Technology Khabar १७ फाल्गुन २०७६, शनिबार
काठमाडौं ।
काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले सातै वटा प्रदेशमा खानेपानी बिल भुक्तानी सेवा विस्तार गरेको छ । खल्तीले यस हप्ता मात्रै २६ जिल्लाका ८३ वटा खानेपानी वितरण समिति तथा उपभोक्ता समूहमाझ सेवा विस्तार गरी आफ्नो खानेपानी बिल भुक्तानी सेवा सातै वटा प्रदेशमा पुर्याएको हो ।
अब पूर्वमा झापाको बुधबारे देखि पश्चिममा कञ्चनपुरको बेलौरीसम्मका ३८ जिल्लाका ११३ खानेपानी वितरण संस्था तथा उपभोक्ता समितिको बिल खल्तीबाटै तिर्न सकिने कम्पनीले जानकारी दिएको छ ।
अब ती ठाउँका बासिन्दाहरुले काउन्टरसम्म पुगी लाईन बसेर बिल तिर्ने झन्झट गर्नुपर्ने छैन । उनीहरुले खल्ती एप तथा वेबसाईटमा रहेको खानेपानीको आईकनमा क्लिक गरी आफ्नो काउन्टर छानेर ग्राहक कोड दाखिला गरी १ मिनेटमै खानेपानीको महशुल भुक्तानी गर्न सक्नेछन् । साथै, डिजिटल प्रविधिसँग अभ्यस्त भैनसकेका र स्मार्टफोन नचलाउने उपभोक्ताले आफ्नो नजिकैको खल्ती पसलमा गई सजिलै बिल तिर्न सक्नेछन् । डिजिटल भुक्तानी सेवा प्रयोग गर्दा उपभोक्ताको खानेपानी बिल तिर्न काउन्टरसम्म आउजाउ गर्दा लाग्ने समय तथा पैसा बचत हुने बताईएको छ ।
खल्तीका मर्चेन्ट एक्विजिसन हेड सचिन उदासले भने, “खल्तीको टिम आफ्नो स्थापनाको सुरुवातदेखि नै डिजिटल भुक्तानी प्रविधि मार्फत मानिसको जीवनशैली सहज बनाउनका लागि अनवरत रुपमा क्रियाशील छ । यसरी सातै वटा प्रदेशमा खानेपानी बिल भुक्तानी सेवा विस्तार गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौँ ।”
खल्तीको मोबाईल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा टिभीको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता अन्य थुप्रै सेवाहरु लिन सकिन्छ । हाल खल्ती प्रयोगकर्ताहरुको संख्या १० लाख भन्दा बढि रहेको कम्पनीले जनाएको छ ।
प्रकाशित: १७ फाल्गुन २०७६, शनिबार