Technology Khabar २४ पुष २०७६, बिहीबार
काठमाडौं ।
काठमाडौं । जापानको इलेक्ट्रोनिक्स कम्पनी सोनीले पहिलो पटक कार निर्माण गरेको छ । कम्पनीले ‘सोनी भिजन–एस’ इलेक्ट्रिक कारको प्रोटोटाईप लन्च गरेको छ । हाल अमेरिकामा आयोजना भईरहेको कन्जुमर ईलेक्ट्रोनिक्स शो २०२० मा सोनीले आफ्नो पहिलो इलेक्ट्रिक कन्सेप्ट कार लन्च गरेको हो ।
कम्पनीले तयार गरेको इलेक्ट्रिक सेडान कारको प्रोटोटाइप बोस्च, कन्टिनेन्टल, जेन्टेक्स, एनभिडिया र माग्नासँग मिलेर तयार पारेको हो।
सोनी विश्वभर ईलेक्ट्रोनिक्स उपकरणहरु टेलिभिजन, क्यामरा, मोवाइल, क्यामरा सेन्सर लगायत उत्पादनमा निकै चर्चित कम्पनी हो। कम्पनीले कार उत्पादनमा प्रयोग हुने विभिन्न उपकरणहरु यसअघिदेखि नै बनाउँदै आएको भएपनि पहिलो पटक आफ्नै ब्राण्डमा कार ल्याएको हो ।
सोनीको भिजन–एस कन्सेप्टमा ३३ फरक–फरक सेन्सरहरु प्रयोग गरिएको छ। उक्त सेन्सरहरु कारको एक्स्टेरियर र इन्टेरियरमा प्रयोग गरिएको कम्पनीले जनाएको छ । यी सबै सेन्सरहरु सुरक्षालाई मध्यनजर गर्दै प्रयोग गरिएको कम्पनीको भनाई छ ।
सेनीलेको इलेक्ट्रिक कन्सेप्ट कारमा ठूलो विन्डस्क्रिन डिस्प्ले, ३६० अडियो, लेटेस्ट कनेक्टीभिटी उपलब्ध रहेको छ ।यसको प्रत्येक सिटमा छुट्टाछुट्टै अडियो स्पीकरहरु राखिएका छन् ।
यसमा पोर्चे को जस्तै हेडल्याम्प दिइएको छ । यसमा अगाडिको यात्रुको लागि छुट्टै स्क्रिन उपलब्ध रहने छ ।यसको ड्यासबोर्ड डिस्प्ले ड्राइभर र पेसेन्जरहरुसँग इन्टर्याक्टिभ गर्ने किसिमले बनाईएको छ ।
‘यो भविष्यको यातायातको लागि सोनीको एउटा प्रयास हो । यसमा कम्पनीले सुरक्षा, ईलेक्ट्रिफिकेसन र मनोरञ्जनलाई प्राथमिकतामा राखेर काम गरेको छ । हामीले आफुसँग भएको विज्ञताको प्रयोग गर्दै नयाँ रणनीतिका साथ यो इलेक्ट्रिक कारको कन्सेप्ट ल्याएका हौँ,’ सोनीका सिइओ किनिरिचो यासुदाले भने ।
कम्पनीले ल्याएको सो प्रोटोटाइपमा पूर्णत स्वचालित प्रणाली जडान गरिएको छ । सोनीको पहिलो कारमा क्रुज कन्ट्रोल अटोमेटिकली पार्किंगलगायतका सुविधा छ भने यो कार ५जी, क्लाउड एआईलगायतका अन्य ईमर्जिंग टेक्नोलोजीहरुसहित प्रयोग गर्न सकिन्छ ।
यो इलेक्ट्रिक कार भिजन एसमा २०० किलोवाटको मोटर प्रयोग गरिएको छ भने ४.८ सेकेण्डमा १०० किलोमिटर प्रतिघण्टाको गतिमा दौड्न सक्दछ । यसको टप स्पीड २४० किलोमिटर प्रति घण्टा रहेको छ ।
https://www.youtube.com/watch?v=j1RAdaSFWkM&feature=emb_title
प्रकाशित: २४ पुष २०७६, बिहीबार