सरकारी कार्यालयले नै फेसबुक प्रबर्द्धन गरेपछि संचार मन्त्रीले भने- ईलिगल काम गर्छभने कसरी हुन्छ?

Technology Khabar ८ माघ २०७६, बुधबार

सरकारी कार्यालयले नै फेसबुक प्रबर्द्धन गरेपछि संचार मन्त्रीले भने- ईलिगल काम गर्छभने कसरी हुन्छ?
संचार तथा सूचना प्रविधि मन्त्रि गोकुल प्रसाद बाँस्कोटा । फाइल फोटो

काठमाडौं ।

काठमाडौं । सरकारी कार्यालयहरुले नै फेसबुकमा गर्ने गरेको विज्ञापन प्रबर्द्धन वा बुस्टको बारेमा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले चासो व्यक्त गरेका छन् ।

मन्त्री बाँस्कोटाले फेसबुकको कार्यालय नेपालमा नभएको हुँदा कसरी सरकारी निकायहरुले नै विज्ञापन प्रबद्र्धन गर्दछन् भन्ने प्रश्न गरेका हुन् ।

संचार तथा सूचना प्रविधि मन्त्रालयमा बुधबार आयोजित अर्धवार्षिक समिक्षा बैठकमा प्रमाणीकरण नियन्त्रकको कार्यालयले आफ्नो कार्यहरु फेसबुकमार्फत प्रबद्र्धन गरेको जानकारी दिएपछि मन्त्री बाँस्कोटाले कसरी फेसबुकमा प्रबद्र्धन गर्नुभयो भन्ने प्रश्न गरेका थिए ।

उनको प्रश्नको जवाफ दिँदै प्रमाणीकरण नियन्त्रकको कार्यालयका निमित्त नियन्त्रक अनिल कुमार दत्तले अन्य कम्पनीमार्फत विज्ञापनको रुपमा विद्युतिय हस्ताक्षरसम्बन्धि सामाग्री फेसबुकबाट प्रशारण गरिएको प्रष्टिकरण दिएका थिए ।

तर उनको उत्तरले चित्त नबुझेपछि मन्त्री बाँस्कोटाले फेरी ‘रकम कसरी तिर्नुभयो’ भनेर सोधेका थिए ।

उत्तरमा सो विज्ञापनको लागि सम्झौता गरेको कम्पनीले रकम तिरेको र भ्याटबिल उपलब्ध गराएको दत्तले जवाफ दिएपछि पनि मन्त्री बाँस्कोटा सन्तुष्ट हुन सकेनन् । उनको असन्तुष्टिलाई समाधान गर्न समिक्षा बैठकमा रहेका अन्यले समेत डलरमा भुक्तानी गर्न सकिने र डलर कार्डमार्फत त्यस्तो हुने जानकारी दिए ।

एकजना अधिकारीले त आफूसँग पनि डलर कार्ड रहेको र त्यसबाट पनि भुक्तानी गर्नसकिने दाबी गर्दै मन्त्रीलाई संतुष्ट पार्ने प्रयास गरेका थिए ।

तर मन्त्रीले अर्थका अधिकारीलाई त्यसबारेमा सोधेपछि अर्थका अधिकारीले फेसबुकलाई पठाउँदा ठूलो रकम बाहिर जाने तर सो रकमको ट्याक्स नआउने बताए ।

यो कुरा गंभिर भएको भन्दै मन्त्री बाँस्कोटाले भने, ‘सरकारी कार्यालयहरुले नै ईलिगल(गैर कानूनी) काम गर्छ भने कसरी हुन्छ ?’

सो समिक्षा बैठकमा मन्त्रालयअन्तरगतका विभिन्न निकायहरुको प्रस्तुतीपछि मन्त्री बाँस्कोटाले निकायहरुको बजेट तथा योजनाहरु सहिरुपमा नभएको बताए । उनले वर्षको आधा समय सकिँदा पनि योजना शुरु गर्न नसक्ने निकायहरुले अब योजना शुरु गर्नुको अर्थ नभएको बताए ।

योजनाको प्रगति र क्षमतालाई निकायका प्रमुखहरुको कार्यसम्पादनसँग जोडेर हेर्नुपर्ने नत्र विभागीय कारबाही अगाडि बढाउने उनले चेतावनी दिए ।

‘परफरमेन्स कन्ट्र्याक्टको आधारमा योजना प्रमुख फेरिएको हकमा छुट्टै मूल्यांकन गर्नुस् यदि प्रमुख सरुवा भएको छ भने अघिल्लोलाई ल्याएर भएपनि हेर्नुपर्दछ,’ मन्त्री बाँस्कोटाले भने ।

उनले समस्याहरुको समाधान गर्दै जार्नुपर्ने र काम नगर्ने अधिकारीहरुलाई जिम्मेबार बनाउनुपर्ने बताए ।

Global Bank
easy care

प्रकाशित: ८ माघ २०७६, बुधबार