विभिन्न जिल्लामा रहेका एनसेलका टावरहरुमा अज्ञात समूहहरुद्धारा आगजनी

Technology Khabar १३ माघ २०७६, सोमबार

विभिन्न जिल्लामा रहेका एनसेलका टावरहरुमा अज्ञात समूहहरुद्धारा आगजनी

काठमाडौं ।

काठमाडौं । माेबाइल अपरेटर एनसेलको विभिन्न जिल्लामा रहेका टावरहरुमा आगजनी गरिएको छ। प्रहरीले चितवन सिन्धुली रामेछाप पाल्पा सर्लाही नवलपरासी जिल्लामा रहेका एनसेल टावरहरुमा अज्ञात समूहहरुले आगजनी गरेको जनाएको छ ।

चितवनको खैरहनी नगरपालिकामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ । खैरहनी नगरपालिका–२ मा केशवराज दवाडीको जग्गामा राखिएको एनसेलको टावरमा आगजनी भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगलागीबाट जेनेरेटर र ट्रान्सफर्मरमा क्षति पुगेको छ । आइतबार राति १०ः४५ बजे अज्ञात समूहले टावरमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । कोइरालाका अनुसार दमकल, नेपाल प्रहरी र स्थानीयवासीको सहायताले राति नै आगो नियन्त्रणमा लिइएको थियो । आगो लगाउने समूहको खोजी भइरहेको उनले जानकारी दिए ।

त्यसैगरी सिन्धुलीको मरिण गाउँपालिका–७ मा रहेको एनसेलको टावरमा आगजनी भएको छ । गएराति एनसेलको टावरमा अज्ञात समूहले आगजनी गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार एनसेलको टावर पूर्णरूपमा क्षति भएको छ । उहाँका अनुसार टावरमा कसले आगजनी ग¥यो भन्ने खुल्न सकेको छैन । घटनामा संलग्नको खोजी भइरहेको र घटनाको आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

गएराति रामेछाप जिल्लामा पनि एक एनसेल टावरमा आगजनी भएको छ । अज्ञात समूहद्वारा दोरम्बा गाउँपालिका–७ गुम्सीमा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए। उनका अनुसार टावरमा रहेका तारहरु जलेर क्षति पुगेको छ ।

पाल्पाको बगनासकाली गाउँपालिका–९ स्थित बगनासडाँडामा रहेको एनसेलको टावरमा आगजनी भएको छ । आइतबार राति करीब पौने १० बजेको समयमा टावरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख दीपेन्द्र जिसीले बताए। आगलागीबाट टावरमा पूर्णरूपमा क्षति पुगेको छ ।

बोरामा खर राखेर आगो सल्काएको पाइएको छ । टावरको जेनेरेटर, बिटिएस सिस्टम, जिएसएम एन्टेना, ब्याट्री प्यानल, मिटरबक्ससहित तार पूर्णरूपमा जलेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरमा रहेको एनसेल टावरमा विस्फोट गराइएको छ । लालबन्दी नगरपालिका–१६ स्थित टावरमा आइतबार राति एनसेल टावरमा विस्फोट गराउँदा सोलार प्यानल, युपिएस तथा तारहरुमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले बताए ।

एनसेल टावरमा विस्फोटबाट सामान्य समस्या रहेको र सामान्य मर्मत गरेपछि केही समयमा नै सञ्चालन गर्न सकिने पोखरेलले बताए। टावरमा विस्फोट कसले गरेको हो यकिन भएको छैन । सुरक्षा व्यवस्थालाई थप मजबुत बनाइएको प्रहरीले जनाएको छ ।

पश्चिम नवलपरासीमा एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ । जिल्लाको रामग्राम नगरपालिका–९ करमैनीस्थित चन्द्रशेखर पाठकको खेतमा रहेको एनसेल टावरमा गएराति आगजनी भएको प्रहरीले जनाएको छ ।

आगजनीबाट टावरको अगाडि भागको तार जलेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: १३ माघ २०७६, सोमबार

ताजा समाचार