सरकारी विद्यालयका आईटि ल्याबको अनुगमन र मूल्यांकन ढुवानी सेवा र निर्माण सेवा कम्पनीले गर्ने

Technology Khabar १२ फाल्गुन २०७६, सोमबार

सरकारी विद्यालयका आईटि ल्याबको अनुगमन र मूल्यांकन ढुवानी सेवा र निर्माण सेवा कम्पनीले गर्ने
सांकेतिक
Classic Tech

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले देशभरका ९३० वा सरकारी तथा सामुदायिक विद्यालयहरुमा स्थापना गरिने आईटि ल्याबको लागि अनुगमन गर्न परामर्शदाता छनौट गरेको छ ।

विद्यालयहरुमा स्थापना गरिने आईटि ल्याबको लागि ६ वटा कम्पनीहरु परामर्शदाताको रुपमा छनौट गरिएका हुन् । सो आईटि ल्याबको अनुगमन तथा निरिक्षणका लागि ११ कम्पनीहरुले आवेदन दिएकोमा ६ वटा कम्पनीहरु छनौट भएका छन् । छनौटमा परेका दुई कम्पनीहरुको ज्वाइन्ट भेन्चर भने निर्माण क्षेत्रमा आबद्ध कम्पनीहरुसँग रहेको देखिन्छ ।

छनौट भएका कम्पनीहरुले सातवटै प्रदेशका ९३० सरकारी विद्यालयहरुमा स्थापना भएका आईटि ल्याबको निरीक्षण, मुल्यांकन र प्रमाणिकरण गर्नेछन् । ती परामर्शदाता कम्पनीहरुले आईटि ल्याबको लागि आवश्यक उपकरणहरुको आपूर्ति, डेलिभरी, स्थापना र उपलब्धताको बारेमा प्रतिवेदन तयार पारेर दूरसंचार प्राधिकरणलाई बुझाउनेछन् ।

छनौट भएका परामर्शदाता कम्पनीहरुले २ चरणमा आईटि ल्याबको अनुगमन र मुल्यांकन गर्ने प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए ।

अहिले छनौट भएका ६ वटा कम्पनीहरुले ९३० वटै सरकारी विद्यालयको स्थलगत अनुगमन गरेर मुल्यांकन गरेको प्रतिवेदन बुझाउनेछन्, त्यसको आधारमा नै भुक्तानी हुनेछ, प्रवक्ता अर्यालले बताए ।

परामर्शदाताको रुपमा छनौट भएका सबै कम्पनीहरु ज्वाइन्ट भेन्चरमा छन तर त्यसमध्ये केहि कम्पनीहरु फरक प्रकृतिको रहेको देखिन्छ ।
छनौट भएका परामर्शदाता कम्पनीमध्ये दुईवटा ज्वाइन्ट भेन्चर कम्पनीहरु महाकाली मेची टेक्नोलोजीज एण्ड सप्लायर्स प्रालि र श्री पवन ढुवानी सर्भिसेस प्रालिको ज्वाइन्ट भेन्चर छ भने अर्को एम ईच ग्रुप अप टेक्नोलोजीज एण्ड सप्लायर्स प्रालि र कुमार श्रेष्ठ निर्माण सेवा प्रालिको ज्वाइन्ट भेन्चर रहेकोछ ।

यसमध्ये दुई कम्पनीहरु निर्माण सेवामा आवद्ध भएको उनीहरुको नामबाट नै स्पष्ट हुन्छ अर्थात निर्माण तथा ढुवानी सेवामा ती कम्पनीहरु सक्रिय भएको देखिन्छ । निर्माण क्षेत्रमा सक्रिय भएका कम्पनीहरुले कसरी सूचना प्रविधि क्षेत्रको उपकरण तथा सामाग्रीहरुको निर्माण गर्लान् त ?

यो प्रश्नको जिज्ञासामा प्राधिकरणका प्रवक्ताले नामले भन्दा पनि कम्पनीको कार्य प्रगतिद्धारा छनौट भएको जानकारी दिए ।
‘कम्पनीको नामले मात्र नभई उनीहरुले दिएको आवेदनको आधारमा मूल्यांकन समितिले छनौट गरेर सर्ट लिस्टिङ्ग गरेको हो, मापदण्डमा नपरी ती कम्पनीहरु छनौट हुँदैनन्,’ प्रवक्ता अर्यालले भने ।

प्रवक्ता अर्यालले आईटि ल्याबको निरीक्षण, अनुगमन, र मुल्यांकन गर्नको लागि करिब साढे ८ करोड रुपैयाँ बजेट रहेको जानकारी दिए ।

प्राधिकरणले यसअघि नै ३ अर्ब ४७ करोड ६९ लाख रुपैयाँमा म्याक्स इन्टरनेशनल, ओम्नी बिजनेस र नेपाल हिमा ट्रेडलिंकको ज्वाइन्ट भेन्चरलाई ठेक्का सम्झौता गरेर आईटि ल्याब स्थापनाको लागि उपकरणहरु आपूर्तिको जिम्मा दिएको थियो ।

आईटि ल्याब परियोजनाअन्तरगत छनौटमा परेका ९३० वटै सरकारी विद्यालयहरुमा कम्प्यूटर, प्रोजेक्टर सर्भिसेन्स सिस्टम, सोलार पावरसहितको ब्याकअप सिस्टम भएका आईटि ल्याब निर्माण गरिनेछ ।

परियोजनाको अनुगमन र निरीक्षणका लागि प्राधिकरणको सर्टलिस्टमा परेका कम्पनीहरुमा सिभिल इन्फोमेटिक्स एण्ड सोल्युसन, टोटल म्यानेजमेन्ट सर्भिस र स्मार्ट म्यानेजमेन्ट एण्ड रिसर्च टिम प्रालिको ज्वाइन्ट भेन्चर रहेको छ ।

यसैगरी एक्जिक्युटिभ कन्सल्टिङ इन्जिनियरिङ एण्ड प्लानर प्राइभेट लिमिटेड, महारुद्र ग्रुप प्रालिर आईटीईसीओ नेपाल प्रालिको ज्वाइन्ट भेन्चर, जियोकम इन्टरनेश्नल प्रालि, ड्राइस सोल्युसन्स प्रालि, इन्भाइरोनमेन्ट एण्ड रिसोर्स म्यानेजमेनट कन्सल्ट्यान्ट प्रालिको ज्वाइन्ट भेन्चर, ट्रेनिङ सेन्टर नेपाल प्रालि, एभरेस्ट टेलिकम एण्ड आईटी सोल्युसन्स प्रालि र माइक्रोटेक इनर्जी प्रालिको ज्वाइन्ट भेन्चर, महाकाली मेची टेक्नोलोजीज एण्ड सप्लायर्स प्रालि र पवन ढुवानी सर्भिसेज प्रालिको ज्वाइन्ट भेन्चर तथा एम-इच ग्रुप अफ टेक्नोलोजी एण्ड सप्लायर्स प्रालि र कुमार श्रेष्ठ निर्मल सेवा प्रालिको ज्वाइन्ट भेन्चर रहेका छन् ।

प्रकाशित: १२ फाल्गुन २०७६, सोमबार

Comments are closed.

Loading...