अनुगमन प्रतिवेदन नै नआई डिसहोम फाइबरनेटलाई इन्टरनेट सेवा प्रदायकको लाइसेन्स

Technology Khabar १४ फाल्गुन २०७६, बुधबार

अनुगमन प्रतिवेदन नै नआई डिसहोम फाइबरनेटलाई इन्टरनेट सेवा प्रदायकको लाइसेन्स
Classic Tech

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले डिश मिडिया नेटवर्कको डिशहोम फाइबरको बारेमा अनुसन्धानको बिचमा नै इन्टरनेट सेवा प्रदायकको लाइसेन्स दिएको छ ।

डिटिएच प्रविधिमार्फत डिस होम टिभी संचालन गरिरहेको डिश मिडिया नेटवर्क लिमिटेडको बारेमा छानबिन गरिरहेको दूरसंचार प्राधिकरणले सो छानबिनको निष्कर्ष नै नआई इन्टरनेट सेवा प्रदायकको अनुमति दिएको भेटिएको छ ।

कम्पनीलाई गएको माघ २४ गतेको बोर्ड बैठकले इन्टरनेट सेवाको लागि अनुमति दिने निर्णय गरेको थियो । प्राधिकरण बोर्ड बैठकले सो कम्पनीको बारेमा भईरहेको छानबिनको प्रतिवेदन पेश हुनुभन्दा अगाडि नै लाइसेन्स दिएको प्राधिकरण स्रोतले दाबी गरेको छ ।

यसअघि दूरसंचार प्राधिकरणले नै डिशहोम फाइबरनेटको कार्यालयमा छापा हान्दै आवश्यक कागजात लिएको थियो । सो बारेमा प्राधिकरणको अनुगमन टोलीले प्रतिबेदन तयार पारिरहेको छ भने सो प्रतिवेदनको निष्कर्ष आउनु अगाडि नै डिस मिडिया नेटवर्कलाई इन्टरनेट सेवा प्रदायकको लाइसेन्स दिएको भेटिएको हो ।

यसअघि डिशहोमले अनुमति नै नलिई सेवा संचालन गरिरहेको तथा आफ्नो सेवाको प्रबद्र्धन गरेको भन्दै प्राधिकरणको टोलीले डिशहोममा छापा हानेको थियो ।

सो प्रतिबेदन अझै अध्ययनको चरणमा रहेको र बोर्डमा छिट्टै पेश हुने प्राधिकरण स्रोतले बतायो । तर सो भन्दा अगाडि नै डिसहोम फाइबरनेटले इन्टरनेट सेवा प्रदायकको अनुमति पत्र पाएको छ । यसले कतै दबाबका बिचमा अनुमति पत्र दिईएको त होईन भन्ने आशंका उब्जिएको स्रोतको भनाई छ।

प्राधिकरण स्रोतकाअनुसार डिशहोम फाइबरनेटलाई अनुमति दिन निकै समयअघिदेखि दबाब आएको थियो तर कम्पनीले नै कागजी प्रकृया समयमा मिलाउन सकेको थिएन् ।

‘डिशहोम फाइबरनेटमा प्रयोग गरिने उपकरणहरु बेच्ने एक चिनियाँ कम्पनीले पनि सो बारेमा पटक पटक बुझ्दै र चासो राख्दै आएको थियो,’ प्राधिकरण स्रोतले दाबी गर्यो । अनुगमन प्रतिवेदन नै कमजाेर बनाउन सक्ने आशंका समेत स्रोतले औंल्यायो ।

उता बोर्डका एक सदस्यले भने केहि दिनअगाडि सो कम्पनीलाई साधारण प्रकृयाअनुसार नै लाइसेन्स दिएको जिकिर गरेका थिए । ‘सो कम्पनीले यसअघि नै सेवा शुरु गर्न हतार गरेको भन्ने सुन्नमा आएको थियो त्यसैले प्रकृयाअनुसार नै लाइसेन्स दिने निर्णय गरेको हो,’ ती सदस्यले भने ।

अनुगमनको बारेमा केहि दिनभित्रै अनुगमन टोलीको प्रतिवेदन बोर्डमा पेश हुनसक्ने प्राधिकरण स्रोतले जानकारी दिएको छ ।

यो पनि पढ्नुस् –

डिसहोम फाइबरनेटमा दूरसंचार प्राधिकरणको छापा, अनुमति बिना प्रबर्द्धन गर्नु गल्ति भएको स्वीकार

प्रकाशित: १४ फाल्गुन २०७६, बुधबार

Comments are closed.

Loading...