दूरसंचार प्राधिकरणमा दुई निर्देशकहरु पौडेल र हाडा थपिए

Technology Khabar ५ माघ २०७६, आईतवार

दूरसंचार प्राधिकरणमा दुई निर्देशकहरु पौडेल र हाडा थपिए

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले नयाँ विनियमावलीअन्तरगत सिर्जना गरेको र रिक्त रहेका दुई निर्देशक पदमा सन्तोष पौडेल र सुरेन्द्र लाल हाडालाई बढुवा गरेको छ ।

प्राधिकरणले चालु आर्थिक वर्षदेखि ७ निर्देशकहरुको पद कायम गरेको थियो जसअन्तरगत ५ निर्देशकहरु यसअघि देखि नै कार्यरत रहेका थिए भने दुई थप नयाँ निर्देशक पद खडा गरेको थियो ।

सोहि दुई नयाँ निर्देशकहरुमा पौडेल र हाडा बढुवा भएका हुन् । जसमध्ये पौडेल प्रशासन तर्फ बढुवा भएका छन भने हाडा प्राविधितर्फबाट बढुवा भएका छन् ।

दुई निर्देशकहरुले हाल खाली रहेका पूर्वाधार महाशाखा तथा कानून तथा अनुमतिपत्र महाशाखाको जिम्मेबारी सम्हाल्न सक्नेछन् ।

प्राधिकरणको कर्मचारी विनियमावली २०७६ अनुसार निर्देशकको पदमा खुला प्रतियोगितााद्धारा १० प्रतिशत नियुक्ति हुने प्रावधान छ भने ९० प्रतिशत बढुवाद्धारा पद पूर्ति गरिन्छ ।

प्राधिकरणले गएको भदौ महिनामा आन्तरिक संरचना परिवर्तन गर्दै स्थापना गरेको निर्देशनालयहरुमा वरिष्ठ निर्देशक प्रमुख हुने तथा महाशाखाहरुमा निर्देशकको पद कायम गरेको थियो । महाशाखाहरुमा नियमन, पूर्वाधार, स्तरिकरण, प्रशासन, कानून तथा अनुमतिपत्र, उपभोक्ता हित संरक्षण र अनुगमन महााशखा गठन गरेको थियो ।

नियमन महाशाखाको नेतृत्व अम्बर स्थापितले गरिरहेका छन भने स्तरिकरणमा मिन प्रसाद अर्याल, प्रशासनमा दिपेश आचार्य, उपभोक्ता हित संरक्षणमा अर्जुन घिमिरे तथा अनुगमनमा विजय रोय प्रमुख रहेका छन् ।

दुई निर्देशनालयहरु प्रविधि तथा पूर्वाधार विकास र प्रशासन तथा अनुमतिपत्रमा वरिष्ठ निर्देशकले नेतृत्व गर्नेमा हाल दुबै निर्देशनालयहरु खाली रहेका छन् । यसअघिका वरिष्ठ निर्देशक मध्येका पुरुषोत्तम खनाल वर्तमान अध्यक्ष नियुक्त भएर कार्यरत छन् भने अर्का वरिष्ठ निर्देशक आनन्दराज खनाललाई संचार तथा सूचना प्रविधि मन्त्रालयमा तानिएको छ ।

प्रकाशित: ५ माघ २०७६, आईतवार

Comments are closed.

Loading...