सेवाग्राहीले नै इन्टरनेट र फोनकलको गुणस्तर नाप्न सक्ने,सोही डाटाको आधारमा प्राधिकरणको एक्सन

Technology Khabar २० फाल्गुन २०७६, मंगलवार

सेवाग्राहीले नै इन्टरनेट र फोनकलको गुणस्तर नाप्न सक्ने,सोही डाटाको आधारमा प्राधिकरणको एक्सन

काठमाडौं ।

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो २२ औं वार्षिकोत्सवको अवसर पारेर दुईवटा ग्राहक सेवाहरु शुरु गरेको छ । दूरसंचार क्षेत्रको नियमनकारी निकाय दूरसंचार प्राधिकरणले इन्टरनेट र डाटाको गति मापन गर्ने सेवा तथा मोबाइल फोन कलको गुणस्तर मापन गर्ने एप लन्च गरेको हो ।

ती दुबै सेवाहरु २२ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयको समेत जिम्मेबारी बोकेका अर्थमन्त्री डा. युवराज खतिवडाले शुभारम्भ गरे ।

स्पीडटेस्ट डट एनटिए डट जीओभी डट एनपी

प्राधिकरणले सार्वजनिक गरेको इन्टरनेट तथा डाटाको गति/स्पीड मापन सफ्टवेयरले प्रयोगकर्ताहरुले आफूले प्रयोग गरिरहेको इन्टरनेट डाटाको स्पीड र गुणस्तरको जानकारी दिनेछ । प्राधिकरणले यसलाई स्पीडटेस्ट डट एनटिए डट जीओभी डट एनपीमार्फत परीक्षण गर्नसकिने सुविधा दिएको छ । सो वेबसाइट लिंकमा गएर इन्टरनेट सेवाग्राहीहरुले आफ्नो इन्टरनेटको स्पीड र गुणस्तर हेर्न सक्नेछन् ।

सो लिंकमा प्रयोगकर्ताले आफूले प्रयोग गरिरहेको इन्टरनेट प्रदायकको नामसहितको जानकारी हेर्न सक्नेछन् । त्यसैगरि यसमा मोबाइलमार्फत इन्टरनेट वा डाटा प्रयोग गर्दा टूजी, थ्रीजी वा फोरजीको नेटवर्क छनौट गर्ने सुविधा समेत रहेको छ ।

एनटिए कल एप

दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको अर्को भ्वाइस रेटिंग एप एनटिए कल एपमार्फत भने भ्वाइसको गुणस्तरको बारेमा सुझाव तथा प्रतिकृया दिन सकिनेछ ।

प्रत्येक पटक फोन कल गरिसकेपछि सो एपमार्फत आफूले गरेको भ्वाइस कलको गुणस्तर प्रतिको आफ्नो सुझाव वा प्रतिकृया व्यक्त गर्न सकिनेछ । सो एपमा अप्सन दिईएको छ जसअन्तरगत फोनकलको अवस्थाहरुलाई स्टार रेटिङ्ग गर्न सकिनेछ ।

त्यसैगरि आफूले कल गरेको भ्वाइस कललाई एक्सेप्टेबल, कल ड्रप, न्वाइज/ईको वा वान वे अडियो कस्तो अनुभव भयो सोहि अनुसार ट्याप गरेर तत्काल प्रतिकृया दिन सकिन्छ ।

यसबाहेक सो एपमा तपाईँले फोनमा कुरा गर्दा कुन स्थानमा हुनुहुन्छ र त्यहाँ कस्तो गुणस्तर अनुभव भयो भन्ने जानकारी दिन इनडोर, आउटडोर वा ट्राभलिङ्गको अप्सन दिईएको छ ।

दूरसंचार प्राधिकरणका उप निर्देशक विनोद चन्द्र श्रेष्ठले यी दुबै सेवाहरुमार्फत आउने प्रतिकृयाको आधारमा गुणस्तरलाई सुधार गरिने जानकारी दिए ।

इन्टरनेट वा डाटाको स्पीड र भ्वाइस कलको गुणस्तर दुबैको रेकर्ड राखिनेछ र अपरेटरहरु तथा आइएसपीहरुलाई सोहि आधारमा गुणस्तर सुधार्न निर्देशन दिईनेछ, उप निर्देशक श्रेष्ठले भने ।

उनकाअनुसार यी दुबै सेवाहरुलाई फिडब्याकको रुपमा लिनेगरि प्राधिकरणले सार्वजनिक गरेको हो भने कुन स्थानमा कस्तो गुणस्तर र सेवा ग्राहकहरुले पाएका छन भन्ने जानकारी समेत प्राप्त हुनेछ ।

प्राधिकरणले स्पीडटेस्टलाई अन्तराष्ट्रिय टेलिकम्युनिकेसन्स यूनियनको मापदण्डअनुसार तयार पारेको जानकारी दिएको छ । त्यस्तै एनटिए कल एपको सार्वजनिक प्रयोगका लागि अझै केहि समय लाग्ने बताईएको छ ।

सो एप आगामी दिनमा एन्ड्रोयड र आईओएस दूबै प्लेटफर्ममा उपलब्ध हुने श्रेष्ठले जानकारी दिए ।

easy care

प्रकाशित: २० फाल्गुन २०७६, मंगलवार