नेपाली उद्योगमा प्रविधि प्रयोग- अर्घाखाँची सिमेन्टको कन्ट्रोल रुमदेखि एशियन कंक्रिटोको रोबोटसम्म

Technology Khabar २७ पुष २०७६, आईतवार

नेपाली उद्योगमा प्रविधि प्रयोग- अर्घाखाँची सिमेन्टको कन्ट्रोल रुमदेखि एशियन कंक्रिटोको रोबोटसम्म
Classic Tech

अनुज राज ।

काठमाडौं । विश्वभर औद्योगिक क्षेत्रहरुमा सूचना प्रविधिको प्रयोग तिब्रगतिमा भईरहेको छ । तिब्रगतिको इन्टरनेट सेवाको उपलब्धतासँगै उत्पादनमुलक उद्योगहरुसमेत प्रविधिमा आधारित भएर उत्पादन गरिरहेका छन् । विश्व औद्योगिक प्रवृत्तिमा नेपाल पछि सँगसँग अगाडि बढिरहेको देखिन्छ ।

नेपालमा उद्योगहरुले विश्वबजारको जस्तो अत्याधुनिक प्रविधिहरु प्रयोग नगरेको भएपनि केहि कम्पनीहरु भने सूचना प्रविधिको सहयोगमा उत्पादकत्व वृद्धि गर्न लागेका छन् ।

अझ नेपालजस्तो कम विकसित मुलुकका उत्पादनमूलक केहि उद्योगहरुले नै प्रविधिको प्रयोग गर्नुले आगामी दिनहरुमा यसको सिको अन्य कम्पनीहरुले पनि गर्ने देखिन्छ ।

अर्घाखाँची सिमेन्टमा प्रविधि

विश्व बजारको प्रवृत्तिलाई अनुसरण गर्ने उद्योगमा नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग अर्घाखाँची सिमेन्ट प्रालि रहेको छ । नेपालको उच्च औद्योगिक घराना मुरारका समूहअन्तरगत संचालनमा रहेको अर्घाखाँची सिमेन्टले पछिल्लो दिनमा अत्याधुनिक सूचना प्रविधिको प्रयोग गर्दै सिमेन्ट उत्पादन गरिरहेको छ । अन्य नेपाली सिमेन्ट उद्योगहरुले परम्परागत र म्यानुअल प्रविधिबाट सिमेन्ट उत्पादन गरिरहेको समयमा अर्घाखाँची सिमेन्टले भने संसारकै आधुनिक सिमेन्ट उत्पादन प्रविधि प्रयोग गरिरहेको छ ।

उद्योगले डेनमार्कको कम्पनी एफएल स्मिथद्धारा विकास गरिएको भीआरएम टेक्नोलोजी प्रयोग गरिरहेको छ । यसबाहेक सोही कम्पनीको अटोमेसन प्रविधि जडान गरेको जून प्रविधि प्रयोग मार्फत कन्ट्रोलरुमबाटै एक जनाले नै सम्पूर्ण सिमेन्ट प्लान्टलाई संचालन गर्न सक्दछ ।

अर्घाखाँची सिमेन्टका संचालक तथा उद्योगी पशुपति मुरारकाले सिमेन्ट उत्पादन गर्नका लागि एफएल स्मिथको प्रोग्रामेबल लजिक कन्ट्रोल सिस्टम प्रयोग गरिएको जानकारी दिए ।

‘लाइमस्टोन हालिसकेर सामान उत्पादन गर्नेबेलासम्म विभिन्न मेसिनहरु संचालन गर्नुपर्ने हुन्छ । अहिले हामीले प्रोग्रामेबल लजिक कन्ट्रोल सिस्टम प्रयोग गरेका छौं । र कन्ट्रोल सेन्टरबाटै सबै कन्ट्रोल गर्न सक्दछौं,’ उद्योगी मुरारकाले भने ।उद्योगी मुरारकाकाअनुसार सम्पूर्ण प्लान्ट संचालन गर्न कन्ट्रोल रुममा मात्र कर्मचारी भए पुग्दछ । उनले यसअघिको परम्परागत प्रविधिलाई हटाएर अत्याधुनिक मेसिन र प्रविधि भित्र्याएर गुणस्तरीय उत्पादन गर्न खोजेको बताए ।

