अब मोबाइलमा सापटी रकम २०० रुपैयाँसम्म पाईने, ब्यालेन्स टपअपमा शतप्रतिशत बोनस

Technology Khabar ११ चैत्र २०७६, मंगलवार

अब मोबाइलमा सापटी रकम २०० रुपैयाँसम्म पाईने, ब्यालेन्स टपअपमा शतप्रतिशत बोनस

काठमाडौं ।

अनुज राज

नेपाल दूरसंचार प्राधिकरणले कोरोनाभाइरस(कोभिड-१९)को प्रकोपले लकडाउन भएका मोबाइल सेवाग्राहीहरुका लागि अपरेटरहरुले थप सुबिधा दिनुपर्ने निर्णय गरेको छ ।

यसको लागि दूरसंचार प्राधिकरणले सबै अपरेटरहरुलाई २०० रुपैयाँसम्मको क्रेडिट लिमिट आफ्ना ग्राहकहरुलाई दिन निर्देशन दिएको छ ।

दूरसंचार प्राधिकरणको आज बसेको अनलाइन ग्रुप बोर्ड बैठकले सो निर्णय गरेको दूरसंचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।

उनकाअनुसार मोबाइलको सापटी लिमिटलाई बढाएर अब २०० रुपैयाँसम्म गरिएको छ भने रिचार्जमा पनि शतप्रतिशत बोनस दिनुपर्ने निर्णय गरिएको छ ।

‘सबैजना घरमा नै लकडाउन भएको बेला रिचार्ज गर्न जान नसक्ने र ग्राहकहरुबिच संचार सम्पर्क नै रोकिन सक्ने विषयलाई मध्यनजर गरेर यो निर्णय गरिएको हो,’ अध्यक्ष खनालले भने ।

उनकाअनुसार मोबाइलमा दिईने क्रेडिट लिमिटमा कुनैपनि प्रकारको ब्याज लिन पाईने छैन भने मोबाइल अपरेटरहरुले आफ्ना ग्राहकहरुलाई २०० रुपैयाँसम्मको क्रेडिट लिमिट दिनसक्नेछन् ।

उदाहरणको लागि,यसअघि एनसेलले सेवाग्राहीहरुसँग सापटी रकममा २ रुपैयाँ ब्याज वा शुल्क लिने गर्दथ्यो भने नेपाल टेलिकमले निशुल्क सापटी रकम दिँदै आएको छ । अब भने सो सेवा निशुल्क दिनुपर्नेछ ।

त्यसैगरि मोबाइलमा गरिने रिचार्ज अर्थात टपअपमा ग्राहकहरुलाई शतप्रतिशत बोनस दिनुपर्ने निर्णय समेत गरिएको छ । यसमा जतिसुकै रकमको टपअप गरिएपनि शतप्रतिशत बोनस कम्पनीहरुले दिनुपर्नेछ ।

यसअघि अपरेटरहरुले तोकिएको रकममा मात्र तोकिएको प्रतिशतको आधारमा मात्र बोनस दिने गरेका थिए ।

उदाहरणको लागि, नेपाल टेलिकमले विभिन्न अवसर पारेर रिचार्ज गर्दा वा टपअप गर्दा विभिन्न किसिमले २ प्रतिशतदेखि १० प्रतिशतसम्म बोनस दिने गर्दथ्यो । तर अब भने जति रकमको टपअप गरिएको छ त्यति रकम नै बोनसमा दिनुपर्नेछ ।

तर दूरसंचार प्राधिकरणको नयाँ निर्णयपछि अब ग्राहकहरुलाई टपअप गरेको मुल्य बराबरकै बोनस मोबाइल अपरेटरहरुले दिनुपर्नेछ ।

अध्यक्ष खनालले अहिलेको कठिन अवस्थामा कुनैपनि मोबाइल अपरेटरहरुलाई आफ्नो आम्दानी वा नाफाको उद्धेश्य नराखी ग्राहकहरुलाई दिनसकिने जति अधिकतम अन्य सुविधाहरु दिन भनेका छन् ।

प्राधिकरणले आज गरेको सो निर्णय आगामी ३० दिनसम्म सबै मोबाइल अपरेटरहरुलाई लागू हुने अध्यक्ष खनालले जानकारी दिए । जसमा कम्पनीहरुले सार्वजनिक सूचना निकालेर आजैदेखि वा भोलीदेखि यी सुबिधाहरु दिनुपर्नेछ ।

अनलाइनमार्फत बैठक

प्राधिकरणले पहिलो पटक अनलाइनमार्फत बैठक राखेर यस्तो निर्णय गरेको हो । यसअघि परम्परागतरुपमा बोर्ड सदस्यहरुको उपस्थितीमा मात्र निर्णय गर्ने गरिन्थ्यो । तर यस पटक भने अनलाइनमार्फत नै प्रस्ताव पेश गर्ने र त्यस उपर छलफल गर्दै निर्णय गरिएको थियो ।

देशभर लकडाउन भएको बेला अत्यावश्यक सेवाअन्तरगतको दूरसंचार क्षेत्रमा आकस्मिक निर्णय गर्नुपर्ने अवस्थालाई ध्यानमा राखेर ह्वाट्सएपमा आधारित हुँदै अनलाइन बोर्ड बैठक राखिएको प्राधिकरणको भनाई छ ।

easy care

प्रकाशित: ११ चैत्र २०७६, मंगलवार