फोरजी बिस्तार गरेको असोजमा टेलिकमका ३ हजार ग्राहक मात्रै थपिए, एनसेलको भने २ लाख बढे

Technology Khabar ७ पुष २०७६, सोमबार

फोरजी बिस्तार गरेको असोजमा टेलिकमका ३ हजार ग्राहक मात्रै थपिए, एनसेलको भने २ लाख बढे

काठमाडौं । नेपाल टेलिकमले आफ्नो ४जी सेवा देशभर बिस्तार गर्दा पनि अपेक्षाकृतरुपमा सेवाग्राहीहरु बढाउन सकेको छैन् । कम्पनीले अन्य ४जी सेवा प्रदायकहरुको तुलनामा निकै कम सेवाग्राहीहरु असोज महिनामा थप्न सकेको छ ।

नेपाल दूरसंचार प्राधिकरणले ढिलोगरि सार्वजनिक गरेको असोज महिनाको एमआईएस रिपोर्टअनुसार टेलिकमको फोरजी ग्राहक संख्याको वृद्धि निकै सुस्त रहेको देखिन्छ । नेपाल टेलिकमले भदौ र असोजको बिचमा केबल ३ हजार १२७ जना फोरजीका ग्राहकहरु थप गरेको छ । टेलिकमका फोरजी ग्राहकहरु असोज महिनामा ८ लाख ३८ हजार १२२ जना पुगेका छन् ।

तर सोहि अवधिमा अन्य फोरजी सेवा प्रदायकहरु एनसेल र स्मार्ट टेलिकमले भने नेपाल टेलिकमको भन्दा बढि ४जी ग्राहक थप गरेका छन् ।
एनसेलले सो अवधिमा १ लाख ९७ हजार भन्दा बढि फोरजीका ग्राहकहरु थप गर्न सफल भएको छ ।

नेपाल टेलिकमले असोज महिनामा नै प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा देशभर नै फोरजी बिस्तार गराएको थियो । तर त्यसको सकारात्मक प्रभाव अझै टेलिकमको ४जी सेवाग्राहीमा देखिएको छैन् ।

फोरजीका सेवाग्राहीहरु थप गर्न नसकेपनि टेलिकमले ३जीमा भने उल्लेख्य ग्राहक थप गरेको छ । सोहि अवधिमा कम्पनीले २ लाख १५ हजार भन्दा बढि ग्राहकहरु थ्रीजी सेवामा थप गर्न सकेको छ ।

तर सो संख्या पनि सोहि अवधिमा एनसेलले थप गरेको थ्रीजी ग्राहकहरुको भन्दा कम नै हो । असोज महिनामा एनसेलसँग थ्रीजीका ३४ लाख ५६ हजार भन्दा बढि ग्राहक छन जुन अघिल्लो भदौ महिनाको तुलनामा ५ लाख ६७ हजार ५०१ भन्दा बढि हो ।

असोज महिनामा स्मार्ट टेलिकमसँग भने २३ लाख ५७ हजार ७७७ जना फोरजीका ग्राहकहरु रहेको देखिन्छ ।

रिपोर्टअनुसार असोज मसान्तमा ब्रोडब्याण्ड प्रयोगकर्ताहरुको पहुँच ७०.४१ प्रतिशत पुगेको छ जसमध्ये मोबाइल ब्रोडब्याण्डको पहुँच ५४.७४ प्रतिशत रहेको छ । भदौ र असोज महिनाको अन्तरमा नै कुल ब्रोडब्याण्डको पहुँचमा करिब ४ प्रतिशतको वृद्धि भएको छ भने मोबाइल ब्रोडब्याण्डको पहुँचपनि ३ प्रतिशत भन्दा बढि वृद्धि भएको देखिन्छ ।

फिक्स्ड ब्रोडब्याण्डमा भने निकै झिनो वृद्धि भएको तथ्यांकमा उल्लेख छ ।

सो अवधिमा इन्टरनेट सेवा प्रदायकहरुले समेत आफ्ना ग्राहकहरु बढाउन सफल भएका छन् । भदौ र असोज महिनाको बिचमा फिक्स्ड ब्रोडब्याण्डमा करिब २ लाख ५० हजार प्रयोगकर्ता वृद्धि हुँदै ३४ लाख ७४ हजार ९६५ पुगेको छ ।

