इन्टरनेट ब्याण्डविथ ग्राहकले नै हेर्नसक्ने, एमआरटिजी ग्राफको पहुँच दिन प्राधिकरणको निर्देशन

Technology Khabar २२ फाल्गुन २०७६, बिहीबार

इन्टरनेट ब्याण्डविथ ग्राहकले नै हेर्नसक्ने, एमआरटिजी ग्राफको पहुँच दिन प्राधिकरणको निर्देशन

काठमाडौं ।

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई ग्राहकलाई उपलब्ध गराउँदै आएको इन्टरनेट ब्याण्डविथको बारेमा जानकारी दिन निर्देशन दिएको छ ।

प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई मल्टि राउटर ट्राफिक ग्राफर(एमआरटिजी) ग्राफको पहुँच उपलब्ध गराउन र ग्राहकहरुलाई दिँदै आएको इन्टरनेट ब्याण्डविथको बारेमा सूचना दिन समेत निर्देशन दिएको हो ।

सो निर्देशनको आधारमा इन्टरनेट सेवा प्रदायकले ग्राहकहरुलाई उपलब्ध गराउँदै आएको इन्टरनेट ब्याण्डविथको बारेमा ग्राहकहरुले नै हेर्नसक्ने गरि व्यवस्था मिलाउनुपर्नेछ।

प्राधिकरणका निर्देशक विजय कुमार रोयले ग्राहकहरुले प्रयोग गरिरहेको इन्टरनेट ब्याण्डविथ सम्झौता अनुसार छ वा छैन भन्ने जानकारी दिन सो व्यवस्था गराउन भनिएको जानकारी दिए ।

‘इन्टरनेट सेवा प्रदायकहरुले ग्राहकहरुलाई कति ब्याण्डविथ दिईरहेका छन् भनेर हेर्न सकिने गरि व्यवस्था मिलाउन भनेको हो, यसले ग्राहकहरुको गुनासोलाई समेत सम्बोधन गर्न सहज हुनेछ,’ निर्देशक रोयले भने ।

पछिल्लो दिनहरुमा आईएसपीहरुले ग्राहकहरुलाई दिँदै आएको इन्टरनेट ब्याण्डविथ कम हुने गरेको, इन्टरनेटको स्पीड कम हुने गरेको भन्दै ग्राहकहरुले गर्दै आएको गुनासो समेत केहि हदसम्म सम्बोधन हुने उनको भनाई छ ।

आईएसपीहरुले ग्राहकसँग भएको सम्झौताअनुसार सेवाग्राहीले कति इन्टरनेट ब्याण्डविथ प्राप्त गरिरहेको छ सोको एमआरटिजी ग्राफ सेवाग्राहीले नै हेर्न सकिने गरि व्यवस्था गर्नुपर्नेछ । सो बारेमा कम्पनीहरुले ग्राहकहरुलाई समेत जानकारी दिनुपर्नेछ ।

आईएसपीहरुले प्रत्येक ग्राहकहरुको लागि एउटा एक्सेस कोड दिनेछ र सोहि आधारमा प्रयोग गरिरहेको कम्पनीको इन्टरनेट ब्याण्डविथ आफुले कति प्रयोग गरिरहेको छु र कति आईरहेको छ भन्ने ग्राहकहरुले थाहा पाउनेछन् ।

सो ग्राफमा एक्सेस हुने ग्राहकहरुले आफूले प्रयोग गरिरहेको इन्टरनेट ब्याण्डविथ कति आईरहेको छ भन्ने लाइभ जानकारी ग्राफमार्फत हेर्न सक्दछ ।

प्राधिकरणकाअनुसार हालसम्म सो एमआरटिजी ग्राफको एक्सेस बनाउने निर्देशनअनुसार हिमालयन अनलाइनले मात्र गरेको छ ।

easy care

प्रकाशित: २२ फाल्गुन २०७६, बिहीबार