प्रशासनले अनुमति नदिँदा इन्टरनेट सेवा मर्मतको काम रोकियो, सेवा नै बन्द हुनसक्ने चेतावनी

Technology Khabar ११ चैत्र २०७६, मंगलवार

प्रशासनले अनुमति नदिँदा इन्टरनेट सेवा मर्मतको काम रोकियो, सेवा नै बन्द हुनसक्ने चेतावनी
थापाथलीमा इन्टरनेट फाइबर केबुल मर्मत गर्दै सेवा प्रदायकका कर्मचारीहरु । फाइल तस्बिर
Global IME Bank

काठमाडौं ।

कोरोनाभाइरस फैलनबाट रोक्न सरकारले ‘लकडाउन’ गरेसँगै मानिसहरु घरमा नै बसेर इन्टरनेट सेवाको प्रयोग गरिरहेका छन् । जसले गर्दा इन्टरनेट ब्याण्डविथ खपत र नेटवर्क ट्राफिक निकै बढेको छ ।

सामाजिक संजालहरुमा पनि इन्टरनेट स्लो भएको जस्ता गुनासाहरु आउन थालिसकेका छन् । दूरसंचार सेवालाई सरकारले अत्यावश्यक सेवाअन्तरगत राखेको छ भने इन्टरनेट पनि अत्यावश्यक सेवाअन्तरगत पर्दछ ।

मानिसहरु घरमा बढि इन्टरनेट प्रयोग गरिरहेको बेलामा इन्टरनेट सेवा प्रदायकहरुले आफ्नो सेवालाई चुस्त दुरुस्त पार्न र इन्टरनेट सेवा ग्राहकहरुलाई उपलब्ध गराउन नेटवर्कको मर्मत नियमितरुपमा गरिरहेका छन् ।

अपडेट (२०७६ चैत १४ गते)

हाल इन्टरनेट सेवा प्रदायकहरुको गाडीलाई प्रशासनले पास उपलब्ध गराएको तथा मर्मतको लागि जानका लागि समेत कुनै अबरोध नभएको इन्टरनेट सेवा प्रदायक संस्था नेपाल(आइस्पान)ले जानकारी दिएको छ ।

तर सो मर्मतको कार्यमा समस्या आएको इन्टरनेट सेवा प्रदायकहरुले बताएका छन् ।

सरकारले ‘लकडाउन’ गरेर सार्वजनिक र निजी गाडिहरु संचालनमा प्रतिबन्ध लगाएसँगै इन्टरनेट सेवा प्रदायक(आईएसपी)हरुले नेटवर्कको नियमित मर्मत कार्य गर्न नसकिएको बताएका छन् ।

उनीहरुले मर्मतका लागि प्रयोग गरिने गाडिहरुलाई सरकारले अनुमति नदिएपछि मर्मत र नेटवर्कमा समस्या आउने र सेवा नै बन्द हुनसक्ने चेतावनी दिएका छन् ।

‘दैनिकरुपमा मर्मत र नेटवर्कको काम गर्नुपर्ने बेलामा जिल्ला प्रशासन कार्यालय र प्रहरीले नै हाम्रा गाडी चलाउन दिएका छैनन्, अनुमति नै नदिँदा इन्टरनेट सेवामा समस्या आउने पक्का छ,’ एक आईएसपी संचालकले नाम उल्लेख नगर्ने शर्तमा भने ।

उनकाअनुसार प्रशासनमा अनुमतिको लागि जाँदा दूरसंचार सेवा मात्र अत्यावश्यक सेवा भनेको र इन्टरनेट सेवा त्यसमा नपर्ने भनेर अनुमति नदिईएको हो । त्यसमा नेपाल दूरसंचार प्राधिकरणले ‘प्रो एक्टिभ’ भएर सहयोग गर्नुपर्ने उनको भनाई छ ।

इन्टरनेट सेवा प्रदायक संस्था नेपाल(आइस्पान)का अध्यक्ष भोजराज भट्टले पनि आईएसपीहरुको नेटवर्क र मर्मत कार्यमा अवरोध आएको बताए । उनले सो बारेमा प्रहरीको उच्च निकायमा कुरा भएपनि तल्लो तहसम्म जानकारी नहुँदा कामगर्न कठिन भएको गुनासो गरे ।

हामीले प्रहरीका एआईजीसँग कुरा गरेर यो अत्यावश्यक सेवामा पर्ने भनेका छौं, तर तल्लो तहसम्म खबर नपुग्दा मर्मत र नेटवर्कको काम रोकिएको छ,’ अध्यक्ष भट्टले भने, ‘पहिलो दिनमा नै समन्वयको अभावले यस्तो छ अझै ७ दिन के होला भन्ने अनुमान गर्न गाह्रो छ ।’

उनले अझैपनि समन्वयनको प्रयास गरिरहेको जानकारी दिए ।

इन्टरनेट सेवा प्रदायकहरुले ग्राहकहरुको घरसम्म तार तान्ने र त्यसको नियमित ममर्त संभार गर्नुपर्ने हुन्छ । आफ्नो नेटवर्कलाई चुस्त दुरुस्त राख्ने र ग्राहकहरुको आवश्यकताअनुसार सेवा दिनुपर्ने हुँदा उनिहरुका कर्मचारीहरु नियमितरुपमा फिल्डमा खटिएका हुन्छन् ।

Sajilo Visa

प्रकाशित: ११ चैत्र २०७६, मंगलवार

तपाइको प्रतिक्रिया