टेलिकमका सक्रिय ग्राहकहरु १ महिनामै करिब १ लाख थपिए, बजार हिस्सा पनि बढ्दोक्रममा

Technology Khabar १ माघ २०७६, बुधबार

टेलिकमका सक्रिय ग्राहकहरु १ महिनामै करिब १ लाख थपिए, बजार हिस्सा पनि बढ्दोक्रममा
Classic Tech

अनुज राज

काठमाडौं । फोरजी बिस्तारसँगसँगै आफ्ना ग्राहकहरु उल्लेख्य मात्रामा बढाउन नसकेको नेपाल टेलिकमले आफ्ना सक्रिय ग्राहकहरुको संख्यामा भने वृद्धि गर्न सफल भएको छ ।

पछिल्लो दिनमा फोरजी देशभर बिस्तार गरिरहेको टेलिकमले ग्राहकहरु बढाउन सकेको थिएन् । फोरजी बिस्तारसँगै फोरजी प्रयोगकर्ताहरुको संख्या बढाउन नसकेपनि कम्पनीले सक्रिय ग्राहकहरुकोे संख्यामा सुधार देखिने गरि वृद्धि गराईरहेको छ ।

नेपाल दूरसंचार प्राधिकरणले हरेक महिना प्रकाशित गर्ने एमआईएस रिपोर्टअनुसार असोज मसान्तसम्म कम्पनीसँग २ करोड भन्दा बढि सेवा प्रदायकहरु रहेका छन् । सो संख्या प्राधिकरणले कम्पनीहरुले सिम बेचेको आधारमा तयार पार्दै आएको छ । तर सो २ करोडको तुलनामा टेलिकमका सक्रिय ग्राहकहरुको सख्या आधा पनि रहेको छैन् ।

सक्रिय ग्राहकहरुको आधारमा मात्रै हाल संचालनमा रहेका टेलिकम अपरेटरहरुको हिस्सा हेर्दा भने सुधारजन्य देखिन्छ ।

साउन महिनादेखि नेपाल टेलिकमका सक्रिय ग्राहकहरुको संख्यामा प्रगति हुँदै गएको भएपनि फोरजी लन्च भएपछि भने सो संख्याको आधारमा बजार हिस्सा ह्वात्तै घटेको थियो तर अब फेरी कम्पनीका सक्रिय ग्राहकहरुको संख्याको आधारमा बजार हिस्सामा सुधार देखिएको छ ।

चालु आर्थिक वर्षको साउन महिनामा नेपाल टेलिकमका कुल सिम प्रयोगकर्ताहरुमध्ये सक्रिय ग्राहकहरुको संख्या ८४ लाख ५२ हजार ९७१ थियो, जुन कुल बजारको ३८.४४ प्रतिशतको हाराहारी हुन आउँछ ।
यसअघिको आर्थिक वर्षसम्म भने कम्पनीका ग्राहकहरुको सक्रियता बजार हिस्साको आधारमा ३८ प्रतिशत भन्दा बढि जान सकेको थिएन् ।
तर चालु आर्थिक वर्षको शुरुवातदेखि नै कम्पनीले आफ्ना सक्रिय ग्राहकहरुको संख्यामा वृद्धि गर्दै लगेको थियो । कम्पनीले भदौ महिनामा आफ्नो सक्रिय ग्राहकहरुको हिस्सा बढाएर ३८.८० प्रतिशत पुर्याएको थियो भने असोज महिनामा सक्रिय ग्राहकहरुको संख्या बढ्दै ३८.८४ प्रतिशतसम्म पुगेको थियो ।
कम्पनीले गएको असोज महिनामा नै देशभर फोरजी सेवा उपलब्घ गराउने घोषणा गरेको थियो । असोज महिनासम्म सुधारमा रहेको सक्रिय ग्राहक बजार हिस्सा कात्तिकमा भने ह्वात्तै घटेको थियो । असोज महिनामा ३८.८४ प्रतिशत बजार लिएकोमा कात्तिक महिनामा टेलिकमले सक्रिय ग्राहकहरुको बजार हिस्सा ३८.६९ प्रतिशतमा झार्न पुगेको थियो ।

बजार हिस्सा गुमाउनुमा टेलिकमको आफ्नै कारण नभएपनि अर्को प्रतिस्पर्धी कम्पनीले पनि बजार हिस्सा उल्लेख्य बढाउँदा टेलिकमको सक्रिय ग्राहकहरुको बजार हिस्सा प्रतिशत कम देखिएको हो ।

बजार हिस्सा प्रतिशत घटेपनि टेलिकमका सक्रिय ग्राहकहरुको संख्या भने बढिरहेको देखिन्छ । असोजमा कम्पनीका सक्रिय ग्राहकहरुको संख्या ८६ लाख ७८ हजार १५१ जना थिए भने सो संख्या कात्तिकमा बढेर ८७ लाख ७० हजार ३४६ जना पुगेको छ, जुन बजार हिस्साको आधारमा केबल ३८.६९ प्रतिशत मात्र हुन्छ ।

प्रतिस्पर्धी टेलिकम एनसेलले सो कात्तिक महिनामा आफ्नो सक्रिय ग्राहक संख्यामा उल्लेख्य वृद्धि गरेसँगै कम्पनीको बजार हिस्सा ५९.०२ प्रतिशत पुगेको थियो जसले गर्दा टेलिकमको ग्राहकहरुको संख्या वृद्धि भएपनि बजार हिस्सा भने ह्वात्तै घटेको देखिन्छ ।

तर कम्पनीले मंसिर महिनामा भने सक्रिय ग्राहकहरुको संख्यामा निरन्तर वृद्धि गराउँदै बजार हिस्सामा पनि वृद्धि गर्न सफल भएको छ । कात्तिकदेखि मंसिरको बिचमा टेलिकमका सक्रिय ग्राहकहरु करिब १ लाख बढेका थिए ।

मंसिर महिनामा टेलिकमसँग ८८ लाख ६९ हजार ८६३ सक्रिय ग्राहक थिए भने बजार हिस्सा करिब ३८.९३ प्रतिशत पुर्याएको देखिन्छ । सो महिनामा एनसेलले ग्राहकसँग वृद्धि गरेपनि बजार हिस्साको आधारमा ५८.७९ प्रतिशतमा झरेको थियो । एनसेलसँग मंसिर महिनामा कुल सक्रिय ग्राहकहरु १ करोड ३३ लाख ९२ हजार ६ सय जना रहेका थिए ।

अर्को टेलिकम अपरेटर स्मार्टको भने बजार हिस्सा २.३३ प्रतिशतबाट कम हुँदै सो मंसिर महिनामा २.२८ प्रतिशत हुन गएको छ ।

प्रकाशित: १ माघ २०७६, बुधबार

Comments are closed.

Loading...