चिडियाखानाका वन्यजन्तु हेर्न घरबाटै टिकट लिन पाईने, अनलाइनबाट टिकट काट्ने व्यवस्था

Technology Khabar ९ माघ २०७६, बिहीबार

चिडियाखानाका वन्यजन्तु हेर्न घरबाटै टिकट लिन पाईने, अनलाइनबाट टिकट काट्ने व्यवस्था

काठमाडौं ।

काठमाडौं । तपाईं चिडियाखानाका वन्यजन्तु हेर्न कति समय लाइन बसेर टिकट काट्नुहुन्छ कहिलेकाहीँ त घण्टौँ कुर्नुभयो होला, तर अब यो झन्झटबाट मुक्त हुनुभएको छ । तपाईंले घरमै बसिबसी टिकट‘बुक’ गर्न सक्नुहुन्छ । जावलाखेलमा रहेको सदर चिडियाखानाले अवलोकनकर्ताका लागि घरमै बसेर टिकट काट्ने व्यवस्था गर्न लागेसँगै दर्शकका लागि लाइन बस्ने समस्या टर्ने भएको हो ।

अवलोकनकर्ताको ध्यानलाई मध्यनजर गर्दै चालू आर्थिक वर्षभित्रै यस किसिमको व्यवस्था गर्न लागेको सदर चिडियाखानाले जानकारी दिएको छ ।

पहिलोपटक गर्न लागिएको यस कामका लागि चिडियाखाना व्यवस्थापन पक्ष अहिले अभ्यासरत रहेको चिडियाखाना व्यवस्थापन प्रमुख डा चिरञ्जीवीप्रसाद पोखरेलले जानकारी दिए । अनलाइनबाट टिकट काट्ने व्यवस्थासँगै अवलोकनकर्ताको समय बचत हुनुका साथै कर्मचारी अभावको समस्या पनि टर्ने डा. पोखरेलले बताए ।

टिकट काट्नका लागि भन्दै अहिले दैनिक ५ कर्मचारी खटिएका छन् । तर आगामी दिनमा एक कर्मचारीले मात्रै अवलोकनकर्तालाई टिकट उपलब्ध गराउन सक्नेछन् । प्रवेशद्वारमै सूचना केन्द्र अवलोकनकर्तालाई ध्यानमा राखेर चिडियाखाना व्यवस्थापनले प्रवेशद्वारमै सूचना केन्द्र स्थापना गरी विद्युतीय सूचनापाटी राखेको छ । सूचनापाटीबाट चिडियाखानामा राखिएका जनावरका बारेमा जानकारी लिन सकिन्छ ।

दश महिना स्थापना गरिएको सूचना केन्द्रबाट अवलोकनकर्तालाई निकै सहज भएको छ । सूचनापाटीमार्फत कुनकुन जनावर राखिएको छ ?, त्यसको विषेषता के हो, कहाँ पाइन्छ ? पाउन कतिको सहज छ ? के खान्छ रु र कति वर्ष आयु छ ? जस्ता विषयमा जानकारी प्राप्त गर्न सकिने छ ।

त्यसैगरी टिकट लिएर प्रवेश गर्ने बेलामै अवलोकनकर्ताले हाल के कति जनावर रहेका छन् र कुनको सङ्ख्या कति छ जस्ता विषयको जानकारी सहजरूपमा लिन सक्नेछन् । यति मात्रै होइन, कुन जनावर कुन स्थानमा राखिएको छ भनी हेर्नका लागि सहज बनाइएको छ ।

हाल चिडयाखानासँग साथीको रूपमा सम्बन्ध स्थापित भएका २०० विद्यालयका पाँच हजार विद्यार्थी सहभागी हुँदै आएका छन् । सूचना केन्द्रलाई यी विद्यार्थीका कारण निकै सहज भएको छ । मुख्य आकर्षण चिडियाखानामा १ सय १९ प्रजातिका १ हजार ९८ जीव जनावर छन् । मुख्य आकर्षणका रूपमा बाघ, भालु चितुवा, रेडपाण्डा जस्ता जनावर छन् । ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् ।

अवलोकनका लागि विदेशीका लागि ७ सय ५०, सार्क राष्ट्रका पाहुनाका लागि ५ सय, नेपालीलाई १ सय ५० र विद्यार्थी र ज्येष्ठ नागरिकका लागि ९० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । वार्षिक ११ लाख दर्शक अवलोकन गर्न आउने यहाँ १५ करोड रुपैयाँको आर्थिक कारोवार हुने गरेको छ ।

माध्यम

easy care

प्रकाशित: ९ माघ २०७६, बिहीबार