कनेक्ट आइपिएसको मासिक कारोबार १० अर्ब रुपैयाँ नाध्यो

Technology Khabar ३ माघ २०७६, शुक्रबार

कनेक्ट आइपिएसको मासिक कारोबार १० अर्ब रुपैयाँ नाध्यो

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले संचालन गर्दै आएको कनेक्ट आइपिएस ई–पेमेन्ट प्रणालीमार्फत भएका मासिक कारोबार पौष महिनामा रु १२.०५ अर्ब भन्दा बढि पुगेको छ ।

एनसीएचएलको लागि बैशाख, २०७५ बाट प्रारम्भिक सञ्चालनमा आएदेखि पौषमा हाल सम्मको सबैभन्दा बढि कारोबार भएको छ । यस आर्थिक वर्षको पौष मसान्तसम्म कनेक्ट आइपिएस ई–पेमेन्ट प्रणाली मार्फत भएको (कारोबार संख्या) ६५०,१४२ रहेको छ जुन सेटलमेन्ट रकममा रु ४२.४८ अर्ब बराबर रहेको छ ।

कारोबारमा भईरहेको वृद्धिले नेपालमा बैंक खातामा आधारित रियल–टाइम रिटेल भुक्तानी प्रणालीको स्वीकार्यता बढेको बुझिएको छ ।
कनेक्ट आइपिएस ई–पेमेन्ट प्रणाली अनलाइन भुक्तानीको एकिकृत प्लेटफर्म हो, जसमा अनलाइन फण्ड ट्रान्सफर, पेमेन्ट प्रोसेसर (गेटवे), क्रेडिट कार्ड/बिल भुक्तानी लगायतका सुविधा उपलब्ध रहेका छन् ।

उक्त प्लेटर्फममा सदस्य बैंकका ग्राहकहरूले फण्ड ट्रान्सफरलगायत अन्य सेवाहरुमा सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोग आवेदन शुल्क भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी, राहदानी शुल्क भुक्तानी, नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा कोष सम्बन्धी भुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, नेप्से अनलाईन ट्रेडिङ्ग तथा सेयर ब्रोकरलाई भुक्तानी, ट्राभल एजेन्सी भुक्तानी, स्कुल/कलेज, इन्स्युरेन्स भुक्तानी, जस्ता कारोवारहरु गर्न सकिने व्यवस्था रहेको छ ।

एनसीएचएलले विद्युतीय चेक भुक्तानी (NCHL-ECC), अन्तरबैंक भुक्तानी प्रणाली NCHL-IPS र कनेक्ट आइपिएस ई–पेमेन्ट प्रणाली connectIPS e-Payment system सञ्चालन गर्दै आएको छ । आर्थिक वर्ष २०७६/७७ को पौष मसान्त सम्ममा यी प्रणालीहरुमार्फत एनसीएचएलले कारोबार संख्या ८१,२४९ को कुल सेटलमेन्ट रकम रु ४२.१७ बराबर राफसाफ गर्न सफल भएको छ, जुन गत आ.व. सोहि अवधि भन्दा क्रमश ४४ प्रतिशत र २६ प्रतिशतको बृद्धि रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित: ३ माघ २०७६, शुक्रबार

Comments are closed.

Loading...