बाँकी बक्यौता नतिर्ने टेलिकम कम्पनीहरुलाई सरकारबाट किस्ताको सुविधा, ५ किस्तामा तिरे पुग्ने

Technology Khabar २४ पुष २०७६, बिहीबार

बाँकी बक्यौता नतिर्ने टेलिकम कम्पनीहरुलाई सरकारबाट किस्ताको सुविधा, ५ किस्तामा तिरे पुग्ने
फाइल

काठमाडौं । सरकारले बाँकी बक्यौता तिर्नुपर्ने कम्पनीहरुलाई आगामी ४ वर्षमा रकम तिर्ने सुविधा दिएको छ । मन्त्रिपरिषदको पुस २१ गते बसेको बैठकले तीन कम्पनीहरुलाई पाँच किस्तामा ४ वर्षभित्र बाँकी बक्यौता रकम तिर्ने सुविधा दिएको हो ।

मन्त्रिपरिषदले यसअघि नेपाल दूरसंचार प्राधिकरणले साउन १३ गते अनुमतिपत्र खारेज हुने गरी गरेको निर्णय बदर गर्दै तीनवटा कम्पनीहरुलाई बाँकी बक्यौता रकम किस्तामा तिर्ने सुविधा दिएको हो ।

दूरसंचार कम्पनीहरु नेपाल स्याटेलाइट टेलिकम प्रालि (हेलो नेपाल), स्मार्ट टेलिकम प्रालि(स्मार्ट टेलिकम) र इन्टरनेट सेवा प्रदायक वेब सर्फर नेपाल कम्यूनिकेशन सिस्टम प्रालिको अनुमति पत्र बचाउँदै सरकारले पाँच किस्तामा बाँकी बक्यौता तिर्ने सुविधा दिएको हो ।

मन्त्रिपरिषदको निर्णयअनुसार कम्पनीले हालसम्म तिर्नु बुझाउनुपर्ने साँबा ब्याजसहितको सबै किसिमको रकम पाँच किस्तामा नबढ्ने गरी पहिलो किस्ता चालु आर्थिक वर्ष भित्रै बुझाउनुपर्नेछ । त्यसैगरि बाँकी रकम भने प्रत्येक ४ वर्षभित्र प्रत्येक आवको असार मसान्तभित्रै एक किस्ताका दरले पाँच किस्तामा बुझाउनुपर्ने गरी समय दिएको छ । पाँच किस्तामा तिर्ने सुविधाअनुसार यो वर्ष एक किस्ता रकम तिर्नेछ भने बाँकी ४ किस्ता ४ वर्षमा तिर्नुपर्नेछ

निर्धारित समयभित्र प्रत्येक किस्ता रकम र प्रचलित कानून बमोजिम बुझाउनुपर्ने रकम नबुझाएमा प्रचलित कानूनबमोजिम अनुमतिपत्र खारेज गर्नेलगायतका कारबाही हुने जानकारी गराउन संचार तथा सूचना प्रविधि मन्त्रालयमार्फत नेपाल दूरसंचार प्राधिकरणलाई लेखी पठाउने निर्णय गरेको छ ।

प्रकाशित: २४ पुष २०७६, बिहीबार

Comments are closed.

Loading...