‘हामीले नयाँ र अत्याधुनिक प्रविधि सिमेन्ट उद्योगमा लगाएका छौं, जहाँ मेसिनले नै सम्पूर्ण उत्पादन नियन्त्रण गर्दछ र एकै स्तरको गुणस्तर मापदण्ड कायम गर्न सकिएकोछ, अत्याधुनिक प्रविधि प्रयोग गरेर उत्पादन गर्न सिमित कामदारहरु भए पुग्दछ,’ अर्घाखाँची सिमेन्टका संचालक मुरारकाले भने ।

शुरुवातमा ४ सय टन क्लिंकरबाट शुरु भएको उद्योगले हाल ३ हजार टन क्लिंकर उत्पादन र ग्राईण्डिंग ३ हजार टन प्रति दिन उत्पादन गरिरहेको छ । यस्तोमा कम्पनीले जडान गरेको प्रविधिले हरेक कार्यको स्वचालित जानकारी कम्प्यूटरमार्फत कन्ट्रोल रुपमा दिईरहेको हुन्छ । जसले गर्दा कुनै समस्या आएमा वा गुणस्तर नपुगेमा समेत सचेत गराईरहेको हुन्छ ।

यसबाहेक कम्पनीले उद्योगबाट निस्किने तातो हावालाई विद्युतको रुपमा रुपान्तरण गर्ने प्रविधि समेत जडान गरेको छ । यो प्रविधिले उद्योग संचालनको बेलामा निरन्तर चिम्निबाट निस्कने तातो हावालाई प्रविधिको प्रयोगमार्फत २ मेगावाटको विद्युतमा रुपान्तरण गराएको छ भने सोहि विद्युत उद्योग संचालनको लागि समेत प्रयोग हुँदै आएको छ ।

यी सम्पूर्ण प्रविधिहरु प्रयोग गर्न कम्पनीले तिब्र गतिको इन्टरनेट जडान गरेको छ, जसले गर्दा हरेक क्षणको सूचनाहरु सर्भरमा स्टोर हुने गर्दछ भने प्लान्टमा आएको समस्यालाई प्रविधि उपलब्ध गराएको कम्पनीले अनलाइनमार्फत नै तत्काल समाधान गर्न सक्दछ ।

सिमेन्ट उद्योगमा प्रविधिको प्रयोग गर्दा लगानी बढेपनि अन्य विषयहरुमा फाईदाजनक भएको उद्योगी मुरारकाको भनाई छ । ‘अत्याधुनिक प्रविधि प्रयोग गर्दा लगानी बढ्यो तर यसले गर्दा कामदारको समस्या कम हुनेभयो, उत्पादनको गुणस्तरमा कुनै सम्झौता हुँदैन भने वातावरण प्रदुषणमा समेत कमी भएको छ,’ उद्योगी मुरारकाले भने ।

श्री स्टिलमा प्रविधि प्रयोग

अत्याधुनिक प्रविधि प्रयोग गर्ने अर्घाखाँची सिमेन्ट उद्योग मात्र छैन् । यसबाहेक फलामे डण्डि उत्पादन गरिरहेको श्री स्टिल र एशियन कंक्रिटोले पनि अत्याधुनिक प्रविधि र उपकरणहरु प्रयोग गरिरहेका छन् ।

श्री स्टिलले आफ्नो प्लानमा युरोपेली प्रविधि ल्याएर डण्डि उत्पादन गरिरहेको छ जहाँ सेमी अटोमेटिक प्लान्ट जडान छ । सो मेसिनले तोकिएको गुणस्तर र मापदण्डअनुसार मात्र कच्चा पदार्थबाट डण्डि उत्पादन गर्दछ । र कच्चा पदार्थ मेसिनमा राखेदेखि अन्तिम उत्पादन निस्केसम्म नै पूर्णरुपमा मेसिनले त्यसलाई नियन्त्रण गर्ने सुविधा रहेको छ ।

कच्चा पदार्थ राख्ने र अन्तिम उत्पादनलाई मिलाउने बाहेक अन्य कार्यहरु सम्पूर्णरुपमा प्रविधिका साथमा मेसिनद्धारा नै गर्ने कम्पनीका संचालक राजेश अग्रवालले दिए ।एशियन कंक्रिटोमा प्रविधि

