डिजिटल भुक्तानी कारोबारको सीमा बढ्यो, मोबाइल बैंकिङको कारोबार प्रतिदिन १ लाख रुपैयाँ

Technology Khabar ९ चैत्र २०७६, आईतवार

डिजिटल भुक्तानी कारोबारको सीमा बढ्यो, मोबाइल बैंकिङको कारोबार प्रतिदिन १ लाख रुपैयाँ

कोरोनाभाइरसको त्रासका बिच नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानीको सीमा बढाएको छ । राष्ट्र बैंकले आईतबार परिपत्र जारी गर्दै मोबाइल र इन्टरनेटको माध्यमबाट गरिने तथा मोबाइल वालेटको माध्यमबाट गरिने भुक्तानीको सीमा बढाएको हो ।

राष्ट्र बैंकले मोबाइल बैंकिङ (क्युआर कोड समेत) बाट गर्ने कारोबारको सीमा दैनिक ५० हजार रुपैयाँबाट बढाएर प्रतिदिन १ लाख र प्रतिमहिना २ लाख रुपैयाँबाट बढाएर १० लाख रुपैयाँ पुर्याएको छ ।

यस्तै इन्टरनेट बैंकिङ (मर्चेन्ट पेमेन्ट र एकाउन्ट ट्रान्सफर) को कारोबार सीमा भने यथावत राखिएको छ । इन्टरनेट बैंकिङको कारोबार सीमा प्रतिदिन १० लाख रुपैयाँ र प्रतिमहिना ३० लाख रुपैयाँ रहेको छ ।

साथै इन्टरनेट बैंकिङ एकाउन्ट ट्रान्सफरको सीमा प्रतिदिन १० लाख र प्रतिमहिना ५० लाख रुपैयाँसम्म रहेको छ । मोबाइल वालेटबाट अन्य बैंक खातामा रकम ट्रान्सफर गर्ने सीमा पनि प्रति कारोबार २५ हजार, प्रतिदिन १ लाख र प्रतिमहिना ५ लाख पुर्याईएको छ ।

यसअघि यस्तो कारोबारको सीमा प्रतिदिन २५ हजार र प्रतिमहिना ५० हजार मात्रै रहेको थियो । केन्द्रीय बैंकले एक वालेटबाट अर्को वालेटमा रकम ट्रान्सफर गर्ने सीमा पनि बढाएको छ ।

यसअघि प्रतिदिन २५ हजार र प्रतिमहिना ५० हजार रुपैयाँको मात्रै कारोबार गर्न सकिने व्यवस्था रहेकोमा अब प्रति कारोबार २५ हजार, प्रतिदिन ५० हजार र प्रतिमहिना ५ लाख सम्म कारोबार गर्न सकिने भएको छ। त्यसैगरी वालेटबाट कारोबार गर्दा पनि प्रति कारोबार २५ हजार, प्रतिदिन ५० हजार र प्रतिमहिना ५ लाख सम्म कारोबार गर्न सकिने राष्ट्र बैंकको परिपत्रमा उल्लेख छ ।

यसअघि बैंक तथा वित्तीय संस्थाहरु र डिजिटल सेवा प्रदायकले अन्तरबैंक एटिएम तथा डिजिटल कारोबारलाई निःशुल्क गर्ने घोषणा गरिसकेका छन् ।

Circular_Electronic_Txns_Limit_Amendment_20200322

प्रकाशित: ९ चैत्र २०७६, आईतवार

Comments are closed.

Loading...