Technology Khabar ९ माघ २०७६, बिहीबार
काठमाडौं ।
काठमाडौं । रेडियो नेपालले नेपाल दूरसंचार प्राधिकरणलाई आगामी ७ दिनभित्र आफ्नो नाममा रहेको खुमलटारको जग्गा दिनुपर्ने भएको छ ।
संचार तथा सूचना प्रविधि मन्त्रालयमा बुधबार भएको अर्धवार्षिक समीक्षा गोष्ठिमा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले सात दिनभित्र जग्गा उपलब्ध गराउने गरी समस्या समाधान गर्न निर्देशन दिएका छन् ।
उनले यसको समाधान सम्बन्धित निकायहरुले नै गरेर जानकारी गराउनुपर्ने बताएका छन् ।
रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले जग्गा दिने विषयमा रेडियो नेपाल र प्राधिकरणबिच सहमति भएको भन्दै हाल साबिक नभएको जग्गा हाल साबिकको लागि प्रकृयामा रहेको जानकारी दिएपछि मन्त्री बाँस्कोटाले सात दिने अल्टिमेटम सहितको निर्देशन दिएका हुन् ।
रेडियो नेपालका कार्यकारी निर्देशक कार्कीले कार्यालयको नाममा जग्गा हाल साबिक नै नभएको र केहि कित्ता प्रकृति संरक्षण कोषको नाममा पनि रहेको बताए ।
‘हाम्रो नाममा २६ रोपनी जग्गा मात्र रहेको तर ४१ रोपनी जग्गामध्ये रेडियो नेपालको नाममा आएपछि पास गरिदिने भनेको छु,’ उनले भने ।
उनले रेडियो नेपालको जग्गा ४० लाख रुपैयाँ आनामा दिन प्रकृया भएको र २०५१ सालमा नै रेडियो नेपालको नाममा जग्गा कायम गरिने र ४१ रोपनी ३ आना जग्गा एकिकरण कित्ता बनाएर ल्याउने काम भएको बताए ।
दूरसंचार प्राधिकरणले सरकारले दिने भनेको रेडियो नेपालको जग्गा नपाउँदा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमको काम हुन नसकेको बताउँदै आएको छ ।
करिब १ वर्षअघि नै मन्त्रिपरिषदले ललितपुरको खुमलटारमा भएको ४२ रोपनी जग्गा रेडियो नेपालले नेपाल दूरसंचार प्राधिकरणलाई ४० लाख रुपैयाँ प्रति आनामा बिक्री गर्न दिने निर्णय गरेको थियो तर हालसम्म सो निर्णय कार्यान्वयन हुन सकेको छैन् ।
सो स्थानमा प्राधिकरणले आफ्नो कार्यालय भवन बनाउने र स्याटेलाइटको लागि अर्थ स्टेशन समेत राख्ने योजना लिएको छ ।
प्रकाशित: ९ माघ २०७६, बिहीबार