिशत बढेको बताए ।
अहिले लोकल ब्याण्डविथ १०० परसेन्ट बढेको छ भने इन्टरनेशनल ब्याण्डविथ पनि २० प्रतिशत भन्दा माथि गईसकेको छ, भिडियो कन्टेन्टहरुको प्रयोग निकै छ,’ अध्यक्ष भट्टले भने ।

उनकाअनुसार लकडाउनको अवधि बढ्दै गएमा आगामी दिनहरुमा इन्टरनेट ब्याण्डविथ झनै बढ्नेछ भने कन्टेन्टको प्रयोग पनि थप हुनेछ । भट्टकाअनुसार सबैभन्दा धेरै यूट्यूब र फेसबुक भिडियोको प्रयोग शतप्रतिशत बढेको छ ।

भिडियो कन्टेन्टको प्रयोग बढ्यो

भायनेटका प्रबन्ध निर्देशक विनय बोहराकाअनुसार पनि नेपालीहरु अहिले लकडाउनको अवस्थामा गूगल र यूट्यूबमा धेरै सक्रिय रहेका छन् । ‘अहिले इन्टरनेटमा गूगल यूट्यूबको प्रयोग पछि फेसबुकको प्रयोग निकै बढेको छ,’ उनले भने ।

उता मोबाइल अपरेटरहरुका अनुसार पनि सबैभन्दा धेरै प्रयोग यूट्यूब र फेसबुकको भएको देखिन्छ । यी दुबै प्लेटर्फममा हुने भिडियोहरु अधिक हेर्ने गरिएको छ । त्यसपछि भने नेपालीहरुले अधिक मात्रामा टिकटकको प्रयोग निकै गरिरहेका छन् ।

एनसेलले आफ्नो नेटवर्कमा यूट्यूब, फेसबुक भिडियो पछि टिकटकको प्रयोग देखिएको जानकारी दिएको छ ।
‘हाम्रो नेटवर्कमा लकडाउन अगाडि र अहिलेको अवस्थामा कन्टेन्ट(यूट्यूब, फेसबुक, टिकटक) प्रयोगमा कुनै फरक आएको छैन्, तर आगामी दिनमा यो निरन्तर बढ्ने अपेक्षा छ,’ एनसेलले टेक्नोलोजी खबरलाई इमेलमार्फत दिएको जानकारीमा लेखेको छ ।

उता सबैभन्दा ठूलो टेलिकम कम्पनी नेपाल टेलिकमले भने पछिल्लो दिनमा टिकटकको प्रयोग निकै बढेको जानकारी दिएको छ ।

‘सबैभन्दा पहिलोमा गूगल, यूट्यूब छ भने त्यसपछि फेसबुकको प्रयोग निकै हुने गरेको छ, तर पछिल्लो दिनमा टिकटकको प्रयोग पनि तिब्रगतिले बढेको देखिन्छ,’ टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले भने ।

नेटवर्कको अवस्था
कन्टेन्टको प्रयोग बढिरहँदा नेटवर्कको अवस्था पनि सन्तोषजनक रहेको सेवा प्रदायकहरुले जानकारी दिएका छन् ।

लकडाउनले गर्दा केहि मर्मतको कार्यमा अवरोध वा ढिलाई भएपनि हाल कुनै समस्या नदेखिएको मोबाइल अपरेटरहरुको भनाई छ ।

एनसेलकाअनुसार हाल सबै नेटवर्क तथा सेवाहरु संचालनमा रहेको छ भने कुनै समस्या देखिएको छैन् । तर लकडाउनका कारण भने आगामी दिनमा एनसेल टेक्नोलोजिकल स्टाफहरुलाई हिँडडुल गर्न स्पष्ट कुनै प्रकृया नभएको जानकारी दिएको छ ।

‘हिँडडुलमा भएको केहि अवरोधका बाबजुद पनि हामी हाम्रो नेटवर्क संचालन स्वस्थ्य र सहि भएको सुनिश्चित गर्दछौं, हाम्रा ग्राहकहरुलाई यो समयमा पनि आवश्यक भएको बेला सेवा दिन सक्नेछौं,’ एनसेलले भनेको छ ।

नेपाल टेलिकमले पनि अहिले आफ्नो नेटवर्क सहिरुपमा संचालन भईरहेको जानकारी दिएको छ ।

‘उपत्यकाभन्दा बाहिर नेटवर्कको प्रयोग निकै उच्च देखिएको छ । र टेलिकमको सेवाहरुको प्रयोग पनि बढिरहेको छ, अहिले थ्रीजीमा निकै दबाब रहेको देखिन्छ,’ टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले भने ।

इन्टरनेट सेवा प्रदायक संस्था नेपालले पनि हाल नेटवर्कहरुमा धेरै समस्या नदेखिएपनि लकडाउन लम्बिएको अवस्थामा भने यसै भन्न नसकिने बताए ।

ग्राहकहरुले सेवा शुल्क नतिरे पनि वा नविकरण नगरेपनि लाईन काटेका छैनौं ।अहिले त हामीले कर्मचारीहरुलाई जसरी पनि काम गर्न उत्साहित गरिरहेका छौं, तर कतिदिन यसरी चलाउन सकिएला ?,’ इन्टरनेट सेवा प्रदायक संस्था नेपालका अध्यक्ष भट्टले प्रतिप्रश्न गरे।

Sajilo Visa

प्रकाशित: १४ चैत्र २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार