फेसबुकले नेपालमा दर्ता गर्न सोधखोज गर्दै, सामाजिक संजाल विज्ञापन भुक्तानी बारे छिटै निर्णय हुने

Technology Khabar २२ माघ २०७६, बुधबार

फेसबुकले नेपालमा दर्ता गर्न सोधखोज गर्दै, सामाजिक संजाल विज्ञापन भुक्तानी बारे छिटै निर्णय हुने
Classic Tech

काठमाडौं । सामाजिक संजाल फेसबुकले नेपालमा दर्ता गर्न चाहेको जानकारी सार्वजनिक भएको छ । फेसबुकले नेपालमा दर्ता गर्नका लागि नेपाल राष्ट्र बैंकमा अनौपचारिकरुपमा कुराकानी गरेको जानकारी राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक बम बहादुर मिश्रले फेसबुकले नेपालमा दर्ता गर्ने बारेमा जानकारी लिएको र त्यसको बारेमा कुनै नीति नियम भएको नभएको बारेमा जानकारी लिएको बताएका हुन् ।

उनले मौद्रिक नीतिको कार्यान्वयनको अवस्थाको बारेमा आयोजित अन्तरक्रिया कार्यक्रममा सामाजिक संजाल फेसबुकलगायतलाई नेपालमा नै दर्ता गर्ने बारेमा सूचना प्रविधि विधेयकमा उल्लेख भएको र दर्ता भएमा सहज हुने बताए ।

‘मैले थाहा पाएसम्म फेसबुकका प्रतिनिधी साथीहरु आएर दर्ता गर्ने बारेमा साेध्नु भएको छ र उनीहरुले केहि नियम कानून भए त्यसमा टेकेर दर्ता गरेर कार्यालय चलाउँछौं भनेर लबिङ्ग गरेका छन्,’ उनले भने, ‘हामीले सामाजिक संजालमा विज्ञापन रोक्ने भनेको होईन् । विदेशी मुद्राबाट भुक्तानी हुन्छ भने हामीले औपचारिक च्यानलबाट मात्र कारोबार गर भनेको हो ।’

उनले आईटिका विद्यार्थीहरुले नेपालमा नै काम गरेर डलरमा आम्दानी गर्ने गरेको सूचना प्राप्त भएको तर डलरमा सो रकम नआएको बताए । त्यसैगरि यूट्यूबबाट आर्जन गर्ने रकम पनि औपचारिक च्यानलबाट नआएको उनको भनाई थियो ।

नेपालबाट फेसबुकलगायतका सामाजिक संजालमा ५ अर्ब रुपैयाँको ब्यापार भएको भन्दै अन्य भुक्तानीहरुमा पनि आधिकारीक किसिमले मात्रै भुक्तानी गर्नुस भनेको स्पष्ट पारे ।

‘उनले भने फेसबुक बुस्ट गर्न रोकेको होईन्, यदि कसैले त्यस्तो गर्नुहुन्छ भने औपचारिक च्यानलबाट मात्र गर भनेको हो,’ उनले भने ।

कार्यकारी निर्देशक मिश्रले आगामी केहि साताभित्रै यसको समाधान र नियमनको बारेमा विस्तृतमा निर्णय लिने जानकारी दिए ।

यसबाहेक उनले चिनियाँ भुक्तानीहरुको लागि अलि पे र वी च्याटले पनि नेपालमा बैकिंग च्यानलबाट कारोबार गर्नेगरि भुक्तानीको स्वीकृती पाएको बताए । वी च्याटले एनएमबी बैंकबाट भुक्तानीको स्वकृति पाएको र अलि पेको भने अझै निर्णय नभईसकेको जानकारी दिए ।

यसअघि अन्तरक्रियामा बोल्दै राष्ट्र बैंकका गर्भनर डा. चिरन्जिवी नेपालले वित्तीय क्षेत्र परिवर्तन हुँदै गएको र यसलाई प्रविधिले असर पारेको बताए ।

‘अर्थतन्त्रलाई सहजीकरण गर्न वित्तीय स्थाईत्व कायम गर्ने आधारशिलामा फिनटेक ठूलो च्यालेन्ज हो र यसलाई कसरी लाने भन्ने बारेमा हेर्नुपर्दछ,’ गर्भनर नेपालले भने ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका कार्यकारीणी सदस्य सौरभ ज्योतीले डिजिटल ईकोनोमीमा जाँदै गरेको तर उद्योग व्यवसायीहरुले सामाजिक संजालहरुमा गरिने प्रबद्र्धनको कार्य भने बन्द गर्ने सूचना निकालेको गुनासो गरे ।

‘अनलाइन र सामाजिक संजालमा प्रवद्र्धन गर्ने कार्य रोकिएको छ, यसलाई रोक्दा अर्थतन्त्र रोकिने र कुन च्यालनबाट जाने हो त्यो तुरुन्तै जार्नुपर्ने छ,’ व्यवसायी ज्योतीले भने ।

त्यसैगरि क्यान महासंघका पूर्व अध्यक्ष विनोद ढकालले पनि सफ्टवेयर बिक्रीमा आर्जन गरिने विदेशी मुद्रा भित्र्याउने सीमा बढाउनुपर्ने भन्दै सामाजिक संजालमा गरिने विज्ञापन र प्रबद्र्धनको लागि आधिकारीक च्यानल कसरी खोल्ने भन्ने बारेमा स्पष्ट पार्नुपर्ने बताए ।

यो पनि हेर्नुस्-

फेसबुक, गूगललगायतमा विज्ञापन गर्नु गैरकानुनी, विज्ञापन गरे मुद्रा अपचलनको कारबाही

प्रकाशित: २२ माघ २०७६, बुधबार

Comments are closed.

Loading...