के भने सञ्चार तथा सूचना प्रविधि मन्त्रीको पदभार सम्हालेपछि अर्थमन्त्री खतिवडाले

Technology Khabar ११ फाल्गुन २०७६, आईतवार

के भने सञ्चार तथा सूचना प्रविधि मन्त्रीको पदभार सम्हालेपछि अर्थमन्त्री खतिवडाले
Classic Tech

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारी पाएका अर्थमन्त्री डा. युवराज खतिवडाले आइतबार पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण गर्दै खतिवडाले सञ्चार मन्त्रालय अन्तरगतका कर्मचारीहरुलाई ईमान्दारितापूर्वक आफ्ना काम गर्न निर्देशन दिए। अर्थमन्त्रीसमेत रहेका मन्त्री खतिवडाले सञ्चारमन्त्रीको पदबहाली गर्दै सरकारले गरेका काममध्ये राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रोभन्दा पनि जस्ताको जस्तै जनतासमक्ष पुर्याउनुपर्नेमा जोड दिए ।

उनले संविधान कार्यान्वयनसँगै मुलुकलाई आर्थिक, सामाजिक र सांस्कृतिक विकासको बाटोमा अगाडि बढाउन सरकार र आमसञ्चार माध्यमबीचको सहकार्यको आवश्यकता रहेको बताए ।

‘सञ्चारसम्बन्धी केही विधेयक निर्माण प्रक्रियामै छन्, त्यसलाई छलफल गरेर मात्र ल्याइनेछ, सङ्घीयताको पूर्ण कार्यान्वयनसँगै लोकतन्त्रलाई बलियो बनाउन पनि सरकार र सञ्चारमाध्यमबीच सहकार्य हुन आवश्यक छ, ’मन्त्री डा खतिवडाले भने । उनले आम नागरिकप्रति मर्यादित र उत्तरदायी हुँदै सत्यतथ्य समाचार मात्र प्रकाशन/प्रसारण गर्न पनि सञ्चारमाध्यमलाई अपिल गरे ।

उनले समृद्धिका लागि नागरिक उत्पादक हुनुपर्छ भन्दै उत्पादक र सबलीकृत नागरिक बनाउन प्रविधिमा पहुँच महत्वपूर्ण हुन्छ, सूचना प्रविधिका माध्यमबाट राज्यका अङ्गलाई पारदर्शी बनाउनुपर्ने बताए।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रक्रियामा कमिशनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि यसअघिका संचार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले विहिबार राजीनामा दिएका थिए ।

*हेडलाइन सम्पादन

प्रकाशित: ११ फाल्गुन २०७६, आईतवार

Comments are closed.

Loading...