क्यान इन्फोटेक उद्घाटन गर्दै संचार मन्त्रीको आरोप- निजी क्षेत्रबाटै सूचना प्रविधि ऐनको विरोध भयो

Technology Khabar ३ फाल्गुन २०७६, शनिबार

क्यान इन्फोटेक उद्घाटन गर्दै संचार मन्त्रीको आरोप- निजी क्षेत्रबाटै सूचना प्रविधि ऐनको विरोध भयो

काठमाडौं ।

काठमाडौं । कम्प्युटर एशोसियसन नेपाल (क्यान महासंघ) ले हरेक वर्ष आयोजना गर्दै आइरहेको क्यान इन्फोटेक २०२० आजबाट औपचारिक शुरु भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै संचार तथा सूचना प्रबिधि मन्त्री बाँस्कोटाले क्यान इन्फोटेकको उद्धघाटन भ्यालेन्टाइन डे को दिन भएको र आज सरकार तथा निजी क्षेत्रको पनि प्रेम दिवस रहेको बताए । उनले आफुले आईटि क्षेत्रमा लाग्नेहरु अल्मलिएको जस्तो देखेको बताए ।

क्यान इन्फोटेक २०२० को उद्घाटन एक रोबोटले गरेको हो जसलाई संचार तथा सूचना प्रबिधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले मोवाइलको स्क्रिन मार्फत कन्ट्रोल गरेका थिए ।

आईटी क्षेत्रको उदेश्य प्रविधिको बिकास र पहुच, प्रविधिको हस्तान्तरण, गरिवी र प्रविधिको खाडल पुर्ने रहेता पनि यसलाई कानुनी प्रवर्धन गर्न कानुनको आवश्यक्ता र यसमा हुने कारोवारहरुको, व्यवहारहरुको र टेक्नोलोजीहरुको सुरक्षाको प्रवन्ध हुनु पर्ने कि नपर्ने हो भन्दै मन्त्री बाँस्कोटाले प्रश्न गरे ।

उनले भने, ‘ईपेमेन्ट र गेटवे जस्ताको कार्यान्वायन बिना कानुन हुने हो भने यसमा हुने बेइमानीमा को जवाफदेहि हुने, यसलाई कुन कानुन अन्तर्गत कारवाही, सजाय वा वैधता प्रदान गर्ने, यहि कुरापनि नहुने हो भने कानून नै चाहिँदैन । यसमा रहेको एउटा जरिवानाको कुुरामा बहस भईरहेका छन्।’

उनले अहिले अभिव्यक्ति स्वतन्त्रता भनेर यसरी नै कराउने तर डिजिटल क्षेत्रमा हुन लागेको सुशासन, पारदर्शिता, यसले पाउने बैधता डिजिटल कारोवार ऐन पास नभए कहिल्यै नहुने दाबी गरे ।

उनले थपे, ‘ आजकल एउटा रमाइलो छ अरुलाई जिस्काउन पाइने, हैरानी गर्न पाउने, यो कस्तो कल्चर, आफ्नालाई हैरानी गरे त ठिक छ तर अरुलाई हैरानी गर्ने हो भने दण्ड सजायको के काम ।’ उनले सरकारले यस क्षेत्रमा हुने अपराधलाई रोक्न कानुन बनाउन पनि नपाइने भए यसलाई यतिकै छोड्दिउँ जस्को जे हुन्छ हुन्छ भन्दै आक्रोश समेत पोखे ।

मन्त्रि बास्कोटाले कानुनको आवस्यकता अपराधहरुलाई दायरामा ल्याउन, निमुखालाई सुरक्षित गर्न र कानुन व्यापार र यससँग सम्वन्धित विषयलाई सहजिकरण वा पारदर्शिता स्थापना गर्न कानुनको आवश्यकता रहेको बताए ।

यसमा कसैकसैले क्यानलाई समेत उक्साएर वक्तव्यबाजी जारी गर्ने गरेको उनले आरोप समेत लगाए ।

बाँस्कोटाले सरकारले ल्याउन लागेको सूचना प्रविधि विधेयकले यस क्षेत्रमा सुशासन ल्याउने बताए। विधेयकले सामाजिक सञ्जालदेखि सूचना प्रविधि व्यवसायको व्यवस्थापन गर्ने उद्देश्य राखेकाले यसले मुलुकलाई ‘डिजिटल इकोनोमी’ बनाउन सहयोग गर्ने बताए ।

सूचना प्रविधि क्षेत्रमा सुशासन देख्न नचाहनेले विधेयकको विरोध गरेको समेत उनले आरोप लगाए । ‘सूचना प्रविधि क्षेत्रको विकास चाहने निजी क्षेत्रले नै यसको विरोध गरेको भेटियो,’ मन्त्री बाँस्कोटाले भने, ‘मुलुकलाई ‘डिजिटल इकोनोमी’ मा रुपान्तरण गर्ने उद्देश्य राख्ने निजी क्षेत्रले यस विधेयकलाई गलत तरिकाले व्याख्या गरेका छन् ।’

