सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिहरुलाई ठगी गरेको अभियोगमा ५ जना पक्राउ

Technology Khabar २५ पुष २०७६, शुक्रबार

सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिहरुलाई ठगी गरेको अभियोगमा ५ जना पक्राउ

काठमाडौं । विदेशबाट पार्सल पठाएको भन्दै बिभिन्न व्यक्तिहरुलाई ठगी गरेको अभियोगमा ५ जनालाई काठमाडौंका विभिन्न स्थानबाट बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुले फेसबुक, ह्वाटस्एप, इमो, भाइबरलगायतका सामाजिक सञ्जालमार्फत नेपालका विभिन्न व्यक्तिहरुलाई साथी बनाई उपहारहरु पठाई दिने भन्दै ठगी गरेका थिए।

पक्राउ पर्नेहरुमा नाजेरियाका ४० वर्षीय सिरिल सिनोन्सो इबेहे, आइबेरिकोष्टका असापी अजि पेरेजिन, छन् भने नेपालीहरुमा चितवन गुञ्जनगरका राम चन्द्र गैह्रे, काठमाडौं ठमेलका उमेश श्रेष्ठ र चितवन कालिकानगर नगरपालिकाका हरि ओझा रहेका छन् ।

प्रहरीकाअनुसार उनीहरुले विभिन्न सामाजिक सञ्जालमार्फत विदेशी नागरिकहरुको नाममा प्रोफाइल तयार गरी नेपालका विभिन्न व्यक्तिहरुलाई सामाजिक सञ्जालमा साथी बनाई विभिन्न वहुमूल्य सामान, बेलायती पाउण्ड तथा अमेरिकी डलर समेत भएको पार्सल पठाईदिन्छु भन्दै उक्त सामानको फोटो समेत पठाई झुठो प्रलोभनमा पारी पार्सल लिएर मेरो मान्छे नेपालमा आउँदैछ र सो सामानहरु लिनु भन्ने गरेका थिए ।

त्यसपछि नेपालमा भएको सम्पर्क ९८०३८०४८५८ नम्बरबाट विदेशी नागरिकले फोन गरी तपाईको सामान मैले लिएर आएको थिएँ र एयरपोर्टमा एक्सरे मिसिनबाट हेर्दा डलर समेत रहेछ त्यसैले सो छुटाउनको लागि नेपाली पैसा चाहिने भयो भनेर सम्पर्क गरी नेपालमा रहेको विभिन्न व्यक्तिहरुको खातामा रकम जम्मा गर्न लगाई ठगी गर्ने कार्यमा सक्रिय रहेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका सबैलाई ठगी मुद्दामा म्याद थप गरी यस सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले जनाएको छ ।

केहि दिनअघि मात्रै प्रहरीले अलाईनमार्फत् ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ५ जना पक्राउ गरेको थियो । अनलाईनमार्फत् ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ५ जनालाई उपत्यकाका विभिन्न स्थानबाट पुस २२ गते सोमबार साँझ प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ पर्नेहरूमा रौतहट मंगलपुर गाउँपालिकाकी सर्मिला कुमारी श्रेष्ठ, मोरङ विराटनगरका अलङकार जैन,  काठमाडौं बालाजुका सुशिल गुरुङ तथा भारतीयहरु नविन अग्रवाल र आनन्द अग्रवाल छन् ।

उपत्यकाको बिभिन्न स्थानमा व्यवसाय गरी बस्ने गरेका ब्यक्तिहरुले अनलाईनमार्फत् ठगी धन्दा संचालन गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रकाशित: २५ पुष २०७६, शुक्रबार

Comments are closed.

Loading...