Technology Khabar १८ फाल्गुन २०७६, आईतवार
काठमाडौं । पछिल्लो दिनमा शहरभरि इन्टरनेट सेवाको तारहरुले शहरी सौन्दर्यलाई बिगारेको र जोखिम बढेको भन्दै टेलिफोन, इन्टरनेट र केबल टिभीको तारहरु हटाउने अभियान चलिरहेको छ ।
अझ केहि स्थानहरुमा त सामाजिक संस्थाहरुले नै तार काटिदिएका छन् । यसको ज्वलन्त उदाहरण हो ठमेल क्षेत्र । जहाँ केहि समयअघि शहरी सौन्दर्यलाई बिगारेको र जोखिम बढेको भन्दै टेलिफोन, इन्टरनेट र केबल टिभीको तारहरु काटिएका थिए ।
सरकारले पनि तारहरुलाई व्यवस्थित गर्नको लागि भूमिगतरुपमा तार तान्ने कार्य शुरु गरिसकेको छ । जसको अगुवाई नेपाल विद्युत प्राधिकरणले गरेको छ ।
तर व्यवस्थितरुपमा तार तान्ने र नेटवर्कको सेवा दिनुपर्ने नेटवर्क सेवा प्रदायकहरुले भने आफूले अनुमति पत्र लिएअनुसारको काम नगर्दा शहरभरी तारहरुको झुण्ड हेर्नुपर्ने बाध्यता रहँदै आएको छ ।
नेपाल दूरसंचार प्राधिरकणले नेटवर्क सेवा प्रदायक(एनएसपी)को लाइसेन्स विभिन्न कम्पनीहरुलाई प्रदान गरेको भएपनि उनीहरुले नेटवर्क बिस्तार नगर्दा र भएको नेटवर्क पनि इन्टरनेट सेवा प्रदायक(आइएसपी) हरुलाई प्रयोग गर्न नदिँदा समस्या भएको आइएसपीहरुले गुनासो गर्दै आएका छन् ।
प्राधिकरणले हालसम्म १६ भन्दा बढि कम्पनीहरुलाई नेटवर्क सेवा प्रदायकको लाइसेन्स दिएको छ । जसमा मोबाइल अपरेटरदेखि नेपालका सबैभन्दा ठूला इन्टरनेट सेवा प्रदायक भएको दाबी गर्ने कम्पनीहरुसमेत रहेका छन् । तर ती कम्पनीहरुले भने नेटवर्क सेवा प्रदायकको रुपमा काम नगरेको र भएको नेटवर्क पनि आइएसपीहरुलाई उपलब्ध नगराउँदा अव्यवस्थित तारहरु देखिएको एक आईएसपी कम्पनीका संचालकले बताए ।
‘नेपालमा १६ वटा एनएसपीहरु छन तर कसैले पनि नेटवर्क बिस्तार गरेर आइएसपीसँग शेयरिंगको काम गर्दैनन्,’ नाम उल्लेख नगर्ने शर्तमा उनले भने ।
एनएसपीको काम समेत आईएसपीहरुले नै गर्नुपर्दा लागत खर्च अत्यधिक भएको र ग्राहकहरुलाई सेवा दिनमा ध्यान दिन नसकिएको उनको भनाई छ । उनले एनएसपीको लाइसेन्स लिने तर नेटवर्क आइएसपीलाई प्रयोग गर्न नदिने कम्पनीलाई कारबाही गर्न माग समेत गरे ।
‘लाइसेन्सको शर्तमा नै स्पष्टरुपमा नेटवर्क सेवा प्रदायकले गर्नुपर्ने कार्यहरुको बारेमा उल्लेख छ भने प्राधिकरणको निर्देशिकामा पनि लेखिएको छ, त्यसैले नेटवर्क नदिने एनएसपीहरुलाई एनटिएले कारबाही गर्नुपर्छ,’ आइएसपी संचालकले भने ।
एनएसपीले मात्र गर्न पाउने काम आईएसपीहरुले गर्नुपर्दा एकातिर तारहरुले गर्दा अव्यवस्थित र शहरी सौन्दर्यमा असर पारेको छ भने अर्कोतर्फ जोखिम पनि उत्तिकै बढाएको छ । कतिपय सडकहरुमा तारहरु लत्रिएका र चुँडिदा असर परेको र हिँडदा वा सवारी साधन चलाउँदा समेत अल्झिने गरेको छ ।
नेटवर्क सेवा प्रदायकहरुले आफ्नो नेटवर्क स्थापना गर्न तथा नेटवर्क स्थापना गर्नका लागि आवश्यक उपकरणहरु खरिद बिक्री गर्न, भाडामा लिन वा दिने लगायतका कार्यहरु गर्न पाउनेछन् । त्यसैगरि अनुमतिपत्रमा नै नेटवर्क सेवा प्रदायकले डाटा संचार सेवाको लागि मात्र नेटवर्क सेवा प्रदान सक्नेछ भन्ने उल्लेख रहेको छ ।
यो विषयलाई सम्बोधन गर्न छलफल चलाईएको र छिटै सो सम्बन्धमा नयाँ तरिकाले जाने दूरसंचार प्राधिकरणका निर्देशक विजय कुमार रोयले बताए । ‘यस बारेमा छलफल भईरहेको छ, आइएसपी र एनएसपीको काम नै फरक हुन्छ, एनएसपीले नेटवर्क बिस्तार गर्ने हो,’ निर्देशक रोयले भने ।
उनले आईएसपीहरुलाई नेटवर्क सेवा प्रदायकहरुले नेटवर्क प्रयोग गर्न दिँदा तारहरुको व्यवस्थापनमा समेत सहज हुने बताए ।
एकातर्फ एनएसपीले नेटवर्क उपलब्ध गराएका छैनन् भने अर्कोतर्फ आइएसपीहरुले अनुमति बिना नै नेटवर्क बिस्तार गरिरहेका छन् । आइसपीहरुले सेवा दिनुपर्नेमा आफैंले नेटवर्क बनाउन तार तानिरहेका छन् । तर तार तान्नु आफूहरुको बाध्यता भएको आइएसपी कम्पनीहरुको भनाई छ ।
सो बारेमा पनि प्राधिकरण जानकार रहेको निर्देशक रोयले बताए । ‘एनएसपीले आफ्नो लाइसेन्स अनुसारको काम गर्नुपर्यो र आइएसपीले पनि लाइसेन्स अनुसारको मात्र काम गर्नुपर्यो,’ उनले भने ।
दूरसंचार प्राधिकरणले यसको लागि पूर्वाधार नियमावलीमा संसोधन गरेर ल्याउने तयारी गरेको भएपनि सो अझै मन्त्रिपरिषदमा नै रहेको छ । त्यसैगरि पूर्वाधार शेयरिंगको कानून पनि स्पष्टरुपमा लागू हुन सकेको छैन् । जसले गर्दा १६ वटा एनएसपीहरु र १ सय १५ भन्दा बढि आइएसपीहरु दूबैले आफ्नो सेवा बिस्तारको लागि तार तानिरहेका छन् ।
प्रकाशित: १८ फाल्गुन २०७६, आईतवार