कोरोना भाइरसको कारण स्मार्टफोन बजार करिब-करिब समाप्तको अवस्थामा

Technology Khabar १० चैत्र २०७६, सोमबार

कोरोना भाइरसको कारण स्मार्टफोन बजार करिब-करिब समाप्तको अवस्थामा
Classic Tech

विश्वभर कोरोना भाइरसको प्रकोपका कारण स्मार्टफोन बजारमा देखिएको मन्दीले रेकर्ड कायम गरेको छ ।

विश्व बजारमा स्मार्टफोनको बिक्रीमा अहिले देखिएको गिरावट र करिब-करिब ‘कोल्याप्स’को अवस्था स्मार्टफोन आविश्कार भएयताकै सबैभन्दा उच्च हो ।

अनुसन्धान संस्था स्ट्राटेजी एनालाइटिक्सकाअनुसार गत फरवरी महिनामा विश्व बजारमा स्मार्टफोनको बिक्रिमा अघिल्लो वर्षको सोही महिनाको तुलनामा ३८ प्रतिशतले कमी भएको छ ।

चीनमा फरवरी महिनामा डरलाग्दो गरी फैलिएको कोरोना भाइरसले स्मार्टफोनको बजारलाई निकै ठूलो असर पारेको छ।

स्ट्राटेजी एनालाइटिक्सको रिपोर्टमा भनिएको छ, ‘फरवरी महिनामा कतिपय एसियाली स्मार्टफोन फ्याक्ट्रीहरुले नयाँ स्मार्टफोनहरु उत्पादन नै गर्न सकेनन् भने भाइरसको डरका कारण उपभोक्ताहरु समेत स्मार्टफोन खरिद गर्नका लागि रिटेल स्टोरसम्म जान सकेनन वा चाहेनन् ।’

सन् २०१९ को फरवरी महिनामा विश्वमा ९ करोड ९२ लाख यूनिट स्मार्टफोन बिक्री भएकोमा यो वर्षको फरवरी महिनामा केबल ६ करोड १८ लाख यूनिट स्मार्टफोन बिक्री भएका छन् ।

स्मार्टफोन उद्योगका लागि फरवरी महिना सबैभन्दा विशेष महत्वको रहँदै आएको थियो । हरेक वर्ष फरवरी महिनामा नै बार्सिलोनामा मोबाइल वर्ल्ड कंग्रेसको आयोजना हुने गरेको थियो, जहाँ स्मार्टफोन कम्पनीहरुले आफ्ना नयाँ मोडलका फोनहरु पहिलो पटक सार्वजनिक गर्ने गर्दथे ।

तर कोरोना भाइरसको त्रासका कारण मोबाइल वर्ल्ड कंग्रेस हुन सकेन ।

सामसङले फरवरी महिनामा नै आफ्नो फ्ल्यागसिप फोन ग्यालेक्सी एस २० स्मार्टफोन लञ्च गरेकोमा यसले सुरुवाती चरणमा बजारमा उल्लेख्य बिक्री कायम गर्न नसकेको रिपोर्टहरु रहेका छन् । सोही समयमा एप्पलले पनि विश्वव्यापी आइफोन आपूर्तिमा कमी आउने र यसअघि गरिएको कम्पनीको नाफा प्रक्षेपण पूरा नहुने बताइसकेको छ ।

‘सन् २०२० को फरवरी महिनामा स्मार्टफोनको विश्व बजारमा इतिहासकै अहिलेसम्मको सबैभन्दा ठूलो गिरावट देखिएको छ । चीनलगायतका एशियाली देशहरुमा स्मार्टफोनको आपूर्ति र मागमा समस्या आयो भने बाँकी विश्वमा कमजोर देखियो । यो समय यस्तो समय हो जुन स्मार्टफोन उद्योगले सम्झिन चाहनेछैन,’ स्ट्राटेजी एनालाइटिक्सका कार्यकारी निर्देशक निल मास्टनले भने ।

चालू मार्च महिनामा कोरोना भाइरस संक्रमण युरोप तथा अमेरिकामा समेत तीव्र गतिमा फैलिरहेको हुँदा तत्कालै स्मार्टफोनको व्यापारमा सुधार आउने सम्भावना नरहेको अनुसन्धान संस्थाको रिपोर्टमा उल्लेख छ ।

कोरोना भाइरसका कारण लकडाउनमा पर्दा विश्वका करोडौँ स्मार्टफोन उपभोक्ताहरु नयाँ स्मार्टफोन किन्नका लागि बजारसम्म पुग्न सकेका छैनन् ।

यस्तो अवस्थामा बिक्रेताहरुले आगामी दिनमा स्मार्टफोनको बिक्री बढाउनका लागि उपभोक्तालाई लोभ्याउने खालका छुटका अफरहरु ल्याउन सक्ने पनि रिपोर्टमा उल्लेख गरिएको छ ।

आइफोन आपूर्तिमा समस्याका साथै प्रक्षेपित वित्तिय लक्ष्य प्राप्ति हुन नसक्ने चेतावनीका बाबजुद एप्पलले हालै आफ्ना दुई नयाँ प्रडक्ट सार्वजनिक गरेको छ । जसमा लेजर स्क्यानिङ प्रविधि सहितको नयाँ आइपोड प्रो र म्याकबुक एयर रहेका छन् ।

यसअघि आफ्ना नयाँ प्रडक्ट सार्वजनिक गर्दा तामझामपूर्ण कार्यक्रम गर्ने गरेको एप्पलले यसपटक भने केवल प्रेस विज्ञप्तिमार्फत आफ्ना नयाँ प्रडक्टहरु लञ्च गरेको हो ।

एनालाइसिस्ट वेनउडका अनुसार एप्पलले आफ्नो नयाँ प्रडक्ट केवल प्रेस वक्तव्यबाट लञ्च गरेको सायद यो पहिलो पटक हो । विविसि

TK Viber

प्रकाशित: १० चैत्र २०७६, सोमबार

Loading...