Technology Khabar २७ माघ २०७६, सोमबार
काठमाडौं ।
काठमाडौं । भारतका चर्चित व्यवसायी अनिल अम्बानीको नाम कुनैबेला विश्वका धनी ब्यक्तिहरुको नामको श्रेणीमा आउने गर्दथ्यो । तर हाल उनी आफैँले आफुलाई कंगाल साबित गर्नु परेको छ ।
हालै उनका वकिलले लन्डनको एक अदालतमा अम्बानीको सबै कुरा तहसनहस भएको र अव उनी धनी व्यक्ति नरहेको बताएका छन्।
वास्तवमा लन्डनको एक अदालतमा चीनको एक बैंकको भारु ४,७६० करोड रुपैयाँ कर्जासँग जोडिएको एक मुद्धाको सुनुवाइका बिच अम्बानीका वकिलले यस्तो कुरा बताएका हुन् । उनले भारतको टेलिकम इन्डस्ट्रीमा भईरहेको उथलपुथलका कारण अम्बानीको सबै सम्पत्ति सकिएको र हाल उनीसँग कुनैपनि प्रकारका सम्पत्तिको स्रोत र सम्पत्ति नरहेको प्रस्ट पारेका छन् ।
यस मुद्धाको सुरुवात अम्बानी विरुद्ध तीन चिनियाँ बैँकले लन्डनको अदालतमा ६८० मिलियन डलरको कर्जा नतिरेको भन्ने कुराबाट शुरु भएको हो । यी बैँकहरुले अम्बानीको कम्पनी रिलायन्स कम्युनिकेशन्सलाई ९२५.२० मिलियन डलर ऋण दिएका थिए । उक्त समयमा अम्बानीले सो कर्जा चुक्ता गर्ने बारेमा पर्सनल ग्यारेन्टी दिएका थिए । तर उनको कम्पनीले ऋण तिर्ने निर्धारित समयमा ऋण तिर्न नसकेको हो ।
हाल अम्बानीले बैँकहरुलाई कुनैपनि प्रकारको ग्यारेन्टी प्रदान गर्न नसक्ने बताएका छन् । गएको वर्ष लन्डन हाईकोर्टको कमर्शियल डिभिजनले अम्वानीका बिरुद्ध सशर्त फैसला सुनाएको थियो । हाल अम्वानीका कानुनी सल्लाहकार उनको नेटवर्थलाई शुन्य साबित गर्न लागिपरेका छन्। उनका वकिल रोर्बट रावले कोर्टमा २०१२ मा रहेको ७०० करोड डलरको लगानी हाल घटेर ८.९ करोड डलर भएको दाबी गरेका छन्।
रावले अम्बानीको नेटवर्थ शुन्य रहेको बताएका छन् । यद्पी यस्तो दाबीका बिच विपक्षी वकिलले भने अम्बानी आलिसान तरिकाले बाँच्ने मानिस रहेको र उनिसँग हाल ११ प्राइभेट लग्जरी कारहरु, एक प्राइभेट विमान, याट बाहेक एक विलासी पेन्टहाउस रहेको बताएका छन् ।
यसबिचमा बैँकका वकिलहरुले अम्बानीका भाई मुकेश अम्बानी एसियाको सबैभन्दा धनी व्यक्ति रहेको र उनी फोर्ब्सको सूचीमा पनि विश्वको १३औँ धनि व्यक्ति रहेको बताएका छन्। उनको अनुमानित नेटवर्थ ५५ देखि ५७ अर्ब डलर रहेको बताएका छन् ।
प्रकाशित: २७ माघ २०७६, सोमबार