नाट्टा गण्डकी प्रदेशमा सञ्जयकान्त सिग्देलको अध्यक्ष्यतामा नयाँ कार्यसमिती निर्वाचित

Technology Khabar ५ फाल्गुन २०७६, सोमबार

नाट्टा गण्डकी प्रदेशमा सञ्जयकान्त सिग्देलको अध्यक्ष्यतामा नयाँ कार्यसमिती निर्वाचित

काठमाडौं । ट्राभल व्यवसायीको छाता सङ्गठन नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको ११औँ अधिवेशनले सञ्जयकान्त सिग्देललाई अध्यक्षमा निर्वाचित गरेको छ ।

शनिबार सम्पन्न अधिवेशनमा सिग्देलले प्रतिस्पर्धी झवि अधिकारीलाई २० मतले पछाडि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् । एक सय ८१ जना मतदाता रहेकामा झविले ७० मत प्राप्त गरेका छन् भने सिग्देलले ९० मत प्राप्त गरेर निर्वाचित भए। अधिवेशनबाट प्रथम उपाध्यक्षमा हरिराम अधिकारी, द्वितीय उपाध्यक्ष किशोर दाहाल, महासचिवमा कमला गिरी, सचिवमा सङ्गीता पौडेल, कोषाध्यक्षमा राजेश पहारी र सहकोषाध्यमा नवराज भण्डारी विजयी भएका छन् ।

त्यसैगरी सदस्यमा सुवास पहारी, तराप्रसाद गौतम, सन्दिप श्रेष्ठ, सुशीला सिग्देल र खिमबहादुर नेपाली विजयी भइका छन् । पन्ध्र सदस्यीय कार्यसमितिमा पदाधिकारीसहित तीन महिला निर्वाचित भएका छन् ।

यसअघि सम्पन्न २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको थियो । शनिवार पोखरा स्थित टिका रिसोर्टमा आयोजित सो साधारण सभामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले सरकारले हवाई ईन्धनको मूल्य घटाएपनि वायुसेवा कम्पनीहरुले भने हवाई भाडा नघटाएको गुनासो गरे ।

उनले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार भएको भएपनि त्यो सर्वसाधारण र ग्राहकहरुलाई फाईदा हुने गरि जानुपर्ने बताए ।
‘सरकारले एयर फ्यूल चार्ज घटायो तर त्यो घटेको मूल्यअनुसार वायुसेवा कम्पनीहरुले भने टिकट दर घटाएनन्, त्यो कस्टमरसम्म पुगेन्,’ सचिव अधिकारीले भने ।

उनले आगामी दिनमा अझ हवाई ईन्धनको मूल्य घटाउन प्रयास गर्ने भन्दै पूर्वाधारमा समेत जोड दिईरहेको बताए । उनले पछिल्लो दिनमा कोरोनाभाईरसका कारण पर्यटन क्षेत्र समस्यामा परेको भन्दै त्यसमा सरकारले ध्यान दिईरहेको बताए ।

‘हामीजस्तो सानो मुलुकले हवाई उडान नै रोक्नु हुँदैन्, त्यसले अर्थतन्त्रमा नै असर पर्नेछ, तर सरकारले त्यसलाई नजिकबाट निगरानी गरिरहेकोछ, उनले भने ।

पर्यटन सचिव अधिकारीले स्थानिय हवाई कम्पनीहरुको क्षमता अभिवृद्धि गरिनुपर्ने भन्दै सातै प्रदेशलाई एक आपसमा जोड्न काम अगाडि बढाईरहेको जानकारी दिए । अहिलेका पर्यटकिय क्षेत्रहरुमा भन्दा बाहिर थप स्थानहरुमा पर्यटकिय विकास गर्ने सरकारको योजना रहेको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले पोखरालाई पर्यटकिय नगरीको रुपमा थप विकास गर्न पर्यटन व्यवसायीहरुसँग मिलेर काम गर्ने बताए । उनले पोखरामा पर्यटक बस पार्क बनाईरहेको र त्यो केहि समयमै तयार हुने अवस्थामा रहेको जानकारी दिए ।

‘ट्राभल र टूर बसको स्तरीकरण गरिनुपर्दछ, अहिले हेर्दा नगरबसमा पनि पर्यटक बस भनेर लेख्ने जस्तो अबस्था आएकोछ,’ पोखरा महानगरपालिकाका मेयर जिसीले भने ।

मेयर जिसीले पोखरामा नयाँ पर्यटन पूर्वाधार विकास गर्ने प्रयास गरिरहेको भन्दै त्यसको प्रबद्र्धनमा सहयोग गर्न आग्रह गरेका थिए ।
नाट्टा गण्डकी प्रदेशको वार्षिक साधारण सभामा बोल्दै नाट्टा केन्द्रका अध्यक्ष अच्युत शर्मा गुरागाईँले पर्यटन पूर्वाधार विकास गर्न र पर्यटकिय क्षेत्रमा सुविधा पुर्याउन सरकारसँग आग्रह गरे ।

पर्यटकिय क्षेत्रमा पूर्वाधार विकास गर्नुपर्ने अत्यन्त आवश्यक रहेको छ, हामी आगामी वर्ष बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट गर्ने तयारीमा छौं तर अझै बाटोको अवस्था नाजुक छ, उनले भने ।

त्यसैगरि अध्यक्ष गुरागाईँले माइस टूरिजमको विकास गर्न र अन्तराष्ट्रिय स्तरको सेमिनारहरु गर्न सेमिनार हलको अभाव रहेको भन्दै सरकारले जग्गा दिन निजी क्षेत्र बनाउन तयार रहेको स्पष्ट पारे । उनले कनेक्टिभिटी बढाउनुपर्ने भन्दै सरकारले पर्यटकिय क्षेत्रहरुमा कनेक्टिभिटी बढाउनुपर्नेमा जोड दिए ।

प्रकाशित: ५ फाल्गुन २०७६, सोमबार

Comments are closed.

Loading...