संचार तथा सूचना प्रविधि मन्त्रीमा डा. युवराज खतिवडा नियुक्त

Technology Khabar २१ फाल्गुन २०७६, बुधबार

संचार तथा सूचना प्रविधि मन्त्रीमा डा. युवराज खतिवडा नियुक्त
Classic Tech

काठमाडौं । अर्थ र संचार तथा सूचना प्रविधि मन्त्री पदमा डा. युवराज खतिवडा नियुक्त भएका छन । हिजो  पदबाट राजीनामा दिएका खतिवडालाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ र संचार तथा सूचना प्रविधि मन्त्री पदमा नियुक्त गरेकी हुन् ।

नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम डा खतिवडालाई अर्थ र संचार तथा सूचना प्रविधि मन्त्री पदमा नियुक्त गरिएको हो ।

उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले हाल प्रधानमन्त्री के. पी. शर्मा ओलीले सम्हाली आएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेको राष्टपति कार्यालयका प्रवक्ताद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । नवनियुक्त मन्त्री खतिवडाले आज अपरान्ह पद तथा गोपनियताको सपथ लिने छन्।

उनको राष्ट्रियसभा सदस्यको कार्यकाल हिजो मंगलबार मध्यरातदेखि सकिएको थियो । त्यसअघि नै उनले अर्थ र संचार तथा सूचना प्रविधि मन्त्री पदबाट राजीनामा दिएका थिए ।

संवैधानिक ब्यवस्थाअनुसार, संसद नरहेको ब्यक्ति मन्त्री हुन पाउँदैन। उनी मन्त्री हुँदा हुँदै संसद पद सकिएकाले राजीनामा गर्नु परेको हो।

संवैधानिक ब्यवस्था अनुसार संसद नरहेको अवस्थामा पनि सपथ ग्रहण गरेर ६ महिनासम्म मन्त्री बन्न पाउने ब्यवस्था छ। धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्तिलाई मन्त्री नियुक्त गर्न सकिनेछ । र, यसरी नियुक्त मन्त्रीले सपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता पाइसक्नु पर्ने प्रावधान रहेको छ ।

प्रकाशित: २१ फाल्गुन २०७६, बुधबार

Comments are closed.

Loading...