दूरसंचार प्राधिकरणको तथ्यांकअनुसार कुल ब्रोडब्याण्ड प्रयोगकर्ताहरुको संख्या २ करोड ७ लाख ८१ हजार ९७५ पुगेको छ ।

तथ्यांक नै गलत*
दूरसंचार प्राधिकरणले यसअघि साउन र भदौ महिनामा स्मार्ट टेलिकमको ४जी सेवाग्राहीहरुको संख्याको बिवरण गलत राखेको थियो वा अहिले सो तथ्यांक सच्याएको हो भन्ने अस्पष्ट रहेको छ ।

असोज महिनाको तथ्यांकअनुसार स्मार्टका फोरजी ग्राहक २३ लाख ५७ हजार ७७७ पुगेको छ । तर तथ्यांकमा मोबाइल फोन तर्फ भने स्मार्टसँग २० लाख ७४ हजार ४४२ जना सेवाग्राही मात्र भएको उल्लेख छ ।

२० लाख मोबाइल सेवाग्राही भएको कम्पनीसँग २३ लाख भन्दा बढि फोरजी सेवाग्राही कसरी पुगे भन्ने प्रश्न उब्जिनु स्वभाविक हो ।

तर यसअघि भदौमा स्मार्ट टेलिकमसँग २० लाख ७३ हजार ३९७ जीएसएम मोबाइल सेवाग्राही थिए भने सो तथ्यांकमा स्मार्टका ४जी प्रयोगकर्ताहरु केबल २ लाख २७ हजार ६३७ जना मात्र रहेको एमआईएस रिपोर्टमा लेखिएको थियो । यसअघिको साउन महिनाको रिपोर्टमा पनि स्मार्टका मोबाइल सेवाग्राही २० लाख ६८ हजार ९७ जना रहेको र ४जी प्रयोगकर्ताहरु केबल २ लाख २४ हजार ५५८ जना रहेको उल्लेख थियो ।

एमआईएस रिपोर्टमा आधार मान्ने हो भने स्मार्टका बाँकी ग्राहकहरु ४जीमा बाहेक कहाँ गए भन्ने प्रश्न आउँछ भने असोज महिनामा कसरी ४जी सेवाग्राही मोबाइल प्रयोगकर्ता भन्दा बढि भए भन्ने प्रश्न उठ्दछ । यसले अन्य तथ्यांकमा पनि गलत रहेको शंका उब्जाएको छ ।

रिपोर्टमा स्मार्टसँग केबल मोबाइल ब्रोडब्याण्डका ४जी ग्राहकहरु मात्र भएको उल्लेख छ ।

स्मार्टले आधारभूत टेलिफोन सेवाको लाइसेन्स अन्तरगत हाल आफ्नो भ्वाइस सेवा २ जीमा र मोबाइल इन्टरनेट सेवा ४जी मा संचालन गरिरहेको छ । स्मार्टको लाइसेन्स केहि महिनाअघि दूरसंचार प्राधिकरणले खारेज गरिसकेको छ भने खारेजी विरुद्धको निर्णय सरकारसमक्ष पुनरावेदनमा छलफलको क्रममा छ ।

अपडेट

दूरसंचार प्राधिकरणले एमआइएसको तथ्या‌ंक सच्याएको छ । यसअघि स्मार्टका ४जी सेवा प्रयोग गर्ने ग्राहकहरुको संख्या माेबाइल प्रयोगकर्ताको भन्दा धेरै राखेर प्रकाशित भएकोमा त्यसलाई सच्याएको छ । नयाँ सच्याएको तथ्या‌कअनुसार स्मार्टसँग अब २ लाख ३५ हजार ७७७ फोरजी सेवाग्राही रहेको छ ।

*सम्पादन गरिएको

हेर्नुहोस् असोज महिनाको एमआइएस रिपाेर्ट-

MIS-Ashoj-2076

प्रकाशित: ७ पुष २०७६, सोमबार

Comments are closed.

Loading...