दूरसंचार सेवाको टावर ७ मिटरभन्दा अग्लो बनाउन रोक, सहप्रयोग हुने किसिमले निर्माण गरिनुपर्ने

Technology Khabar २३ पुष २०७६, बुधबार

दूरसंचार सेवाको टावर ७ मिटरभन्दा अग्लो बनाउन रोक, सहप्रयोग हुने किसिमले निर्माण गरिनुपर्ने
Classic Tech

अनुज राज ।

काठमाडौं । दूरसंचार सेवामा प्रयोग हुने टावरहरु अबदेखि ७ मिटरभन्दा अग्ला बनाउन नपाईने भएको छ । हालै नेपाल दूरसंचार प्राधिकरणद्धारा पारित ‘दूरसंचार टावर निर्माण तथा संचालन सम्बन्धी विनियमावली, २०७६’ अनुसार ७ मिटर भन्दा अग्ला टावरको निर्माणमा रोक लगाएकाे छ ।

प्राधिकरणले सेवा प्रदायकलाई ७ मिटरभन्दा अग्ला टावरको निर्माण र संचालनमा रोक लगाएको छ भने दूरसंचार पूर्वाधार नियमावलीअनुसार पूर्वाधार सेवाको अनुमति लिएको कम्पनीलाई भने त्यस्तो टावर अनुमति लिएर मात्र बनाउन दिने भएको छ ।

सो विनियमावलीअनुसार हाल संचालमा रहेका टावरहरुको बारेमा समेत सेवा प्रदायक वा स्वामित्व प्राप्त व्यक्तिले प्राधिकरणलाई ३ महिनाभित्र बिस्तृत जानकारी दिनुपर्ने उल्लेख छ ।

विनियमावलीले टावर राख्नुपर्ने मापदण्डको बारेमा स्पष्ट व्याख्या गरेको छ भने टावरको उचाई र टावर राखिने स्थानलगायतका बारेमा पनि स्पष्ट पार्नुपर्ने प्रावधान ल्याएको छ ।

त्यसैगरि हवाई क्षेत्रहरुमा राखिने टावरको लागि अबदेखि नागरिक उड्डयन प्राधिकरणसँग समेत स्विकृती लिनुपर्ने व्यवस्था गरिएको छ । त्यसरी निर्माण गरिने टावर समेत हवाई उड्डयन सुरक्षामा कुनै किसिमको बाधा अवरोध नपुग्ने गरी निर्माण गरिनुपर्ने छ ।

दूरसंचारका टावरहरु राख्दा उच्च भोल्टेज भएका ट्रान्समिसन लाइनको वरिपरि वा नजिकै राख्न नहुने व्यवस्था गरिएको छ ।

यसका साथै टावर संरचना डिजाइन गर्दा सरकारी मापदण्ड र आचार सहिता तथा अन्तराष्ट्रिय मापदण्डलाई पालना गर्नुपर्नेछ भने डिजाइन समेत प्राधिकरणलाई उपलब्ध गराउनुपर्नेछ ।

यदि ७ मिटरभन्दा बढि उचाईका टावरहरु बनाउनुपर्नेमा पर्याप्त आधार र कारणहरुसहित स्ट्रक्चरल इन्जिनियले डिजाइन गरेको हुनुपर्ने प्रावधान राखिएको छ । त्यसैगरि कुनैपनि घरको छतमाथि राखिने टावरको संरचना र उचाईको बारेमा समेत विनियमावलीले स्पष्ट पारेको छ ।

टावरहरुमा चट्याङ्गको जोखिम बढी हुनेहुँदा त्यस्ता टावरहरुमा अर्थिंङ्ग जडान गरिनुपर्नेछ भने चट्याङ्ग प्रतिरोधी उपायहरु अपनाउनुपर्नेछ ।
टावर निर्माणको उचाई र मापदण्डसहित विनियमावलीले नेपाली निमार्ण कम्पनीलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरेको छ । तर त्यस्तो टावर अन्तराष्ट्रिय मापदण्डअनुरुप वेल्डिंग र निर्माण गर्न सक्ने किसिमको हुनुपर्नेछ ।

नयाँ विनियमावलीले टाावरको सह प्रयोगलाई समेत जोड दिएको छ । टावरको प्रभावकारी प्रयोग गर्न, सस्तो दरमा सेवा उपलब्ध गराउनेलगायतका विषयलाई ध्यानमा दिई टावरहरु बनाउँदा नै सहप्रयोग गर्न सक्नेगरी निर्माण गरिनुपर्ने भएको छ ।

यस्तो सहप्रयोग गर्न सकिने टावर नकारात्मक असर नपर्ने किसिमले बनाईनुपर्नेछ भने ग्राहकलाई कम सेवा शुल्कम बढीभन्दा बढी सुविधा दिने विषयलाई ध्यानमा राखिनुपर्नेछ ।

टावर निर्माणका साथै उपयोगमा नभएका टावरहरुसमेत सम्बन्धित सेवा प्रदायक वा व्यक्तिले हटाउनुपर्ने प्रावधान नयाँ विनियमावलीमा राखिएको छ । कुनैपनि टावर संरचना लगातार ६ महिनाभन्दा बढि उपयोगमा नआएमा त्यस्तो टावर संरचनालाई उपयोग बिहिन टावर मानिने र त्यस्तो टावर सम्बन्धित सेवा प्रदायकले हटाउनुपर्ने व्यवस्था गरिएको छ ।

सेवा प्रदायकले नयाँ टावर निर्माण गर्दा विद्यालय वा अस्पताल वा पुरातात्विक महत्वका स्थानबाट कमितमा १०० मिटर टाढा पर्नेगरि मात्र टावर राख्न पाईनेछ । र त्यस्तो स्थानहरुमा राख्नैपर्ने अवस्थामा पनि ७ मिटरभन्दा अग्ला टावर निर्माण गर्न रोक लगाईएको छ ।

प्रकाशित: २३ पुष २०७६, बुधबार

Comments are closed.

Loading...