विद्युत प्राधिकरणले अप्टिकल फाइबर पनि भूमिगत गर्ने, पहिलो चरणमा यी स्थानहरुमा तार बिछ्याईने

Technology Khabar ५ फाल्गुन २०७६, सोमबार

विद्युत प्राधिकरणले अप्टिकल फाइबर पनि भूमिगत गर्ने, पहिलो चरणमा यी स्थानहरुमा तार बिछ्याईने
Classic Tech

काठमाडौ । नेपाल विद्युत प्राधिकरणले विद्युतीय तारसँगै अप्टिकल फाइबर पनि भूमिगतरुपमा बिछ्याउने भएको छ । काठमाडौं उपत्यकाकाभित्र तारहरु भूमिगत गर्ने कार्यको औपचारिक उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रमका बिच गरे ।

विद्युत प्राधिकरणले विद्युतका तारहरुका साथसाथै इन्टरनेट तथा दूरसंचार सेवामा प्रयोग हुने अप्टिकल फाइबर पनि भूमिगत गर्नेछ । पहिलो चरणमा विद्युत प्राधिकरणले महाराजगञ्ज र रत्नपार्क क्षेत्रका विद्युतिय तारहरुका साथै अप्टिकल फाइबर पनि भूमिगतरुपमा बिछ्याउने भएको हो ।

विद्युतीय तारसँगै अप्टिकल फाइबर बिछ्याउने हुँदा विद्युत प्राधिकरणले सरकारको डिजीटल नेपालको अवधारणालाई साकार पार्न मद्धत पुग्ने बताएको छ ।

महाराजगञ्ज बितरण केन्द्र अन्तरगत बालुवाटार, बुढानिलकण्ठ, टोखा महाराजगञ्ज लगायतका स्थानहरुमा करिब २५० किलोमिटर अप्टिकल फाइबर भूमिगत बिछ्याईने जानकारी दिएको छ । त्यसैगरि रत्नपार्क बितरण केन्द्र अन्तरगतका क्षेत्रहरु रत्नपार्क, न्यूरोड, अनामनगर, त्रिपुरेश्वर, सिंहदरबार, लाजिम्पाट, एयरपोर्ट, चाबहिल जोरपाटीलगायतका स्थानहरुमा करिब २०० किलोमिटर अप्टिकल फाइबर भूमिगत बिछ्याईने जानकारी दियो ।

दोश्रो चरण अन्तर्गत काठमाडौका बांकी भाग, ललितपुर र भक्तपुरका मुख्यमूख्य सडकमा तार भूमिगत गर्नको लागि वोलपत्रको विभिन्न चरणमा रहेको छ । साथै पोखरा, भरतपुर लगायतका देशका मुख्य मुख्य शहरहरुमा समेत भूमिगत तार विछ्याउनको लागि सर्भेक्षण कार्य थालनी गरिएको बताएको छ ।

ती स्थानहरुमा ११ हजार भोल्टेज तथा ४०० भोल्टेजको भूमिगत विद्युतीय तारहरु बिछ्याईनेछ ।

प्राधिकरणले विधुतीय तारसँगै अप्टिकल फाइबर बिछ्याउने हुँदा इन्टरनेट, दूरसंचार, केबल टेलिभिजन सेवा प्रदायकहरुले उक्त अप्टिकल फाइबर प्रयोग गरी सेवा प्रदान गर्न सक्ने तथा यसले नेपाल सरकारकोडिजीटल नेपालको अवधारणालाई साकार पार्न मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ । भविष्यको मागको सम्बोधन हुने गरी अप्टिकल फाइबर थप गर्न सक्ने प्रावधान राखी संरचना तयार गरिने विद्युत प्राधिकरणको भनाई छ।

भूमिगत कार्य गर्दा सडकमा न्यूनतम क्षति हुने गरी परम्परागत तरिकाबाट सडक नखनी सम्भब भएसम्म Horizontal Directional Drilling प्रबिधि प्रयोग गरिने छ। साथै सडक पेटी प्रयोग गर्न मिल्ने ठाउँमा सडक पेटीको प्रयोग गरिने छ । सडक आवागमन तथा पैदल यात्रीहरुलाई असर नपर्ने गरी रातको समयमा कार्य गर्ने व्यवस्था मिलाईने छ भने सडक खन्दा पर्न जाने असुविधाको न्यूनीकरण गरी क्षति पुगेको सडकको बढीमा १० दिन भित्र पुनर्स्थापना गरिने प्राधिकरणको भनाई छ ।

उक्त कार्यका लागि निर्माण व्यवसायी केईआई इन्डस्ट्रिज लिमिटेड सँग मार्च २०१९ मा ठेक्‍का सम्झौता भई अक्टोबर २०२१ सम्ममा कार्य सम्पन्‍न गर्ने लक्ष्य रहेको छ । एसियाली विकास बैंकको सहुलीयतपूर्ण ऋण र नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा संचालित यस आयोजनाको कूल ठेक्‍का सम्झौता रकम करिव रु ७ अर्ब रहेको विद्युत प्राधिकरणले जानकारी दिएको छ।

प्रकाशित: ५ फाल्गुन २०७६, सोमबार

Comments are closed.

Loading...