ठमेलमा इन्टरनेटको तार काटिँदा मोबाइल टावरहरुमा पनि समस्या, टेलिकम कम्पनीहरु मर्मतमा

Technology Khabar ८ पुष २०७६, मंगलवार

ठमेलमा इन्टरनेटको तार काटिँदा मोबाइल टावरहरुमा पनि समस्या, टेलिकम कम्पनीहरु मर्मतमा
काठमाडौंको ठमेलमा काटिएको इन्टरनेट तथा केबुलका तार । फाइल तस्बिर

काठमाडौं ।

काठमाडौं । हालै ठमेलमा इन्टरनेट तथा केबुल टिभीको तार काटिँदा नेपाल टेलिकम र एनसेलको मोबाइल सेवा समेत प्रभावित भएको छ । यसअघि इन्टरनेट तथा केबुल टिभीको मात्र सेवा अवरुद्ध भएको बताईँदै आएपनि नेपाल टेलिकम र एनसेलका टावरहरुमा पनि समस्या देखिएको हो । टेलिकम कम्पनीका बिटिएसमा जोडिएका अप्टिकल फाइबर पनि काटिदिँदा मोबाइल टावरमा समस्या आएको हो ।

नेपाल टेलिकमको ७ वटा बिटिएस टावरमा असर परेको छ भने एनसेलको पनि सोहि संख्यामा बिटिएस टावरहरु प्रभावित भएका छन् ।
नेपाल टेलिकमका एक अधिकारीले ७ वटा टावरहरुमा समस्या आएको जानकारी दिए ।

‘इन्टरनेट तथा ब्याकबोनको तार काटिएपछि ठमेल क्षेत्रका ७ वटा टावरहरुमा समस्या आएको थियो, अहिले करिबकरिब समाधान गरेका छौं,’ उनले भने ।

त्यसैगरि एनसेलको पनि ७ वटा टावरका फाइबर केबल काटिँदा मोबाइल सेवा संचालनमा समस्या देखिएको सोमबार भएको सरोकारबाला निकायहरुबिचको छलफलमा जानकारी दिएको छ। कम्पनीले हाल सो स्थानमा माइक्रोवेबमार्फत सेवा दिईरहेको बताईएको छ ।नेपाल दूरसंचार प्राधिकरणका निर्देशक तथा प्रवक्ता मिन प्रसाद अर्यालले पनि अप्टिकल केबल काटिदिँदा मोबाइल टावरमा अवरोध आएको कम्पनीहरुले जानकारी दिएको बताए ।

‘हामीकहाँ औपचारिक जानकारी दिएको थाहा छैन तर ठमेल क्षेत्रमा आफ्ना तारहरु काटिदिँदा नेपाल टेलिकम र एनसेल दुबैले बिटिएसमा समस्या आएको भनेका छन्,’ प्रवक्ता अर्यालले टेक्नोलोजीखबरसँग भने ।

हाल नेपाल टेलिकमले आफ्नो काटिएको तारहरु जोड्ने र सेवा शुचारु गर्ने क्रममा छ भने एनसेलले पनि टावरमा तार जोड्ने प्रयास गरिरहेको जानकारी दिएको छ । तर इन्टरनेट सेवा प्रदायकहरु भने अझै पर्ख र हेरको अवस्थामा छन् ।

इन्टरनेट सेवा प्रदायक संघ नेपाल( आइस्पान)का अध्यक्ष भोजराज भट्टले ठमेलमा तार काटिएको विषयमा सबैपक्षबिच छलफल भएको र सो समस्या समाधान गर्न उप समिति गठन गरेर संयुक्तरुपमा अगाडि बढ्ने बताए ।

सोमबार दूरसंचार प्राधिकरणमा सबैपक्षबिच छलफल भएको छ, उपसमिति गठन गर्ने र एक सातामा विवाद समाधान गर्ने सहमति भएको छ,’आइस्पान अध्यक्ष भट्टले भने ।सो छलफलमा सबै सरोकारबाला निकायबाट प्रतिनिधिहरु सम्मिलित गरेर समस्या समाधान उप समिति गठन गर्ने र सो समितिले विवाद तथा समस्या समाधानको निकास निकाल्ने बताईएको छ। सो समितिमा दूरसंचार प्राधिकरण, आइस्पान, केबुल टिभी महासंघ, ठमेल पर्यटन विकास परिषद रहनेछन भने सो उपसमितिमा नेपाल टेलिकम, एनसेल, नेपाल विद्युत प्राधिकरणका प्रतिनिधिहरु समेत रहनेछन् ।

सो उपसमिति गठनको लागि प्राधिकरणले सोमबार नै सरोकारबाला निकायहरुलाई पत्राचार गरिसकेको जनाएको छ । उपसमितिले आगामी दिनमा यस्तो समस्या नआउन दिनका लागि काम गर्ने र हालको समस्याको निकास खोज्ने बताईएको छ ।

Global Bank
easy care

प्रकाशित: ८ पुष २०७६, मंगलवार