ईकमर्श कम्पनी अमेजन विश्वको सबैभन्दा मूल्यबान ब्राण्ड, टेलिकम जायन्ट ह्वावे पहिलोपटक टप टेनमा

Technology Khabar १० माघ २०७६, शुक्रबार

ईकमर्श कम्पनी अमेजन विश्वको सबैभन्दा मूल्यबान ब्राण्ड, टेलिकम जायन्ट ह्वावे पहिलोपटक टप टेनमा
Classic Tech

काठमाडौं । विश्वको मूल्यबान कम्पनीको पहिलो स्थानमा अमेजनले आफ्नो हिस्सा कायमै राखेको छ । ईकमर्श कम्पनी अमेजनले तेस्रो वर्षपनि आफ्नो मूल्यवान ब्राण्डलाई कायमै राख्दै पहिलो स्थानमा रहेको हो ।

ब्राण्ड फाइनान्सले सार्वजनिक गरेको विश्वका मूल्यबान कम्पनीको सूचीको रिपोर्टअनुसार कम्पनीले सन् २०२० मा आफ्नो मूल्यलाई १८ प्रतिशतले अघिल्लो वर्षको तुलनामा वृद्धि गरेको छ र यो वर्ष अमेजनको मूल्य २२०.८ अर्ब डलर तोकिएको छ । गत वर्ष विश्वको मूल्यवान कम्पनीको सूचीमा पहिलो स्थानमा नै रहेको अमेजनको ब्राण्ड भ्यालू १८७.९ अर्ब डलर थियो ।

विश्वको मूल्यबान ब्राण्डको दोस्रो स्थानमा टेक कम्पनी गूगल रहेको छ जसको ब्राण्ड भ्यालू २०२० मा १५९.७२ अर्ब डलर रहेकोछ । गूगलको ब्राण्ड भ्यालूमा यो वर्ष ११ प्रतिशतको वृद्धि देखिएको छ भने योवर्ष गूगलले एप्पललाई उछिनेर दोस्रो स्थानमा आएको हो ।

मूल्यबान ब्राण्डमा आइफोन निर्माता कम्पनी एप्पल तेस्रो स्थानमा रहेको छ जसको ब्राण्ड भ्यालू यो वर्ष ८.५ प्रतिशतले घटेर १४०.५२ अर्ब डलर रहेको छ । अघिल्लो वर्ष दोस्रो स्थानमा रहेको एप्पल यो वर्ष भने तेस्रो स्थानमा खुम्चिएको छ ।

चौथो स्थानमा रहेको माइक्रोसफ्टको पनि ब्राण्ड भ्यालूमा २.१ प्रतिशतले कमी आउँदै ११७.०७ अर्ब डलर कायम रहेको छ ।

मूल्यबान ब्राण्डको सूचीमा प्रमुख ४ स्थान अमेरिकी कम्पनीले ओटेको बेला पाँचौं स्थानमा भने दक्षिण कोरियाली टेक कम्पनी सामसंग रहेको छ । सामसंगको ब्राण्ड भ्यालू यो वर्ष ३.५ प्रतिशतले बढेको छ भने कम्पनीको मूल्य ९४.४९ अर्ब डलर रहेको छ ।

विश्वमै चर्चामा रहने सामाजिक संजाल फेसबुक भने सूचीको सातौं स्थानमा रहेको छ जसको मूल्यमा ४.१ प्रतिशतले कमी आउँदै ७९.८ अर्ब डलर रहेको छ ।सूचीको छैटौं स्थानमा चिनियाँ कम्पनी आईसीबिसी रहेको छ भने आठौं स्थानमा वालमार्ट तथा नवौं स्थानमा चिनियाँ कम्पनी पिंगएएन रहेको छ ।

विश्वको मूल्यबान ब्राण्डको टप टेन सूचीमा पहिलो पटक चिनियाँ टेलिकम उपकरण जायन्ट कम्पनी ह्वावे अटाएको छ । यसअघि गत वर्ष १२ औं स्थानमा रहेको ह्वावे यो वर्ष भने ४.५ प्रतिशतको ब्राण्ड भ्यालू बढाउँदै टप टेनमा आएको हो ।

ह्वावे दशौं स्थानमा रहँदा कम्पनीको मूल्य ६५.१ अर्ब डलर रहेको छ । ह्वावेलाई ५जीमा रहेको प्रतिस्पर्धाले आगामी दिनमा अझ बढि फाईदा दिने बताईएको छ ।

रिपोर्टअनुसार मूल्यबान ब्राण्ड भ्यालू कायम हुने कम्पनीहरुमा सेक्टरको आधारमा हेर्दा प्रविधिमा आधारित कम्पनीहरुको हिस्सा सबैभन्दा धेरै १४ प्रतिशत छ भने बैंकिंग क्षेत्रको हिस्सा १३.१ प्रतिशत, रिटेलको ११.३ प्रतिशत, टेलिकम कम्पनीहरुको ७.९ प्रतिशत अटो क्षेत्रको ७ प्रतिशत हिस्सा रहेकोछ ।

प्रकाशित: १० माघ २०७६, शुक्रबार

Comments are closed.

Loading...