Technology Khabar २७ पुष २०७६, आईतवार
काठमाडौं ।
महोत्तरी । बर्दिवास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कम्प्युटर शिक्षक नहुँदा कम्प्युटर अलपत्र अवस्थामा पुगेका छन् । प्राविधिक शिक्षा पाउनबाट बालबालिका बञ्चित हुन पुगेका छन् । विद्यालयको भण्डारणमा १५ कम्प्युटर, १८ सिसीटिभी र एक थान एलसिडी थन्किएका हुन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संसदीय क्षेत्र विकास कार्यक्रम अन्तर्गत ती सामग्री प्रदान गरेका थिए ।
तर, शिक्षक नभएपछि ती सामग्री कोठामा त्यत्तिकै थन्किएका प्रधानाध्यापक सूर्यदेव महतो जानकारी दिए । “सामग्री भएर पनि हाम्रा विद्यार्थीले कम्प्युटर शिक्षा पढ्न पाएनन्”, उनले भने, “कम्प्युटर शिक्षकका लागि नगर कार्यपालिकाको कार्यालयमा हाम्रै विद्यालयका लागि विनियोजित रु ५ लाख छ, तर नगर शिक्षा शाखाले शिक्षक पठाउने तत्परताचाहिँ देखाएन ।”
उता नगर शिक्षा शाखाले नगरभित्रका सबै विद्यालयमा विषय शिक्षक मिलान गर्ने तयारी गरेको जनाएको छ ।
नगरका ५२ वटै सामुदायिक विद्यालयमा शिक्षक र विद्यार्थीको अनुपात र विषय मिलानका लागि गृहकार्य भइरहेको शिक्षा शाखाका निमित्त प्रमुख गणेशप्रसाद दाहालले जानकारी दिए ।
भङ्गाहा नगरपालिका–५ स्थित माध्यमिक विद्यालय, सीतापुर, सिद्धपुरमा पनि शिक्षककै अभावमा कम्प्युटर शिक्षाको अध्यापन हुनसकेको छैन । विद्यालयका १५ थान कम्प्युटर प्रयोगमा आउन नसकेको प्रधानाध्यापक श्रीराम यादवले बताए ।
प्रकाशित: २७ पुष २०७६, आईतवार