क्यान इन्फोटेक २०२० को तयारी पुरा, प्रर्दशनीमा ई-स्पोर्टस् च्याम्पियनसीप जित्नेलाई रु.१ लाख

Technology Khabar १५ माघ २०७६, बुधबार

क्यान इन्फोटेक २०२० को तयारी पुरा, प्रर्दशनीमा ई-स्पोर्टस् च्याम्पियनसीप जित्नेलाई रु.१ लाख

काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले आयोजना गर्ने  सुचना प्रविधिसँग सम्वन्धित प्रर्दशनी क्यान इन्फोटेक २०२० को तयारी अन्तिम चरणमा पुगेको छ ।

महासंघले आज पत्रकार सम्मेलन गर्दै तयारी अन्तिम चरणमा रहेको जानकारी दिएको हो । प्रर्दशनीको यो २६औ संस्करण हो र यो आगामी फागुन २२ गते देखी ७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा चल्नेछ ।

इन्फोटेकमा स्टार्टअप आइडिया तथा प्रोजेक्ट प्रतिस्पर्धा, जुनियर इन्नोभेटर प्रर्दशनीका साथसाथै रोबोवार्स, अक्वाबोट, पुसबोट, ड्रोन डान्सिङ र रोबोट रेसजस्ता प्रतिस्पर्धाहरु आयोजना हुनेछन् । जसमा हरेक प्रतिस्पर्धाका बिजेताले आर्कपक उपहार पाउने क्यानले जनाएको छ ।

इन्फोटेकको उद्घाटन रोबोट र ड्रोनको प्रर्दशनबाट हुने तथा यसपाली प्रर्दशनीमा गेमिङ जोनपनि रहनेछ जुन प्रर्दशनीको मुख्य आर्कषण रहेको क्यानले जानकारी दिएको हो ।

सो अवसरमा गेमिङ्ग पार्टनर ओसियनले क्यान महासंघसँग मिलेर ई–स्पोर्टस् च्याम्पियनसीप प्रतियोगिता आयोजना गर्ने छ जसमा डोटा टु तथा सीएस गो जस्ता टीम वर्क आवश्यक पर्ने लोकप्रिय खेल खेलिने छन् । दुवै प्रतियोगिता नकआउट शैलीमा खेलिने छन् भने उत्कृष्ट ८ टीमले इन्फोटेकमा हुने प्रतिस्पर्धामा भाग लिन पाउने छन् । साथै बिजेताहरुले प्रमाणपत्र सहित रु. १ लाख नगद पुरस्कार पनि प्राप्त गर्ने बताईएको छ ।

क्यान इन्फोटेक २०२० ले सुचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापनागर्ने अभुतपुर्व अवसर प्रदान गर्ने क्यान महासंघका अध्यक्ष नवराज कुँवरले पत्रकार सम्मेलनमा जानकारी दिए ।

इन्फोटेकले यसवर्ष इनोभेशन एक्पोजसरलाई पनि प्राथमिकतामा राखेको छ । यसको उदेश्य सुचनाप्रविधि तथा इञ्जिनियरिङका बिद्यार्थीहरुको क्षमता बिकाश गर्नु, उनिहरुको आइडियालाई प्लेटफर्म प्रदान गर्नु, इनोभेटिभ आइडियालाई ब्यवसायमा बदल्न मदत गर्नु र व्यबहार उपयोगी शिक्षा दिनु आदी हुन् ।

यस पटकको क्यान इन्फोटेकमा विभिन्न अन्तर्राष्ट्रिय मोबाइल कम्पनीहरुले आफ्ना ब्राण्ड तथा उत्पादनको प्रदर्शनी तथा आकर्षक छुटमा बिक्री समेत गर्नेछन् ।

अपरेटिङ सिष्टम सफ्टवेयर, नेटवर्किङ सोल्युशन, मोबाइल फोन तथा सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरु पनि प्रदर्शनीमा राखिने छन् ।

त्यसैगरी, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सेल्फ लर्निङ सफ्टवेयर तथा ट्युटोरियल आदि पनि मेलामा रहने क्यान महासंघका महासचिव नारायण थापाले जानकारी दिए ।

प्रदर्शनीमा प्रभु पे, वर्ल्डलिंक र भायानेटले बिशेष आकर्षक योजनाहरु सार्बजनिक गर्दै छन भने एनसेल ले आकर्षक प्याकेज सहित निशुल्क सिमकार्ड र सुबिधाहरु उपलब्ध गराउने छ । स्मार्ट सेलले ९९ रुपैयाँ पर्ने सिम कार्ड र त्यसमा ९० रुपैयाको रिचार्ज, २०० एमबि डाटा, १० ओटा एस.एम.यस निशुल्क उपलब्ध गराउने छ ।

क्यान इन्फोटेक २०२० मा विभिन्न खण्डहरु रहने छन् जसमा ब्राण्डिङ, गेम पार्लर, प्रडक्ट लञ्चिङ, रोबोटिक्स, इ–वेष्ट म्यानेजमेण्ट, मिटिङ हल, वाइफाइ तथा इन्टरनेट र रोजगार केन्द्र मुख्य छन् ।

प्रर्दशनीका लागी रहेका १७४ स्टलमध्ये करिव ८० प्रतिशत स्टल बुक भइसकेको महासंघले सम्मेलनमा जानकारी गराएको हो ।

इन्फोटेकले यस संस्करणको प्रवेश शुल्क रु.१०० तोकेको छ । जसमा विद्यार्थीलाई ५० प्रतिशत छुट सञ्चारकर्मी, जेष्ठ नागरिक, फरक क्षमता भएका व्यक्तिहरु र सामुदायिक/सरकारी विद्यालय र कलेजका बिद्यार्थीहरुलाई निशुल्क प्रवेशको व्यवस्था रहेको बताईएको छ ।

प्रकाशित: १५ माघ २०७६, बुधबार

Comments are closed.

Loading...