एप्पल, गूगल र अमेजनले संयुक्तरुपमा स्मार्ट होमको लागि नयाँ मापदण्ड बनाउने

काठमाडौं । अमेजन, गूगल र एप्पलले संयुक्तरुपमा स्मार्ट होम सिस्टमको लागि नयाँ स्ट्याण्डर्ड बनाउन सहकार्य गर्ने भएका छन् ।

पछिल्लो दिनमा स्मार्ट होम सिस्टमको बढ्दो प्रयोगलाई ध्यानमा राखेर कम्पनीहरुले समान मापदण्ड बनाउन लागेका हुन् । हाल तीनवटै कम्पनीहरु बजारमा आफना उत्पादनहरु बेच्न तिब्र प्रतिस्पर्धा गरिरहेका छन् ।

तर यो प्रतिस्पर्धाका बिच ग्राहकहरु र उत्पादकहरुलाई भने समस्यामा पारेको छ की कुन कम्पनीको उत्पादन स्तरीय छ भनेर । ग्राहकहरुले स्मार्ट होम सिस्टमसँग मिल्ने किसिमका उत्पादन कुन हो भनेर छान्न समस्या देखिएकोछ ।

तथ्यांकअनुसार प्रत्येक वर्ष स्मार्ट होम डिभाइसहरुको बजार बढिरहेको छ । यो वर्ष ८१ करोड ५० लाख डिभाइसहरु पुग्ने आइडिसीको रिपोर्टमा उल्लेख छ । अहिले तीनवटै कम्पनीहरुले ल्याउने स्मार्ट होम डिभाइसहरु आफ्नै कम्पनीको ईको सिस्टममा मात्र प्रयोग हुने गरेका छन् ।

कम्पनीहरुले अब भने प्रोजेक्ट कनेक्टेड होम ओभर आईपी नाममा सहकार्य गरेका हुन् । यो सहकार्यले नयाँ मापदण्ड तयार पार्नेछ भने ग्राहकहरुले प्रडक्ट किन्दा स्मार्ट होम सिस्टमसँग कम्प्याटिबल छ वा छैन भनेर थाहा पाउनेछन् ।

त्यसको लागि हरेक उत्पादनहरुको बक्समा लोगो प्रिन्ट हुनेछ जसले प्रोजेक्ट कनेक्टेड होम ओभर आईपी सपोर्ट हुने जानकारी दिनेछ ।

कम्पनीहरुले यो प्रोजेक्टले स्मार्ट होम डिभाइसहरु सुरक्षित, विश्वसनिय र निरन्तर प्रयोग गर्न सकिने किसिमको हुने गरि मापदण्ड बताउने स्पष्ट पारेका छन् ।