त्यस्तै अत्याधुनिक प्रविधि प्रयोग गर्ने अर्को कम्पनी हो एशियन कंक्रिटो । जहाँ रोबोटले नै सिमेन्टका ईँटा र ब्लकहरु उत्पादन गर्ने गरिन्छ ।
संभवत यो नेपालकै पहिलो र एक मात्र कम्पनी हो जहाँ अत्याधुनिक प्रविधियुक्त रोबोटले उत्पादनहरुको निरिक्षण, गुणस्तर मापन र अन्तिम उत्पादन गर्दछ । यसको लागि कम्पनीले विशेष किसिमको रोबोट भित्र्याएको छ । जर्मनीमा बनेको सो रोबोटद्धारा उत्पादन गरिने प्लान्टका लागि मात्रै एशियन कंक्रिटोले १ अर्ब रुपैयाँ भन्दा बढि लगानी गरेको छ ।

सो रोबोट मेसिनले तोकिएको डिजाइन, साइज र रंगहरुको संयोजन गरेर कंक्रिट ईँटा, ब्लक, टायललगायतका सामाग्रीहरु निर्माण गर्दछ । जून निर्माण क्षेत्रमा प्रयोग गर्न सकिन्छ । सो रोबोटिक सिस्टमबाट उत्पादन हुने सामाग्रीहरुका लागि कन्ट्रोल रुमबाट नै सम्पूर्ण प्रकृयालाई हेर्न र नियन्त्रण गर्न सकिन्छ । जसले गर्दा उद्योगलाई सम्पूर्ण उत्पादनहरुमा गुणस्तर एकरुपता कायम गर्न संभव भएको छ ।यी तीनवटै उद्योगहरुमा लगानी गरेका उद्योगी राजेश अग्रवालका अनुसार परम्परागतरुपमा उद्योगहरु चलाउने भन्दा पनि अत्याधुनिक प्रविधिको प्रयोग गर्ने उद्धेश्य लिईएको हो । ‘हामीले अन्य उद्योगहरु जस्तै परम्परागत तरिकाले उत्पादन गर्न सक्थ्यौं, तर भविश्यलाई हेरेर हामीले अत्याधुनिक प्रविधिहरु उद्योगमा जडान गरेका हौं,’ उद्योगी अग्रवालले भने ।

उनले प्रविधिमा लगानी गर्न निकै जोखिमयुक्त र ठूलो लगानी आवश्यक पर्ने भएपनि उपभोक्ताहरुलाई गुणस्तरीय उत्पादन दिने प्रमुख लक्ष्य हो ।उद्योगहरुमा प्रविधिको प्रयोगबारे त्यस्तै भनाई रहेको छ उद्योगी मुरारकाको पनि । उनले पछिल्लो दिनमा नयाँ प्रविधिहरुको विकास र प्रयोग भईरहेको भन्दै त्यसलाई रोक्न नसकिने बताए ।

‘पछिल्लो दिनमा एआईलाई (आर्टिफिसियल इन्टेलिजेन्स) हामी रोक्न सक्दैनौँ, तर यसले मान्छेलाई रिप्लेस गर्छ। एआईले परफेक्सन पनि ल्याउँछ । प्रविधिलाई स्विकार गर्ने वा अस्विकार गर्ने भन्ने विषय हो । टेक्नोलोजीले परफेक्सन पनि ल्याउँछ र सस्तो पनि भएको छ,’ उद्योगी मुरारकाले भने ।

यी तीन उद्योगहरु र लगानीकर्ताहरुलाई मात्रै हेर्ने हो भने पछि पछिल्लो दिनहरुमा नेपाली उत्पादनमूलक उद्योगहरु प्रविधिमा आधारित हुँदै गएको देखिन्छ । यसले नेपाली कम्पनीहरु पनि विश्व बजारमा प्रविधिको प्रयोगमा अग्रसर छन भन्ने संदेश गएको त छ नै अन्य कम्पनीहरुलाई पनि प्रविधिमा लगानी गर्न प्रेरित गरिरहेका छन् । जसले गर्दा लागत कम हुने र गुणस्तरीय उत्पादन गर्न संभवन हुन्छ र अन्ततः उपभोक्ताहरुलाई फाईदा गर्दछ ।

(उद्योगहरुको स्थलगत अवलोकनपछि तयार पारिएको। यसको लागी कम्पनीहरुले यातायात तथा बासस्थानको सुविधा उपलब्ध गराएका थिए ।)

प्रकाशित: २७ पुष २०७६, आईतवार

Comments are closed.

Loading...