Technology Khabar २४ पुष २०७६, बिहीबार
काठमाडौं ।
काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई नियमन गर्न अनलाइन प्रणाली अपनाउने भएको छ । हाल भौतिकरुपमा पत्र पठाएर निर्देशन तथा आदेशहरु जारी गरिरहेको बीमा समितिले अबदेखि भने अनलाइनमार्फत त्यस्तो निर्देशनहरु तथा आदेशहरु बीमा कम्पनीलाई दिने योजना लिएको छ ।
यसको लागि हालै बीमा समितिले इन्स्योरेनस रेगुलेटरी म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम (आरआरएमआईएस) जडान गर्न टेण्डर माग गरेको छ ।
समितिकाअनुसार सो सिस्टममार्फत आगामी दिनमा बीमा कम्पनीहरुलाई राष्ट्र बैंकको जस्तैगरि अनलाइनमार्फत नै निर्देशनहरु तथा आदेशहरु दिईनेछ । यसको लागि समितिले सबै बीमा कम्पनीहरुलाई यूजरनेम र पासवर्ड उपलब्ध गराउने छ । यस्तो निर्देशनहरु दिँदा वा बीमा कम्पनीहरुबाट सूचना तथा जानकारीहरु लिँदा रियल टाइममा नै हेर्न सकिने हुन्छ ।
आरआरएमआईएस सम्बन्धि सफ्टवेयर टेण्डर पार्ने कम्पनीले तोकिएको आधारमा सेवाहरुसहितको सफ्टवेयर उपलब्ध गराउनुपर्नेछ ।
बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारीले बीमा समितिमा सूचना उपलब्ध गराउने किसिमको सफ्टवेयर निर्माण गर्न लागिएको जानकारी दिए ।
सो सिस्टम राख्नका लागि करिब २० लाख रुपैयाँ बजेट छुट्याईएको बताईएको छ । समितिले आगामी आर्थिक वर्षको शुरुवातदेखि सो प्रणाली संचालनमा ल्याउने योजना लिएको छ ।
हाल नेपाल राष्ट्र बैंकले यस्तो सिस्टममार्फत आफ्ना मातहतका वित्तीय संस्थाहरुलाई निर्देशन तथा अनुगमन गर्ने गरेको छ भने बैंकहरुबाट पनि सोहि प्रणालीमार्फत रिपोर्टहरु प्राप्त गर्दै आएको छ ।
प्रकाशित: २४ पुष २०७६, बिहीबार