नाफा घट्दा टेलिकमको बजारहिस्सा बढ्यो, भ्वाइस र डाटाको बजार क्रमशः ५४.८३ र ४८.४१ प्रतिशत

Technology Khabar २९ पुष २०७६, मंगलवार

नाफा घट्दा टेलिकमको बजारहिस्सा बढ्यो, भ्वाइस र डाटाको बजार क्रमशः ५४.८३ र ४८.४१ प्रतिशत
Global IME Bank

काठमाडौं ।

काठमाडौं । नेपाल दूरसंचार कम्पनी लिमिटेड नेपाल टेलिकमले आफ्नो भ्वाइस र डाटा सेवाको बजार बिस्तार गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा भ्वाइस र डाटा सेवाको बजार हिस्सा क्रमशः ३.९३ र ४.७५ प्रतिशतले बढाउन सफल भएको हो ।

टेलिकमको आज काठमाडौंमा भएको बाह्रौँ वार्षिक साधारण सभाको अवसरमा कम्पनीका अध्यक्ष, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले बजार बिस्तार गर्न सफल भएको जानकारी दिए ।

अध्यक्ष सुवेदीले कम्पनीको भ्वाइस र डाटा सेवाको बजार हिस्सा क्रमशः ३.९३ र ४.७५ प्रतिशतले वृद्धि भई ५४.८३ र ४८.४१ प्रतिशत पुगेको बताए । साथै उनले गुणस्तरीय सेवा तथा सेवाको सहज उपलब्धतामार्फत आफ्नो बजार हिस्सालाई मजबुत गर्न तथा व्यावसायिक उद्देश्य हासिल गर्न कम्पनी निरन्तर सेवाको संख्यात्मक विस्तार र गुणात्मक सुधार गर्न प्रतिबद्ध रहेको बताए ।

प्रविधिको तीब्र विकास भएसँगै विश्वव्यापी रुपमा भ्वाइस सेवाको व्यापारमा शिथिलता आई भ्वाइसको व्यापार क्रमिकरुपमा डाटा तथा अन्य भ्यालु एडेड सेवामा स्थानान्तरण हुने क्रम जारी रहेको बताए । साथै तीब्र प्रतिस्पर्धाको कारणले भ्वाइस तथा डाटा सेवाको महशुलमा व्यापक कटौतीका बाबजुद कम्पनीले कुल राजस्व र नाफा क्रमशः रू. ४३.८४ अर्ब र रू. ९.७६ अर्ब कायम गर्न सफल भएको जानकारी दिए ।

विभिन्न कारणले कम्पनीको नाफा घट्न गएको दृष्टान्त पेश गर्दै उनले वायरलेस प्रविधिको एलटिई एडभान्स्ड फोरजी एलटीई (4G/LTE) मोबाइल सेवाको विस्तार, एउटै लाइनबाट गुणस्तरीय टेलिफोन, तीब्र गतिको इन्टरनेट र टेलिभिजनसमेत चलाउन सकिने एफटीटीएच प्रविधिको विस्तार, डाटाको मागलाई बढाउने भ्यालु एडेड सेवाहरूको विस्तार साथै अन्तर्राष्ट्रिय रोमिङ सेवाको विस्तार र सेवाहरूको गुणस्तर सुधारलगायतका कार्यहरूमा कम्पनीले थप तीब्रता दिएकोले चालू आर्थिक वर्षदेखि कम्पनीको राजस्व वृद्धि हुने अपेक्षा गरिएको जानकारी दिए ।

अध्यक्ष सुवेदीले मुलकको आर्थिक तथा सामाजिक विकासमा योगदान पु¥याउँदै गुणस्तरीय तथा भरपर्दो दूरसञ्चार सेवाहरू सर्वसुलभ तरिकाले उपलब्ध गराउन चालू आर्थिक वर्षमा देशभरी फोरजी एलटिई प्रविधिको जीएसएम सेवा उपलब्ध गराउनुुका साथै नेटवर्क कभरेज नभएका र आयको दृष्टिकोणले तुलनात्मकरुपमा पछि परेका क्षेत्रहरूमा जीएसएम सेवा विस्तार गर्ने, वायरलाइन सेवातर्फ अप्टिकल फाइबर नेटवर्क÷एफटीटीएच प्रविधिबाट स्तरीय र भरपर्दो फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट तथा भ्वाइस सेवा विस्तार गर्ने, दूरसञ्चार सेवा प्रदान गर्नका लागि मध्यपहाडी लोकमार्ग तथा सोसँग जोडिएका क्षेत्रहरूमा अप्टिकल फाइबर नेटवर्क तथा माइक्रो रेडियो लिंक विस्तार गर्ने , कम्पनीले उपलब्ध गराउने सेवाहरूमा नियामक निकायले तोकेको मापदण्ड अनुसारको प्रमुख सूचकांकहरु कायम राखी नियमित अनुगमन तथा निरीक्षण गर्ने, कम्पनीद्वारा प्रदत्त दूरसञ्चार सेवाहरूमा विभिन्न सूचनामूलक मनोरञ्जनात्मक तथा नवीनतम भ्यालु एडेड सेवाहरू सञ्चालन गरी राजस्व वृद्धि गर्ने, सेवामा अवरोध आउन नदिन अन्य सिस्टमका अतिरिक्त विद्यमान बिलिङ सिस्टममा आवश्यक क्षमता वृद्धि गर्ने, सेवाहरूको विकास, विस्तार र प्रभावकारी बजारीकरण गर्न अनुसन्धान तथा विकास कार्यलाई निरन्तर अघि बढाउने  लक्ष्यहरू निर्धारण गरिएको जानकारी दिए।

मुलुकको विकट तथा ग्रामीण क्षेत्रहरूमा समेत सञ्चार तथा सूचना प्रविधि उपलब्ध गराई मुलुकमा व्याप्त डिजिटल डिभाइड न्यूनीकरण गर्ने र डिजिटल इन्क्लुजनको अवधारणालाई साकार पार्ने सिलसिलामा कम्पनीको योगदान महत्वपूर्ण रहेको बताउदै उनले देशव्यापी रुपमा आवश्यक पूर्वाधार विकासमा कम्पनीले विशेष ध्यान दिएको बताए ।

त्यसैगरी कम्पनीले जिम्मेवार राष्ट्रिय निकायको रुपमा सामाजिक उत्तरदायित्वका कार्यहरु र संस्थागत सुशासन तथा जोखिम व्यवस्थापनका लागि गरेका कार्यको समेत जानकारी दिए । कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा कर तथा गैरकरवापत सरकारी राजस्वमा ३३.३१ अर्ब रुपैयाँ दाखिला गरेको समेत उनले जानकारी दिए ।

यसबाट योजनाहरू निर्धारित समयमा कार्यान्वयन हुने, पूर्वाधार तथा नेटवर्क विस्तार हुने र कम्पनीको समग्र राजस्व तथा ग्राहक आधार वृद्धि हुनुका साथै प्रादेशिक संरचना अनुरुप कम्पनीको संस्थागत संरचनाको प्रारुपलाई परिमार्जित गर्नसमेत कम्पनीबाट पहल भइरहेको जानकारी दिए ।

सो साधारणसभाले आर्थिक वर्ष २०७५।७६ को मुनाफा रकम मध्येबाट प्रति शेयर ४५ रुपैयाँका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।

उक्त सभाले आर्थिक वर्ष २०७५।७६ को लागि सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको २०७६ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त हुने आर्थिक वर्ष २०७५/७६ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरणलाई छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।

Sajilo Visa

प्रकाशित: २९ पुष २०७६, मंगलवार

तपाइको प्रतिक्रिया