सीजि कम्युनिकेशनको लिमिटेड मोबिलिटीको लाइसेन्स रद्ध, तोकिएको समयमा नवीकरण नै गरेन

Technology Khabar २१ माघ २०७६, मंगलवार

सीजि कम्युनिकेशनको लिमिटेड मोबिलिटीको लाइसेन्स रद्ध, तोकिएको समयमा नवीकरण नै गरेन

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणबाट सी.जि. कम्युनिकेशन प्रालिले लिएको लिमिटेड मोबिलिटी सर्भिसको लाइसेन्स रद्ध भएको छ ।

दूरसंचार प्राधिकरणले आज सार्वजनिक सूचना जारी गर्दै सीजि कम्युनिकेशनको लिमिटेड मोबिलिटी सर्भिस बेस्ड अन वायरलेस टेलिकम्युनिकेसन्स(Limited Mobility Service Based on Wireless Telecommunications) सेवाको अनुमतिपत्र स्वतः रद्ध भएको जानकारी दिएको हो ।

कम्पनीले सो सेवाको अनुमतिपत्र नवीकरणका लागि नियमानुसार नवीकरणका दस्तुरसहित निवेदन पेश नगरेको हुँदा ती अनुमतिपत्रहरु स्वत रद्ध भएको हो । सीजिको ती लाइसेन्स माघ १९ गतेदेखि लागूहुनेगरि रद्ध भएको हो ।

यसअघि तत्कालिन समयमा एस. टि. एम. टेलिकम संचारको नाममा कम्पनीले लिमिटेड मोबिलिटीको अनुमति पत्र लिएको थियो । कम्पनीले विभिन्न ४१ जिल्लामा सेवा संचालन गर्नेगरि सो अनुमति पत्र लिएकोमा यसअघि नै ३५ जिल्लाका अनुमतिपत्रहरु रद्ध भईसकेको र बाँकी जिल्लाहरुमा रहेको लिमिटेड मोबिलिटीको अनुमतिपत्र रद्ध भएको प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले जानकारी दिए ।

‘सीजिको लिमिटेड मोबिलिटीको अनुमतिपत्र नवीकरण गर्न निवेदन नदिएको हुँदा ऐनअनुसार स्वत: रद्ध भएको हो, कम्पनीको ग्रामीण दूरसंचार सेवाको लाइसेन्स भने यथावत नै छ,’ उनले भने ।

कम्पनीले २०६६ माघ १९ गते बाग्लुङ्ग, पाल्पा, कन्चनपुर, डडेलधुरा र बैतडीका लागि अनुमतिपत्र लिएको थियो ।

सीजिले मोबाइल सेवा संचालनको लागि यूनिफाईड लाइसेन्स लिन समेत प्राधिकरणमा निवेदन दिएको छ ।

प्रकाशित: २१ माघ २०७६, मंगलवार

Comments are closed.

Loading...