Technology Khabar १८ पुष २०७६, शुक्रबार
काठमाडौं ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्वन्धी एकीकृत निर्देशन २०७६ जारी गर्दै बैंक खाताबाट मोबाइल वालेटमा ट्रान्सफर हुने रकम प्रतिकारोबार ५ हजार रुपैयाँबाट २५ हजार पुर्याएको छ।
बैंक खाताबाट अब नयाँ नियमअनुसार एकै पटक २५ हजार रुपैयाँसम्म मोबाइल वालेटमा ट्रान्सफर गर्न सकिनेछ। बैंक खाताबाट वालेटमा दैनिक १ लाख रुपैयाँसम्म र मासिक ५ लाखसम्म ट्रान्सफर गर्न सकिने निर्देशिकामा उल्लेख छ।
एक वालेटबाट अर्को वालेटमा प्रतिदिन २५ हजार रुपैयाँ पठाउन सकिनेछ भने प्रतिमहिना ५० हजारसम्म पठाउन सकिने नयाँ व्यवस्था गरिएको छ। मोबाइल वालेटको एजेन्ट वा सब एजेन्टबाट एक दिनमा २५ हजार रुपैयाँसम्म वालेटमा पठाउन सकिन्छ। यसअघि यो सीमा १५ हजार रुपैयाँसम्म मात्र थियो।
त्यस्तै मोबाइल वा इन्टरनेट बैंकिङबाट प्रतिदिन ५० हजार वा प्रतिमहिना अधिकतम २ लाख तथा इन्टरनेट बैंकिङ कारोबार प्रतिदिन १० लाख रुपैयाँसम्म गर्न सकिने व्यवस्था गरिएको छ।
एटिएमबाट एक पटकमा २५ हजार रुपैयाँसम्म र दैनिक १ लाख रुपैयाँसम्म झिक्न पाइने व्यवस्था भने यथावत राखिएको छ।
कार्डहरुमार्फत हुने कारोबार सम्बन्धि व्यवस्थामा राष्ट्र बैंकले आधुनिक प्रविधिमार्फत हुने भुक्तानीलाई पनि समावेश गरेको छ । जसमा प्रिपेड कार्ड र डेबिट कार्डबाहेक कियोस्क टर्मिनलमा हुने कारोबारलाई समेत समेटेको छ । कार्डबाट अधिकतम २५ हजार रुपैयाँसम्म प्रति कारोबार गर्न सकिन्छ भने कियोस्क टर्मिनलमा प्रतिदिन २५ हजार रुपैयाँ र प्रति महिना ५० हजार रुपैयाँको सीमा तोकिएको छ ।
यसबाहेक नियर फिल्ड कम्यूनिकेसन प्रविधि अर्थात कन्ट्याक्टलेस कार्डमार्फत हुने कारोबारको बारेमा पनि स्पष्ट व्यवस्था गरिएको छ । जसमा कन्ट्याक्टलेस कार्डमार्फत प्रति कारोबार २ हजार रुपैयाँसम्मको सीमा तोकिएको छ ।
नयाँ निर्देशिकाअनुसार मासिक ५ हजार रुपैयाँसम्म मात्र मोबाइल वालेटमा कारोबार गर्ने ग्राहकलाई अनलाइनमार्फत ग्राहक अधावधिक फाराम भराउने वा अपडेट गराए पुग्ने व्यवस्था गरिएको छ । तर ५ हजार रुपैयाँ भन्दा बढिको मासिक कारोबार गर्नेले भने राष्ट्र बैंकको निर्देशनअनुसारको ग्राहक पहिचान फाराम भर्नुपर्नेछ ।
राष्ट्र बैंकले इन्टरनेट बैकिंग सेवा वा दूरसंचार संजाल प्रयोग गरि हुने कारोबार गर्न चाहने कम्पनी वा संस्थाहरुलाई अनुमतिको लागि निवेदन दिने म्याद समेत थप गरेको छ । राष्ट्र बैंककाअनुसार मोबाइल वित्तीय सेवा वा इन्टरनेट सेवा संचालन गर्न चाहनेहरुले २०७७ असार मसान्त भित्र कारोबार संचालनको अनुमतिको लागि निवेदन दिनसक्नेछन् ।
प्रकाशित: १८ पुष २०७६, शुक्रबार