Technology Khabar ११ माघ २०७६, शनिबार
काठमाडौं ।
काठमाडौं । माइक्रोसफ्टका सिईओ सत्या नडेलाले डाटा गोपनियतालाई मानव अधिकारकोरुपमा हेरिनुपर्ने र यसलाई पुरा पारदर्शिताको साथ सुरक्षा गर्नुपर्ने बताएका छन् । दावोसमा भएको वल्र्ड इकोनोमी फोरममा उनले यस्तो बताएका हुन्।
उनले ठुलो रुपमा प्रयोग भइरहेको डाटालाई मानिसहरुको सहमतिमा संकलन गरेर यसको प्रयोग सामाजिक भलाईको लागी हुनुपर्ने बताए ।
नडेलाले डाटाको गरिमा बनाई राख्न निकै जरुरी रहेको र यसलाई आउँदो पुस्ताको प्रविधि अगाडि गोपनिय राख्नु चुनौतिपुर्ण रहेको बताएका छन्। उनले कुनैपनि व्यक्तिले आफ्नो डाटा कस्तो काममा प्रयोग होस भनेर निर्धारण गर्न पाउनुपर्ने बताए ।
‘हामीले विज्ञापनदातासँगै उपभोक्ताहरुले पनि आफ्नो डाटालाई कसरी फाइदाको क्षेत्रमा प्रयोग गर्न सक्छन भन्ने अध्ययन गर्नुपर्छ,’ उनले भने । २०२० मा नयाँ मोडल र डाटाको गरिमा तय गर्ने काम हुनुपर्ने उनले बताए ।
कम्पनिको सिईओको तलब भत्तामा बहस
डब्ल्युईएफका संस्थापक र कार्यकारी चेयरम्यान क्लाउस स्वावसँगको कुराकानीमा नडेलाले कम्पनीको सिईओको तलब भत्ताको बारेमा समेत कुरा गरे । दुनियाकै मुल्यवान कम्पनीको रुपमा काम गर्ने फर्मुलाको बारेमा सोध्दा नडेलाले कोर बिजनेस डिजाइनमा ध्यान दिनुपर्ने र काम राम्रो गर्न थालेपछि आफ्नो जिबनपनि राम्रो हुने उनले बताए । उनले मानिससँगै संस्थाहरुपनि हाम्रो समाजको हिस्सा रहेको र यदि आफुले ठुलो प्रणालीको बारेमा नसोच्ने हो भने यो टिकाउ नहुने उनले बताए । एजेन्सी
प्रकाशित: ११ माघ २०७६, शनिबार