मन्त्री बाँस्कोटाले सूचना प्रविधि विधेयक विद्युतीय कारोबार ऐन भन्दा पनि खुकुलो भएको दाबी गर्दै डिजिटल सुशासन हुन नदिनेले यसको विरोध गरेको आरोप लगाए । विधेयकले डिजिटल सुशासनको प्रबन्ध गर्ने उनको दाबी थियो ।

उद्घाटन सत्रमा बोल्दै क्यान महासंघका अध्यक्ष नवराज कुँवरले क्यान महासंघले विगतदेखि अन्य सरोकारवालासँग सहकार्य गर्दै आएको भन्दौ अगामी दिनमा पनि सहकार्य गर्न तयार रहेको बताए ।

अध्यक्ष कुँवरले सरकारले अघि सारेको डिजिटल नेपालको फ्रेमवर्कलाई सघाउन  महासंघ जुनसुकै काम गर्न तयार रहेको बताए । नेपालमा सूचना प्रविधि क्षेत्रको विकास भइरहेको भन्दै यसलाई तल्लो स्तरबाट पुर्याउन सूचना प्रविधि शिक्षालाई विद्यालय तहदेखि नै अनिवार्य गर्न आवश्यक रहेको उनले बताए ।

यो वर्षको क्यान इन्फोटेकमा आविष्कार र नवीनतम् सोच भएका व्यवसायलाई प्राथमिकता दिएको उनको धारणा थियो ।

प्रदर्शनीमा प्रविधि कम्पनीको उत्पादनसहित ब्राण्डलाई समेट्ने गरी व्यवस्थापन गरिएको क्यान महासंघका महासचिव नारायण थापाले बताए ।

योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले सुखी नेपाली र समृद्ध नेपाल बनाउन सरकारले राखेको १० उद्देश्यमध्ये कनेक्टिभिटी एक भएको भन्दै सूचना प्रविधि क्षेत्रको विकासको लागि आवश्यक सहयोग सरकारले गर्ने बताए ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले डिजिटल नेपालको फ्रेमवर्कलाई सघाउन गरी विभिन्न कार्यक्रम अगाडी बढेको जानकारी गराए ।

शुक्रबारदेखि सुरु भएको नेपालकै ठूलो प्रविधि प्रदर्शनी क्यान इन्फोटेकमा मोबाइल र ब्रोडव्यान्डलाई छुट्टै पभेलियनमा राखिएको छ ।

इन्फोटेक बुधबारसम्म चल्ने छ । सूचना, प्रविधि र मनोरञ्जनसम्बन्धी प्रदर्शनी तथा सम्मेलनको यो २६ औं संस्करण हो । प्रदर्शनीमा १ सय ८६ वटा स्टल राखिएका छन् । प्रदर्शनीमा स्टार्टअप, इनोभेटिभ सोच तथा सूचना प्रविधी (आइसिटी) पढाइ हुने कलेजका बिशेष प्रोजेक्टहरुलाई बिशेष पभेलियन उपलब्ध गराइएको छ ।

गत वर्ष करिब ३ लाख ७६ हजारभन्दा धेरैले अवलोकन गरेको यस प्रदर्शनीमा यो वर्ष ४ लाखभन्दा धेरै अवलोकनकर्ता आउने विश्वास आयोजकको छ । यस पटकको मेलामा प्रवेश टिकटलाई प्रभु पेबाट पनि खरिद गर्न सकिने आयोजकले जानकारी दियो ।

यो वर्षदेखि क्यान इन्फोटेकलाई प्रदेश र नेपालका मुख्य सहरमा विस्तार गर्ने आयोजकले जनाएको छ । यसअन्तर्गत प्रदेश १ को इटहरी, प्रदेश २ को वीरगञ्ज, बागमति प्रदेशको चितवन र प्रदेश ५ को वुटवलमा क्यान इन्फोटेक सम्पन्न भइसकेको क्यान महासंघले जनाएको छ । यही वर्ष प्रदेश ५ को नेपालगञ्ज र कर्णाली प्रदेशको सुर्खेत तथा सुदुरपश्चिम प्रदेशको धनगढीमा क्यान इन्फोटेक आयोजना हुँदैछ ।

क्यान इन्फोटेकमा अबलोकनकर्ताले एनसेलबाट १ रुपैयाँमा सिम, १० मिनेटको निःशुल्क टक टाइम र १० वटा एसएमएस निःशुल्क प्राप्न गर्न सक्नेछ्न । यसका साथै अबलोकनकर्ताले ३ दिनको लागि २ जीबी डाटा निःशुल्क प्राउनेकुरा क्यान महासंघ ले जनाएको छ । एनसेलले एप डाउनलोडको लागि डाउनलोड बुथमा निःशुल्क वाईफाई, फोरजी स्पिड टेस्ट जोन साथै अवलोकनकर्ताले भीआर गेमहरुको मजा लिन गेम जोन आदि अफर रहेको आयोजकले जानकारी दिएको छ ।

easy care

प्रकाशित: ३ फाल्गुन २०७६, शनिबार

ताजा समाचार