सुर्खेतमा सफ्टवेयरमार्फत विद्यालयको अनुगमन सुरु, ‘स्कूल डायरी’ सफ्टवेयर संचालनमा

Technology Khabar १ माघ २०७६, बुधबार

सुर्खेतमा सफ्टवेयरमार्फत विद्यालयको अनुगमन सुरु, ‘स्कूल डायरी’ सफ्टवेयर संचालनमा
सांकेतिक

काठमाडौं । सुर्खेतको पचालझरना गाउँपालिकाले कर्णालीमै पहिलो पटक विद्यालयमा नयाँ प्रविधि जडान गरेको छ। सोमबार एक कार्यक्रमको आयोजना गरी मोवाइलमार्फत विद्यालयको अनुगमन गर्ने गरी सफ्टवेयर सञ्चालन गरिएको हो।

विद्यालयको व्यवस्थापन र अनुगमनमा सहज हुने गरी ‘स्कूल डायरी’ सफ्टवेयर मार्फत विद्यालयको अनुगमन सुरु गरेको छ। नयाँ प्रविधिले गाउँपालिका कार्यालयबाटै विद्यालयको अनुगमन गर्न सकिने छ।

रिभुलेसन टेक्लोलोजीको उत्पादन ‘स्कूल डायरी’ मार्फत सामुदायिक विद्यालयको शैक्षिक व्यवस्थापन प्रभावकारी बनाउन र शैक्षिक गुणस्तर विकासका लागि उक्त प्रविधि जडान गरिएको बताइएको छ।

पहिलो पटक गाउँपालिकाका दुई वटा विद्यालयमा जडान गरिएको उक्त प्रविधि सबै विद्यालयमा लैजाने गरी काम थालिएको पचालझरना गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले जानकारी दिए। सफ्टवेयरको प्रयोगले सामुदायिक विद्यालयको अनुगमनमा सहज हुने उनको विश्वास छ। शिक्षाको गुणस्तर बढाउन पनि प्रविधि प्रभावकारी हुने अध्यक्ष सेजुवालले बताए।

सफ्टवेयरमा विद्यार्थीको स्वास्थ्य अवस्था, भाषागत शुद्धता, अनुशासन, सिकाई क्षमता, अतिरिक्त क्रियाकलापमा रुची तथा सहभागिता, बहुप्रतिभा तथा परीक्षाको प्राप्तांकसहितको विवरण प्राप्त गर्न सकिने जनाइएको छ।

विकट क्षेत्रका लागि सफ्टवेयर प्रभावकारी हुने रिभोलुसन टेक्नोलोजीका अध्यक्ष विक्रम तिवारींले बताए।

प्रकाशित: १ माघ २०७६, बुधबार

Comments are closed.

Loading...